नेपाली कांग्रेसनिकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) को ७औँ अधिवेशनमा मातृ पार्टीमा जस्तै गुटगत लडाइँ देखिएको छ। शनिबार हुन लागेको अधिवेशनका लागि उम्मेदवारी दर्ताका क्रममा प्यानल देखिएका हुन्।
सिडेनको अध्यक्षका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको समूहबाट इन्जिनियर चेतनाथ पाण्डे, इतर समूहको नेतृत्वकर्ता नेता डा. शेखर कोइराला पक्षबाट लक्ष्मण केसी र महामन्त्री गगन थापानिकट समूहबाट प्रमोद दवाडी प्यानलसहित चुनावी मैदानमा उत्रिएका हुन्।
संस्थापननिकट अध्यक्षका उम्मेदवार पाण्डेको प्यानलबाट उपाध्यक्षमा कौशल केसी र महासचिवमा हुकुमबहादुर बुढा उम्मेदवार छन्।
कोइरालानिकट अध्यक्षका उम्मेदवार केसीको प्यानलमा उपाध्यक्षमा उमेश धिताल र महासचिवमा थमन खड्का उम्मेदवार बनेका छन्।
महामन्त्री थापानिकट अध्यक्षका उम्मेदवार दवाडीको प्यानलमा सुमन थापा उपाध्यक्ष र मेली शाह महासचिवका उम्मेदवार छन्।
सिडेनमा १८ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति चयन हुने छ। सिडेनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष गरी पाँच पदाधिकारी र १३ केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ।
प्रदेश समितिमा भने पाँच पदाधिकारी र १० सदस्य गरी १५ सदस्यको कार्यसमिति चयन हुन्छ। सिडेनको विधानअनुसार प्रदेश सभापति केन्द्रीय कार्यसमितिको पदेन सदस्य रहन्छ।
सिडेनका गण्डकी, लुम्बिनी, कर्णाली र मधेश प्रदेशस्तरीय समिति यसअघि नै चयन भइसकेका छन्। बाँकी तीन प्रदेश समिति चयनका लागि पनि शनिबार नै निर्वाचन हुँदै छ।
सिडेनको बागमती प्रदेश समितिका लागि पनि माउ पार्टी कांग्रेसमा जस्तै गुटगत प्रतिस्पर्धा देखिएको छ। यहाँ संस्थापन समूहबाट विक्रम खतिवडा, कोइराला समूहबाट नरकान्त सापकोटा र महामन्त्री थापानिकट समूहबाट विजेन्द्र श्रेष्ठ सभापतिका उम्मेदवार छन्।
प्रदेश सभापतिका लागि खतिवडा र सापकोटाको प्यानल नै खडा छ भने श्रेष्ठले एकल उम्मेदवारी दिएका छन्। संस्थापन समूहबाट सभापतिका उम्मेदवार खतिवडा अहिले प्रदेश समितिका सचिव छन्।
विद्युतीय शासन तथा सूचना प्रविधि विज्ञ इन्जिनियर खतिवडा डिजिटल नेपालको परिकल्पना साकार बनाउन स्थानीय तह तथा प्रदेश सरकारको सूचना प्रविधिसम्बन्धी क्षमता विकासको क्षेत्रमा कार्यरत छन्।
उनले महामारीका बेला कोरोना परीक्षण गर्न सहज होस् भनेर टेस्ट बुथ बनाएर विभिन्न अस्पताललाई सहयोग गरेका थिए।
उनको प्यानलबाट जयकिशुन राय उपसभापति, दिवस मैनाली सचिव, आर्यनबाबु कार्की सहसचिव र प्रतिभा ढकाल कोषाध्यक्षका उम्मेदवार छन्। यस्तै सापकोटाको प्यानलबाट उपसभापतिमा दिव्यदर्शन ढुंगाना, सचिवमा केयुर न्यौपाने, सहसचिवमा प्रज्वल नेपाल र कोषाध्यक्षमा समीक्षा बुढामगर उम्मेदवार छन्।
प्रतिक्रिया