ad ad

राजनीति


एमालेले ‘हाँसोको पात्र’ बनाएको अष्टलक्ष्मी : जो उपराष्ट्रपतिमा दोस्रो पटक पराजित भइन्

एमालेले ‘हाँसोको पात्र’ बनाएको अष्टलक्ष्मी : जो उपराष्ट्रपतिमा दोस्रो पटक पराजित भइन्

नेपालखबर
चैत ३, २०७९ शुक्रबार १८:२३, काठमाडौँ

‘ल, तपाईंलाई बधाई छ!’ उपराष्ट्रपति पदका लागि संसद् भवनमा मतदान चलिरहेका बेला एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले भने, ‘अष्टलक्ष्मीको   नेतृत्वमा सबै समाजवादीहरु एकीकृत हुने हल्ला सुनिएको छ।’ 

‘ए, हो र? परिस्थिति त्यस्तो छ र?’ महासचिव भुसालसँग भनिन्, ‘त्यसो हो भने त राम्रो!’ 

उपराष्ट्रपति निर्वाचनमा सफलता प्राप्त गरेको भए भुसालको उपरोक्त भनाइलाई पूर्व बधाईको रुपमा व्याख्या गर्न सकिन्थ्यो होला। तर, उनको भनाइ ‘व्यङ्ग्य’ रहेछ भन्ने कुरा शुक्रबार साँझ आएको परिणामले देखाएको छ।

किनकि शुक्रबार (३ चैत) भएको उपराष्ट्रपति निर्वाचनमा शाक्य पराजित भएकी छन्।  

शाक्यलाई जनता समाजवादी पार्टीका रामसहाय यादवले पराजित गरेका हुन्। विजयी यादवलाई ३० हजार ३ सय २८ मतभार र निकटतम प्रतिद्वन्द्वी शाक्यलाई १६ हजार ३ सय २८ मतभार प्राप्त भएको छ।   

जनमत पार्टीकी उम्मेदवार ममता झाले २ हजार ५ सय ३७ र उम्मेदवारी निष्क्रिय पारेकी जनता समाजवादी पार्टीकै प्रमिलाकुमारी यादवले ४८ मत प्राप्त गरेकी छन्। 

उपराष्ट्रपति पदमा वरिष्ठ एमाले नेतृ शाक्यको यो दोस्रो पराजय हो। यसअघि ४ साउन २०६५ मा भएको पहिलो निर्वाचनमा पनि उनी पराजित भएकी थिइन्।  

एमालेले तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारीलाई जित सुनिश्चित भएको बेला दुई–दुई पटक राष्ट्रपतिको उम्मेदवार बनाएको थियो। तर, एमाले राजनीतिमा सहाना प्रधानपछिकी वरिष्ठ महिला नेतृ शाक्यलाई भने हार पक्का भएका बेला दुई–दुई पटक उम्मेदवार बनाइयो। 

२०६५ मा आफ्नै उम्मेदवार शाक्यलाई एक मत समेत नदिई एमालेले उनलाई हाँसोको पात्र नै बनाएको थियो। 

पहिलो राष्ट्रपति निर्वाचनमा माओवादीसँग कुरा मिल्न नसकेपछि एमालेले राष्ट्रपतिमा राष्ट्रिय सभाका पूर्वउपाध्यक्ष रामप्रीत पासवानलाई र उपराष्ट्रपतिमा शाक्यलाई प्रतिस्पर्धामा उतारेको थियो। 

एमाले राजनीतिमा पासवानभन्दा सिनियर शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाइएकोमा एमाले नेतृत्वको आलोचना समेत भएको थियो। 

कनिष्ठ नेतालाई राष्ट्रपति र शाक्यजस्ती वरिष्ठ नेतृलाई उपराष्ट्रपतिमा खडा गरेको एमालेले त्यो उम्मेदवारी पनि अन्त्यसम्म रहन दिएन। उम्मेदवार दिन लगाएर निष्क्रिय पारिएकोमा पासवान र शाक्य दुवै नेतृत्वप्रति असन्तुष्ट समेत थिए।

राष्ट्रपति नपाएपछि माओवादीसँगको गठबन्धन तोड्न पुगेको एमालेले राष्ट्रपति–उपराष्ट्रपतिमा क्रमशः नेपाली कांग्रेस र तत्कालीन मधेशी जनअधिकार फोरमका उम्मेदवारलाई सघाएको थियो।  

कांग्रेस र फोरमसँग गठबन्धन गरे पनि एमालेबाट राष्ट्रपतिका उम्मेदवार पासवान र उपराष्ट्रपतिकी उम्मेदवार शाक्यको उम्मेदवारी भने कायमै थियो। यसले गर्दा आफ्नै पार्टीका उम्मेदवारद्वय पासवान र शाक्य दुवैले शून्य मत प्राप्त गरे। 

दोस्रो राष्ट्रपति निर्वाचनमा तत्कालीन एमाओवादी, राप्रपा लगायतका दलहरुले समर्थन गरेकाले एमाले उम्मेदवारले विजय हासिल गर्ने पक्का थियो। तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले विजय सुनिश्चित भएका बेला शाक्यलाई होइन, विद्या भण्डारीलाई राष्ट्रपतिमा अघि सारे। विजय अझ बढी सुनिश्चित भएको २०७४ को निर्वाचनमा पनि भण्डारी नै दोहोरिइन्। 

यसपटकको राष्ट्रपति निर्वाचन (२५ फागुन) मा एमाले जसरी एक्लियो र कांग्रेस उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति भारी मतका साथ विजयी भए, उपराष्ट्रपति निर्वाचनको परिणाम पनि त्यस्तै हुने पक्का थियो। अर्थात् एमाले उम्मेदवारको हार अवश्यंभावी थियो।

तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले हार पक्का रहेको उपराष्ट्रपतिमा शाक्यलाई नै अघि सारे। परिणाम अनुमान गरिएजस्तै आयो, १६ हजार ३ सय २८ मतभार पाएकी शाक्य पराजित भइन्।  

अवसरका बेला आफ्नै पार्टीबाट २०७४ मा पनि अन्यायमा परेकी नेतृ हुन् शाक्य। जस्तोः २०७४ को निर्वाचनपछि शाक्य बागमती प्रदेश (तत्कालीन प्रदेश नं ३) को मुख्यमन्त्रीको दाबेदार थिइन्। 

बागमती प्रदेश सभामा वाम गठबन्धनको दुई तिहाइ सिट रहेकाले एमाले प्रदेश सभा दलका नेता मुख्यमन्त्री बन्ने पक्का थियो। शाक्य यो प्रदेशको पहिलो मुख्यमन्त्री बन्नेमा ढुक्क थिइन्। 

तर, माधव नेपाल खेमामा रहेकी शाक्यलाई अध्यक्ष ओली पक्षले यो प्रदेशको पहिलो मुख्यमन्त्री बन्नबाट रोक्यो। हेटौँडाका पूर्व नगरप्रमुख डोरमणि पौडेललाई एकाएक एमाले प्रदेश सभा दलको नेताको उम्मेदवारका रुपमा अघि सारियो, जबकि २६ माघ २०७४ मा संसदीय दलमा निर्वाचन हुनु अघिल्लो दिनसम्म पौडेल संसदीय दलको उम्मेदवार बन्ने छेकछन्द नै थिएन।  

५८ सदस्य रहेको एमाले प्रदेश सभा दलमा भएको मतदानमा शाक्य २४ मतमा सीमित भइन्। अन्तिम समयमा ओली पक्षबाट उम्मेदवार खडा गरिएका पौडेल ३४ मतका साथ विजयी भए। संसदीय दलको नेताको हैसियतमा प्रदेशको पहिलो मुख्यमन्त्रीमा पौडेलले बाजी मारे।
 
भनिन्छ, राष्ट्रपति विद्यादेवी भण्डारीको कोटाबाट उनलाई मुख्यमन्त्री बनाउन अन्तिम समयमा संसदीय दलको उम्मेदवार बनाइएको थियो। 

माधव नेपाल खेमामा रहेकी शाक्यले पार्टी विभाजनका बेला भने नेपाललाई साथ दिइनन्। पार्टी विभाजनोन्मुख रहेकाले जब एमालेले बागमती प्रदेश सरकार गुमाउने पक्का भयो, त्यसपछि मात्र पौडेललाई राजीनामा गराएर शाक्यलाई २ भदौ २०७८ मा यो प्रदेशको मुख्यमन्त्री बनाइयो। 

लगत्तै पार्टी औपचारिक रुपमा विभाजित भयो, त्यसपछि प्रदेश सभामा एमालेले बहुमत गुमायो। बहुमत गुमेपछि उनी मुख्यमन्त्रीबाट हट्न बाध्य भइन्। उनले दुई महिना एक हप्ता मात्र मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पाइन्। 

यदि एमाले विभाजनोन्मुख र सरकार ढल्ने पक्का नभएको भए २०७८ भदौमा सम्भवतः उनले मुख्यमन्त्री बन्ने अवसर पनि पाउने थिइनन्। 

शाक्यजस्ती एमालेकी वरिष्ठतम् नेतृ– जो निष्ठापूर्वक पार्टी राजनीतिमा लागिरहे पनि सदैव अन्यायको भागिदार बनिरहिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .