ad ad

राजनीति


नेविसंघका अध्यक्ष दुजाङ शेर्पालाई बर्खास्त गर्न मकवानपुर कांग्रेसको माग

नेविसंघका अध्यक्ष दुजाङ शेर्पालाई बर्खास्त गर्न मकवानपुर कांग्रेसको माग

सुनिता विष्ट
फागुन २६, २०७९ शुक्रबार १५:१२, हेटाैँडा

नेपाली कांग्रेस मकवानपुरले भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई बर्खास्त गर्न माग गरेको छ। 

नेविसंघ मकवानपुरमा विवाद चर्किंदै जाँदा माउ पार्टीको जिल्ला कार्यसमितिले नै भातृ संगठनका केन्द्रीय अध्यक्षलाई बर्खास्त गर्न पार्टी केन्द्रसँग माग गरेको हो।

आउँदो ५ चैतमा हुन लागेको स्ववियु निर्वाचनको समय नजिकिँदै गर्दा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) मकवानपुरमा आन्तरिक कलह बढेको छ। नेविसंघ मकवानपुरमा दुई अध्यक्ष रहँदा विवाद उत्कर्षमा पुगेको हो। 

स्ववियु निर्वाचनको संघारमा नेपाली कांग्रेसनिकट नेविसंघ मकवानपुरमा दुई धार बनेपछि विद्यार्थीहरू अन्योलमा परेका छन्। 

करिब एक महिनाअघि पार्टी जिल्ला समितिले सुवास सापकोटालाई अध्यक्ष बनाएको थियो। यता, नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले नेविसंघ मकवानपुरमा अध्यक्ष भिषण ठकुरी रहेको पत्र थमाइदिए। जिल्ला समितिको एउटा निर्णय र केन्द्रको अर्को निर्णयले मेल नखाँदा नेविसंघको जिल्ला अध्यक्ष को भन्ने प्रश्नले विवाद सिर्जना भएको छ।

दुवै अध्यक्षले आफू आधिकारिक रहेको दाबी गरिरहेको अवस्थामा कांग्रेस जिल्ला समितिले भने सुवास सापकोटालाई नै आधिकारिक अध्यक्ष मान्नुपर्ने बताएको छ। एक महिना अघि हेटौँडा–२, स्थित पार्टी कार्यालयमा सीमित विद्यार्थीहरू बसेर सापकोटालाई अध्यक्ष चुनिएको थियो। सापकोटाको नेतृत्वमा रहेको संघमा पूर्ण समिति छ।

यता, नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले ठकुरीलाई अध्यक्षको पत्र थमाएपछि विवादमा बढेको हो। नेविसंघको नयाँ कार्यसमिति गठन गर्दा केन्द्रीय समितिलाई जानकारी नै नदिएको र विधानतः केन्द्रीय प्रतिनिधि उपस्थित हुनुपर्ने विषय विवादित बनेपछि शेर्पाले ठकुरीलाई अध्यक्ष बनाएका थिए। 

अध्यक्ष शेर्पाले कांग्रेस जिल्ला समितिलाई बोधार्थ दिँदै नेविसंघ मकवानपुरमा अध्यक्ष पद रिक्त रहेको र ३२ वर्ष उमेर हद म्याद आकर्षित भएको भन्दै ठकुरीलाई अध्यक्षको जिम्मेवारी दिएका थिए। 

नेविसंघ अध्यक्ष शेर्पालाई बर्खास्त गर्न माग 
विद्यार्थीमा विवाद बढ्दै गएपछि कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले नेविसंघ अध्यक्ष शेर्पालाई बर्खास्त गर्न सभापति शेरबहादुर देउवा समक्ष माग गरेका छन्।

नेविसंघ मकवानपुरको आधिकारिक कार्यसमिति भिषण ठकुरीको नेतृत्व रहेको र अरु कुनै पनि समितिको अस्तित्व नहरेको भनेर विज्ञप्ति प्रकाशित गरेपछि अध्यक्ष शेर्पालाई बर्खास्त गर्न कांग्रेसले माग गरेको हो।

शेर्पाले विज्ञप्तिमा ठकुरीकै नेतृत्वमा रहेको कार्यसमितिलाई नै संगठन विस्तार गरी स्ववियु निर्वाचनको तयारीमा जुट्नसमेत निर्देशन दिएका थिए।

उक्त विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै कांग्रेस सभापति लामाले पत्रमा लेखेका छन् ,‘नेपाली कांग्रेस मकवानपुरले सर्वसम्मत सिफारिस गरेको नेविसंघ मकवानपुरका अध्यक्ष सुवास सापकोटा नै आधिकारिक अध्यक्ष रहेको स्मरण गराउँदै नेविसंघ मकवानपुरलाई कमजोर बनाउने भूमिकामा लागेका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई तत्काल बर्खास्त गर्न अनुरोध छ।’ 

नेविसंघ मकवानपुरले सभापति अध्यक्ष सुवास सापकोटाको नेतृत्वमा स्ववियु निर्वाचनसम्बन्धी गतिविधि सञ्चालन गरिरहेको र पार्टीका तर्फबाट सहसचिव इन्दिरा न्यौपानेको संयोजकत्वमा ५ सदस्यीय स्ववियु परिचालन समितिसमेत गठन गरिएको पत्रमा उल्लेख छ।

‘हाल आएर नेविसंघ केन्द्रीय अध्यक्ष शेर्पाले कांग्रेस कार्यसमितिले सिफारिस गरेको अध्यक्षसहितको कार्यसमितिको बर्खिलापमा मकवानपुरका क्याम्पसहरुमा स्ववियु चुनावमा नेविसंघलाई असफल बनाउने भूमिका साथ मकवानपुरमा नेविसंघ साधारण सदस्यसमेत नरहेका व्यक्तिलाई अध्यक्ष बनाइएको देखिएकोले गम्भीर ध्यानाकर्षण भएको छ,’ पत्रमा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .