ad ad

राजनीति


सुलेमानीको हत्या उचित ठहर्‍याउन अमेरिकालाई मुश्किल

सुलेमानीको हत्या उचित ठहर्‍याउन अमेरिकालाई मुश्किल

नेपालखबर
पुस २०, २०७६ आइतबार ७:५०,

इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सका मेजर जनरल सुलेमानीको गाडीलाई बगदाद इन्टरनेसनल एयरपोर्टनजिकै अमेरिकाले रकेट प्रहार गरेको थियो।

सुलेमानीको हत्यापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार संसारकै एक नम्बरको आतंकवादी अमेरिकाले समाप्त गरेको बताएका थिए।

ट्रम्पले ह्वाइट हाउसमा सम्बोधन गर्दै सुलेमानीको हत्या उचित भएको दाबी गर्दै भनेका थिए,‘सुलेमानीले अमेरिकी कूटनीतिज्ञहरू र सैन्य अधिकारीहरूमाथि तत्काल र क्रुर आक्रमण गर्दै थिए। हामीले यो थाहा पायौँ र उनलाई सिध्याइदियौँ।’

अमेरिका र अमेरिकी नागरिकमाथि सुलेमानीले आक्रमणको योजना बनाएको र त्यसलाई रोक्न आफूहरु उनीमाथि आक्रमण गर्न बाध्य भएको ट्रम्पको भनाइ थियो।

ट्रम्पले विभिन्न कारणहरु प्रस्तुत गर्दै सुलेमानीमाथिको आक्रमण ‘युद्ध सुरु गर्न नभएर युद्ध रोक्न’ भएको बताएका थिए।

तर यतिबेला के सुलेमानीको हत्या उचित थियो त भन्ने बहस सुरु भएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले नै सुलेमानीको हत्या न्यायोचित भएको भनेर पुष्टि गर्न नसक्ने अमेरिकी कानुन निर्माताहरु बताउँछन्।

इरानले अमेरिकासँग बदला लिने बताइसकेको छ। यदी अमेरिकाले सुलेमानीको हत्या उचित ठहर्याउन नसके यसले विकराल रुप लिने रिपब्लिकन भित्रै विवाद सुरु भएको छ।

गत आइतबार अमेरिकाले इराक र सिरियामा रहेका सशस्त्र समूहलाई लक्षित गर्दै उनीहरुकै भूमिमा आक्रमण गरेको थियो।

आफ्नो देशको एक ठेकेदारको मृत्यु भएपछि अमेरिकी सेनाले इराक र सिरियास्थित इरानसमर्थित लडाकु शिविरमा आक्रमण गरेको थियो।

आइतबारको अमेरिकी आक्रमणमा २५ हिज्बुल्लाह लडाकुको मृत्यु भएको थियो। त्यसपछि मंगलबार इराकस्थित अमेरिकी दूतावासमा सयौं मानिसले तोडफोड गरे, ढुंगा प्रहार गर्दै आगजनी गरे। ती व्यक्तिहरु हिजबुल्लाहका समर्थक भएको र उक्त प्रदर्शन इरान प्रेरित भएको अमेरिकी अरोप थियो।

ट्रम्पसहित अमेरिकी विदेशमन्त्री तथा अन्य उच्च अधिकारीहरु आफ्नो ठेकेदारको मृत्यु, अमेरिकी दूतावासमा आक्रमण हुनु अमेरिकामाथि आक्रमणको प्रयासको रुपमा लिन्छन्।

सीएनएनसँग अमेरिकी सरकारका एक उच्च अधिकारीले भनेअनुसार इरानका सोलेमानी अमेरिकाको निगरानीमा थिए। उनी अमेरिकाको लागि खतरा भएको उनको भनाइ छ।

तर अमेरिकी सरकारले सुलेमानी साँच्चै प्रमुख खतरा थिए भन्नेबारे ठोस प्रमाण दिन सकेका छैनन्। उनीहरुले दिएका प्रतिक्रियाहरुले सुलेमानीको हत्यालाई न्यायोचित नठहर्याउने अमेरिकी सिनेटर टोम उडाल बताउँछन्।

Image result for tom udall

टोम उडाल

ट्रम्पले सुलेमानीले कहाँ कहाँ आक्रमणको योजना बनाएका थिए त्यो सबै खुलाउनु पर्ने बताउँदै सुलेमानीको हत्याको कारण खुलाउन नसके यसले नराम्रो स्थिती सृजना गर्ने उडालको भनाइ छ।

ओसामा विन लादेन र अबु अबर अल–बग्दादीको हत्या जति न्यायोचित थियो यस घटना त्योभन्दा निकै सामान्य भएको उनको भनाइ छ।

ट्रम्प, पोम्पियो, अमेरिकी सेना कसैले सुलेमानीमाथि लगाएको आरोप पुष्टि गर्न नसक्ने उनको दाबी छ।

सीएनएनका अनुसार सुलेमानीमाथि आक्रमण गर्ने या नगर्ने भन्नेबारे केही सयम अगाडि आन्तरिक छलफल भएको थियो।

त्यस छलफलमा राष्ट्रपति ट्रम्प, रक्षा सचिव मार्क एस्पर, विदेशमन्त्री पोम्पियो तथा राष्ट्रिय सुरक्षा सल्लाहकार रोवर्टा ओ ब्राइन सहभागी थिए।

उक्त छलफलमा ट्रम्पले इरानविरुद्धको नीतिमा सजिलो उपाय नछानेर सुलेमानीलाई आक्रमण गर्ने गाह्रो उपाय रोजेपछि छलफलमा सहभागीहरु आश्चर्यमा परेका थिए।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .