ad ad

राजनीति


खाँण प्रकरण टार्न देउवाले छले केन्द्रीय कार्यसमिति

खाँण प्रकरण टार्न देउवाले छले केन्द्रीय कार्यसमिति

केशव सावद
जेठ ८, २०८० सोमबार १८:५४, काठमाडौँ

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणसहित नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुविरुद्ध प्रहरीले मुद्दा चलाउन जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ। 

शरणार्थी प्रकरणमा करोडौँ ठगी गरेको आरोपमा समातिएका खाँणसहित १६ जना र अन्य फरारविरुद्ध प्रहरीले पाँचवटा कसुरमा मुद्दा चलाउने गरी सोमबार अनुसन्धान प्रतिवेदन अघि बढाएको हो।

अनुसन्धान प्रतिवेदनमा पक्राउ परेका १६ जना र फरार अन्य १६ जनाविरुद्ध ठगी, सम्पत्ति शुद्धीकरण, संगठित अपराध, राष्ट्रिय हितविपरीतको कसुरमा मुद्दा चलाउनु पर्ने उल्लेख छ। 

पूर्वगृहमन्त्री खाँणसहित सार्वजनिक पद धारण गरेका व्यक्तिहरुलाई भ्रष्टाचार मुद्दा पनि चलाउने गरी प्रतिवेदन सरकारी वकिलसमक्ष पेस गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। 

उक्त मुद्दा चलाउनु पर्नेमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का पूर्व सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत रहेका छन्।  

नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका प्रभावशाली नेता खाँण पक्राउ परेर प्रहरीले मुद्दा चलाउनु पर्ने निष्कर्षसहित अनुसन्धान प्रतिवेदन बुझाइसक्दा पनि कांग्रेस सभापति शेरबहादुर देउवाले यसबारे पार्टीमा छलफल गर्न आवश्यक ठानेनन्। 

खाँणलाई निलम्बन गर्नु पर्ने दबाब आउन थालेपछि तयारी गरिएको केन्द्रीय कार्यसमिति बैठकसमेत देउवाले स्थगित गरे। केन्द्रीय कार्यसमिति बैठकमा खाँणलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्नुपर्ने आवाज थप बुलन्द हुने देखिएपछि उनले बैठक स्थगित गरेका हुन्। 

खाँण पक्राउ पर्नुअघि वैशाख २२ गते सभापति देउवानिवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा वैशाख मसान्तभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउनेबारे छलफल भएको थियो। 

‘भ्रातृ संगठनहरुलाई पूर्णता दिने, विभागहरु गठन गर्ने गृहकार्य सुरु भएको छ,’ पदाधिकारी बैठकपछि प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. प्रकाशशरण महतले भनेका थिए, ‘गृहकार्य पूरा गरेर केन्द्रीय कार्यसमिति बैठक चाँडै बोलाउँछौँ। २८–२९ गते बैठक राखेर अपूर्ण संरचनाहरुलाई पूर्णता दिने तयारी छ।’

गत भदौदेखि कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक राखेको छैन। यसबीचमा मंसिर ४ मा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन, सरकारमा सहभागिता, वैशाख १० मा उपनिर्वाचनलगायत विभिन्न राजनीतिक घटना पनि भए। तर, सभापति देउवाले यी कुनै विषय पनि केन्द्रीय कार्यसमितिमा छलफल गराएनन्। 

गत मंसिर ४ मा चुनाव सम्पन्न भएपछि केन्द्रीय कार्यसमिति बैठक राखेर चुनावी समीक्षा गर्ने भनिएको थियो। त्यसबेला उनले तीन पटकसम्म केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेका थिए। त्यो बेला अनिश्चितकालका लागि स्थगित गरिएको बैठक अहिलेसम्म बस्न सकेको छैन। 

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ उपधारा १२ मा ‘केन्द्रीय कार्यसमितिको बैठक प्रत्येक दुई महिनामा कम्तीमा एक पटक बस्ने’ उल्लेख छ। 

तर, पछिल्लो ९ महिनायता कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्न सकेको छैन। पछिल्लो पटक कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक २०७९ भदौ ५ मा बसेको थियो।
 
उक्त आकस्मिक बैठकले नेता प्रदीप गिरीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको थियो। त्यसअघि २०७९ असार २७ देखि साउन २ सम्म कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बसेको थियो। 

सभापति देउवाले खाँण पक्राउपश्चात् बैठक नबोलाएपछि महामन्त्री गगन थापाले जेठ २ गते विज्ञप्ति जारी गरेर भ्रष्टाचारविरुद्धको अभियान र नक्कली भुटानी शरणार्थी प्रकरणबारे धारणा सार्वजनिक गरेका थिए।

उनले आफूले सार्वजनिक गरेको धारणालाई पार्टीकै दृष्टिकोणका रूपमा लिनसमेत आह्वान गरेका थिए। 

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेस र यस पार्टीसँग आबद्ध कुनै पनि सदस्यले छानबिन प्रक्रियालाई सघाउने हो, आरोपित व्यक्ति निर्दाेष भए छुट पाउँछ, अपराध गरेको भए कानुन बमोजिमको सजाय पाउनै पर्छ,’ उनले भनेका थिए, ‘जबसम्म अनुसन्धान हुन्छ, निलम्बन हुने कुरा स्वाभाविक हो र पार्टीका साथीहरूले त्यही अनुसार बुझ्नुपर्छ। परम्पराका नाममा यसलाई अपव्याख्या गर्ने, सामान्यीकरण गर्ने, र पार्टीको कुनै पनि तह, पद वा सांगठनिक संरचनालाई दुरुपयोग गरेर पक्षधरता लिने काम तत्काल रोकिनु पर्छ।’

पछिल्लो समय वैशाख २८ गते धुम्बाराहीमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकको छलफल खाँणबारे तत्काल कुनै निर्णय नलिने गरी टुंगिएको थियो। बैठकपछि सहमहामन्त्री जीवन परियारले खाँणबारे तत्काल कुनै निर्णय नलिइएको बताएका थिए। 

‘आज पनि हामीबीच नेता बालकृष्ण खाँणबारे कुनै छलफल भएन। हामीले कुनै किसिमको औपचारिक निष्कर्ष निकालेका छैनौँ,’ उनले पत्रकारहरुलाई भनेका थिए, ‘हामी कुनै व्यक्तिबारे प्रस्तुत हुनुभन्दा अनुसन्धानमा जोसुकै आउन सक्छन्, उनीहरुले सघाउनु पर्छ भन्ने हो। कोही नेता, मन्त्री वा मिडियाकै मान्छे पनि आउन सक्छ। जो आए पनि अनुसन्धानलाई सघाउनुपर्छ भन्ने हाम्रो छलफलको निष्कर्ष हो।’

वैशाख २७ गते बसेको पदाधिकारी बैठकपछि प्रवक्ता महतले खाँणलाई कारबाही गर्ने या नगर्ने भन्ने विषयमा अनुसन्धानलाई थप परिपक्व हुन दिने बताएका थिए। 

‘टोपबहादुर रायमाझीको हकमा उहाँ उपस्थित नै नभएको अवस्था हो। पुर्जी काटिएको अवस्थामा पनि उहाँ फरार हुनुभयो भन्ने सन्दर्भमा (कारबाही) पनि होला। तर हाम्रो बालकृष्णजीको सन्दर्भमा उहाँ आफैँले गिरफ्तारी दिनुभा’छ र अनुसन्धानको प्रक्रियामा छ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा वैशाख २७ गते बिहान पूर्वगृहमन्त्री खाँण पक्राउ परेका थिए। उनलाई प्रहरीले चाबहिलको मैजुबहालस्थित निवासबाट पक्राउ गरेको हो।  

तत्कालीन गृहसचिव पाण्डेले पूर्वगृहमन्त्री खाँणकै निर्देशनमा आफूले काम गरेको बयान दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। उपराष्ट्रपति कार्यालयमा कार्यरत रहेका सचिव पाण्डेलाई प्रहरीले वैशाख २० गते काठमाडौंकै पेप्सीकोलाबाट पक्राउ गरेको थियो। 

खाँण गृहमन्त्री र पाण्डे गृहसचिव हुँदा कार्यदलको प्रतिवेदन नै हेरफेर गरिएको बताइएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणसहित १६ जना पक्राउ परिसकेका छन्। पक्राउ पुर्जी जारी भएका प्रतीक थापा र निरज राई फरार छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणले कांग्रेसभित्र ध्रुवीकरण बढेको छ। पूर्वगृहमन्त्री खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि कांग्रेस दुई धारमा विभाजित देखिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि खाँणलाई पार्टीले केन्द्रीय सदस्यबाट निलम्बन गर्नुपर्ने र गर्न नहुने पक्षमा कांग्रेस नेताहरु विभक्त देखिएका हुन्। 

खाँणलाई पदबाट निलम्बन गरेर अनुसन्धानमा सहयोग गर्नुपर्ने अधिकांश कार्यकर्ताको चाहना भए पनि नेतृत्वमा रहेका र नेतृत्वमा रहिसकेका बहुसंख्यक नेताहरु भने अनुसन्धान परिपक्व हुँदासम्म निलम्बनका लागि हतार गर्न नहुने पक्षमा उभिएका छन्।  

पदाधिकारी र पूर्वपदाधिकारी बैठकहरुमा सहभागी हुँदै आएका नेताहरुमध्ये उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा केन्द्रीय सदस्यबाट खाँणलाई निलम्बन गर्नुपर्ने पक्षमा जोडबल गर्दै आएका छन्। 

खाँण पक्राउ परिसकेपछि सभापति देउवाको निवासमा बसेका पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सहभागी भएका अन्य नेताहरु भने खाँणलाई निलम्बन गर्न नहुने अडानमा देखिएका थिए। 

तत्काल निलम्बन गर्न नहुने पक्षमा रहेकाहरुको तर्क छ–भ्रष्टाचारको आरोप मात्रै लागेकालाई निलम्बन गर्ने परम्परा कांग्रेसमा छैन। यसकारण केन्द्रीय सदस्य खाँणलाई अदालतको अन्तिम फैसला नआउँदासम्म निलम्बन गरिनुहुन्न।

संस्थापन इतरका नेताहरूको जोड भने शरणार्थी प्रकरणमा जोडिएका कोही पनि उम्किन नहुने पक्षमा देखिन्छन्। शरणार्थी प्रकरण र भ्रष्टाचार मुद्दालाई लिएर महामन्त्री थापा देशव्यापी अभियानमा सुरु गर्न खोजेका छन्। 

उता केन्द्रीय सदस्यहरु मधु आचार्य, डा. गोविन्द पोखरेल, गुरुराज घिमिरेलगायतका तेस्रो पुस्ताका नेताहरुले पार्टी रूपान्तरणका लागि भन्दै अर्को अभियानको घोषणा गरिसकेका छन्। उनीहरुले जेठ १६ गते काठमाडौंमा प्रदेशस्तरीय भेलाको तयारी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .