ad ad

राजनीति


आलोचना नरोकिएपछि विष्णु रिमालले लेखे- ‘हामी अब ‘बहुलाउनै’पर्ने भो’

आलोचना नरोकिएपछि विष्णु रिमालले लेखे- ‘हामी अब ‘बहुलाउनै’पर्ने भो’

फाइल तस्बिर : एमाले उपमहासचिव विष्णु रिमाल


नेपालखबर
जेठ ८, २०८० सोमबार ९:१३, काठमाडौँ

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई ‘बौलाहा’ भनेका कारण सामाजिक सञ्जालमा तीव्र आलोचना खेपिरहेका नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले आफूले प्रयोग गरेको त्यो शब्दलाई सामान्यीकरण गर्ने प्रयास गरेका छन्।

गत शनिबार अखिल नेपाल महिला संघ (अनेमसंघ) को दोस्रो पूर्ण बैठकमा एमाले उपमहासचिव रिमालले साम्पाङलाई ‘बौलाहा टाइपको मेयर’ भनेका थिए। त्यसको भिडिओ क्लिप्स अहिले भाइरल भइरहेको छ भने रिमालको कडा आलोचना पनि भइरहेको छ। स्वयं मेयर साम्पाङले त रिमालविरुद्ध स्टाटस लेखेको लेख्यै छन्। 

यसरी आफूविरुद्ध एकोहोरो आलोचना भइरहेपछि एमाले उपमहासचिव रिमालले कुनै बेला आफैँले लेखेको ‘बहुला’सम्बन्धी स्टाटस सेयर गर्दै त्यसमा मेयर साम्पाङको कुरा पनि जोडेका छन्। 

‘...अहिले धरानका मेयर, धरानेलाई पानी खुवाउन “बहुलाएर” लागेका छन्। सबैलाई ‘श्रमदान गर भनिरहेका छन्। त्यसैले मैले पनि भनेको छु– “बहुला पाराले” काम गर्ने...धरानमा थाहा छैन, तर बाहिर पपुलर मेयर’, रिमालले लेखेका छन्, ‘म पनि काम गर्ने मामिला “बहुलाउने” मानिस हुँ। हो, मुलुकमा केही गर्न हामी अब “बहुलाउनै” पर्ने भो!’

उनले लेखेको पूरा स्टाटस यस्तो छ

हो, अब हामी “बहुलाउनै” पर्छ! 

०७२ सालमा संविधान निर्माण गर्न हामी “बहुलाएरै” लागेका थियौँ। 

त्यसपछिको नाकाबन्दीको सामना गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली “बहुलाएरै” भिड्नुभएको थियो। जनताले साथ दिए, मुलुकले सफलता हासिल गर्‍यो।  

०७४ को चुनावपछि हामी “बहुलाएरै” काममा जोतिएका थियौँ। 

आधा शताब्दीसम्म हाम्रो सम्प्रभुता बाहिर रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानी... हामीले “बहुलाएरै” नक्सामा सामेल गर्‍यौँ। सिंगो मुलुक एक ठाउँमा उभियो। 

अहिले धरानका मेयर, धरानेलाई पानी खुवाउन “बहुलाएर” लागेका छन्। सबैलाई ‘श्रमदान गर भनिरहेका छन्। त्यसैले मैले पनि भनेको छु– “बहुला पाराले” काम गर्ने...धरानमा थाहा छैन, तर बाहिर पपुलर मेयर!

म पनि काम गर्ने मामिला “बहुलाउने” मानिस हुँ। 

हो, मुलुकमा केही गर्न हामी अब “बहुलाउनै” पर्ने भो!

अन्त्यमा उनले भनेका छन्, ‘फेरि पनि मेरो यो शब्द प्रयोगमा विभिन्न व्यक्तिहरूको असहमति देख्छु, सामाजिक सञ्जालमा आलोचना गरिरहेको देख्छु। म ती आलोचना स्वीकार्छु, धन्यवाद!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .