ad ad

राजनीति


बेइजिङको निम्तो आयो, नयाँ दिल्लीको पर्खिंदै प्रचण्ड

बेइजिङको निम्तो आयो, नयाँ दिल्लीको पर्खिंदै प्रचण्ड

भारतका विदेश सचिव विनय मोहन क्वात्राले फागुन १ गते प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भेटवार्ता गरेपनि भ्रमणको औपचारिक निम्तो दिएनन्


नेपालखबर
चैत २, २०७९ बिहिबार १९:२, काठमाडौँ

दुई तिहाइ बहुमतका साथ निर्वाचनमा विजय हासिल गरेपछि जब बीपी कोइराला २०१६ मा प्रधानमन्त्री भए,  तब उनलाई चीन र भारतमध्ये पहिले कुन छिमेकीको भ्रमण गर्ने भन्ने समस्या पर्यो। 

हुन त पहिलो निम्तो उनले चीनबाट पाएका थिए। तर, तत्कालीन भारतीय राजदूत भगवान सहायले नेपाली प्रधानमन्त्रीले पहिले भारत भ्रमण गर्नुपर्ने जोड गर्न थाले। पहिले चीन जाँदा पर्ने अप्ठेरो बुझेका बीपीले भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा माग गरे। नयाँदिल्लीबाट निमन्त्रणा प्राप्त भएपछि उनले पहिलो भ्रमण भारतकै गरे। 

त्यस्तै अप्ठेरोमा अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) परेका छन्। उनले चीनबाट भ्रमणको निम्तो पाइसकेका छन्। तर, चीन भ्रमण गर्दा पर्न सक्ने अप्ठेरोका कारण बीपीजस्तै उनी पनि पहिलो विदेश भ्रमण भारतबाट सुरु गर्ने योजनामा छन्। र, नयाँदिल्लीबाट औपचारिक निम्तोको प्रतीक्षामा छन्। 

चीनले जुन कार्यक्रमको छेको पारेर प्रधानमन्त्री प्रचण्डलाई भ्रमणको निम्तो दिएको हो, त्यही समयमा नयाँदिल्लीले भ्रमणको निम्तो दिने सम्भावना देखिएको छ। त्यसैले पहिले भारतको भ्रमण गर्ने प्रचण्डको चाहना पुरा हुने सम्भावना बढेको छ। त्यसपछि मात्र उनी चीन भ्रमणमा जानेछन्।  

निम्तो चीनको, प्रतीक्षा नयाँदिल्लीको
एसियाको एकीकृत आर्थिक अभिवृद्धिका लागि सन् २००१ मा स्थापना गरिएको ‘बोआओ फोरम फर एसिया’ को वार्षिक सम्मेलन १४–१७ चैतमा हुँदैछ। हाइनान प्रान्तको बोआओमा हुने सम्मेलनमा सहभागिताका लागि नेपालका लागि चिनियाँ राजदूत चेन सोङले प्रधानमन्त्री प्रचण्डलाई निम्तो दिइसकेका छन्। 

यस पटकको सम्मेलनको मुख्य विषयवस्तु ‘अनिश्चित विश्व : चुनौतीका बीच विकासका लागि ऐक्यबद्धता र सहकार्य’ तय गरिएको छ। सम्मेलनमा ‘विकास र समावेशीकरण’, ‘दक्षता र सुरक्षा’, ‘क्षेत्रीय र विश्वस्तरीय’ र ‘वर्तमान र भविष्य’ विषयमा छलफल हुनेछ। 

कोभिड महामारीपछि पहिलो पटक शीर्ष एसियाली नेताहरुको जमघट हुने गरी आयोजना गरिएको सम्मेलनमा सहभागिताका लागि चीनबाट निम्तो प्राप्त भए पनि त्यो समयमा प्रधानमन्त्री प्रचण्ड बोआओको साटो नयाँदिल्लीमा हुने सम्भावना बढी छ।    

‘सम्मेलनमा सहभागितासँगै त्यसलाई राजकीय भ्रमणको रुपमा रुपान्तरित गर्ने गरी प्रधानमन्त्रीलाई चीनबाट भ्रमणको निम्तो प्राप्त भएको हो,’ स्रोतले भन्यो, ‘तर, यसबीचमा भारतबाट पनि भ्रमणको निम्तो प्राप्त हुने सम्भावना छ। त्यसैले, बोआओ सम्मेलनपछि मात्र प्रधानमन्त्रीको चीन भ्रमण हुने सम्भावना बढी छ।’  

खासमा प्रचण्ड आफैँ चीनभन्दा भारत भ्रमण पहिले गर्न इच्छुक छन्। प्रधानमन्त्री बनेलगत्तै ११ पुसमा भारतीय टेलिभिजन च्यानल ‘एबीपी’ सँगको अन्तर्वार्तामा उनले भारतबाट विदेश भ्रमण सुरु गर्ने आफ्नो चाहना व्यक्त गरेका थिए। 

‘पहिले जुन देशबाट भ्रमणको निम्तो आउँछ, त्यही देशबाट मेरो विदेश भ्रमण सुरु हुनेछ,’ उनले भनेका थिए, ‘मेरो भर्खर भारतीय राजदूत (नवीन श्रीवास्तव) सँग कुराकानी भयो। त्यसैले मेरो पहिलो विदेश भ्रमण भारतबाटै हुने सम्भावना छ।’  

प्रधानमन्त्री बनेलगत्तै बधाई दिने क्रममा भारतीय विदेश सचिव विनय मोहन क्वात्रासँगको फोनवार्ताका बेला होस् वा भारतीय राजदूत नवीन श्रीवास्तवसँगको भेटका बेला, प्रधानमन्त्री प्रचण्डले नयाँदिल्ली भ्रमणको मौखिक निम्तो मात्र पाएका छन्। गठबन्धनमा अस्थिरता र प्रचण्डको भूमिका नियालिरहेको नयाँदिल्लीबाट प्रचण्डले औपचारिक निम्तो अझै प्राप्त गरेका छैनन्।

चीनले भने बोआओ फोरममा सहभागिताका लागि राजदूतमार्फत् औपचारिक निम्तो दिइसकेको छ। तर, ‘पहिलो निम्तो जताबाट आउँछ, त्यही मुलुकको भ्रमण गर्नेछु’ बताएका प्रचण्ड भने पहिलो भ्रमण भारतको गर्ने गरी नयाँदिल्लीको निम्तोको प्रतीक्षामा छन्। 

स्रोतका भनाइमा नयाँदिल्लीले मध्य चैतका लागि भारत भ्रमण गर्ने निम्तो दिने सम्भावना बढी छ। र, त्यही अनुसार भ्रमणको तयारी पनि सुरु भएको छ। 

बोआओ फोरम भने १४–१७ चैतमा हुँदैछ। यदि मध्यचैतमा गर्ने गरी भारत भ्रमणको निमन्त्रणा प्राप्त भयो भने उनी बोआओ फोरममा सहभागी हुने गरी चीन भ्रमणमा जान सक्ने छैनन्।

पहिले नयाँदिल्ली, त्यसपछि बेइजिङ
एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डलाई दिएको समर्थन सोही दलले फागुन दोस्रो हप्ता फिर्ता लिइसकेको छ। त्यसैले, प्रचण्डले आगामी आइतबार (५ चैत) प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन्। विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तारको तयारी सुरु हुनेछ। सत्ता गठबन्धनमा ठूला–साना गरी १० दल सहभागी भएकाले भागबण्डा निकै पेचिलो हुने स्थिति छ।  

मन्त्रिपरिषद् विस्तारमा पर्न सक्ने अप्ठेरो मध्यनजर गरेर नयाँदिल्लीले १५ चैत वरिपरि भारत भ्रमणको निम्तो दिनसक्ने सम्भावना छ। यदि यसो भएमा चीन भ्रमणलाई केही पर सारेर प्रचण्ड नयाँदिल्ली उड्नेछन्।  

‘विश्वासको मत लिनासाथ मन्त्रिपरिषद् विस्तार कार्य १–२ दिनमै टुङ्गियो र १२ चैतअगावै भारत भ्रमणबाट फर्कनसक्ने गरी निमन्त्रणा प्राप्त भयो भने मात्र प्रधानमन्त्री बोआओ सम्मेलनमा भाग लिन चीन भ्रमणमा जानु हुनेछ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘तर, मन्त्रिपरिषद् विस्तार कार्य अलिक जटिल हुने भएकाले १२ चैतअगावै भारत भ्रमण सम्पन्न हुने सम्भावना कम छ। त्यसो हुँदा उहाँ बोआओ सम्मेलनमा सरिक हुन सक्नु हुनेछैन।’

पहिलो विदेश भ्रमण भारतबाट सुरु गर्ने चाहना व्यक्त गरे पनि एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डलाई दिल्लीले तत्काल भ्रमणको औपचारिक निम्तो दिन चाहेन।

राष्ट्रपति निर्वाचान अघि नेपाल आएका भारतका विदेश सचिव क्वात्राले पनि भ्रमणको औपचारिक निम्तो ल्याएनन्। जानकार स्रोतका भनाइमा राष्ट्रपति निर्वाचनमा प्रचण्डको भूमिका हेरेर स्वागतको स्तर तय गर्न उसले प्रधानमन्त्री चयन लगत्तै भ्रमणको निम्तो नदिएको हो। 

राष्ट्रपति निर्वाचनमा प्रचण्डले नेपाली कांग्रेसका रामचन्द्र पौडेललाई सघाए। पौडेल विजयी भइ सकेका छन्। तर, लगत्तै उपराष्ट्रपति निर्वाचन, विश्वासको मत र मन्त्रिपरिषद विस्तारजस्तो जटिल काममा केही दिन अल्झिनुपर्ने हुन्छ।  

‘बोआओ फोरममा सहभागी हुन नभ्याउने स्थिति बन्यो भने पछि पनि बेइजिङबाट ‘स्टेट भिजिट’ हुने गरी निमन्त्रणा प्राप्त हुने स्थिति छ,’ प्रचण्ड निकट स्रोतले भन्यो, ‘त्यसैले, सम्भवतः बोआओ फोरमपछि नै प्रधानमन्त्री चीन भ्रमणमा जानु हुनेछ। त्यसभन्दा अगाडि उहाँ भारत भ्रमणमा जानु हुनेछ।’

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पनि त्यही संकेत गरे। 

‘प्रधानमन्त्रीको भारत भ्रमणको लागि सरकारी तवरबाट कुनै निर्णय भैसकेको छैन, पहिला विश्वासको मत लिने, अनि मन्त्रीपरिषद् विस्तार गरेपछि मात्रै त्यसबारे छलफल होला’, गजुरेलले नेपालखबरसँग भने, ‘सायद चैतको तेस्रोहप्तापछि कुनै समयमा भारत भ्रमण होला।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .