ad ad

राजनीति


ती ‘क्रान्तिकारी’ टोपबहादुर, यी अभियुक्त टोपबहादुर

चित्रबहादुर भन्छन् : निष्ठा र क्षमता देखेर सदस्यता दिएँ, यसरी बिग्रेको देख्दा दुःख लाग्यो
ती ‘क्रान्तिकारी’ टोपबहादुर, यी अभियुक्त टोपबहादुर

सागर न्यौपाने
जेठ ११, २०८० बिहिबार २०:३८, काठमाडौँ

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई करोडौँ ठगी गरेको आरोपमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीविरुद्ध संगठित अपराध, राज्यविरुद्धको अपराध र सरकारी कागजात किर्ते लगायत आरोपमा मुद्दा दायर भएको छ। 

प्रहरीले २ महिना लगाएर बनाएको अनुसन्धान रिपोर्ट, उनकै बयान, यस प्रकरणमा मुछिएर पक्राउ परेका १५ जनाले दिएको बयान समेतका आधारमा सरकारी वकिल कार्यालयले रायमाझीमाथि पनि ४ वटा अभियोगमा मुद्दा दर्ता गरेको हो।

यी चानचुने अभियोग होइन। नक्कली भुटानी शरणार्थी प्रकरणको मुख्य योजनाकारमा उनको नाम छ। त्यही भएर रायमाझीको जेल यात्रा अब निश्चितजस्तै भएको प्रहरी अधिकारीहरु बताउँछन्।

अदालतले उनलाई दोषी ठहर गरे बहुदलयता फौजदारी अभियोग पुष्टि भएर जेल जाने कम्युनिस्ट पार्टीका पहिलो केन्द्रीय नेता हुनेछन् रायमाझी।

‘बहुदलयता फौजदारी अभियोग पुष्टि भएर कम्युनिस्ट पार्टीका कुनै पनि उच्च नेता जेल पुगेको जानकारी छैन,’ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने।  

४० वर्षदेखि वाम राजनीतिमा सक्रिय उनी चितवनमा २०७८ मंसिर १०–१८ सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशनबाट एमालेको सचिव निर्वाचित भएका थिए। दस वर्षे जनयुद्धमा सहभागी भएका उनी माओवादीमा हुँदा (२०७०) मा पनि सचिव थिए। 

चार पटक मन्त्री बनेका रायमाझी चारै पटक अर्घाखाँचीबाट सांसद निर्वाचित भएका छन्। यसपटक पनि उनी एमालेबाट सोही क्षेत्र निर्वाचित सांसद हुन्। 

तर, फौजदारी अभियोगसँगै उनको सांसद पद मात्र जाने छैन, सार्वजनिक पदमा फर्किने सम्भावना पनि लगभग सकिनेछ।

के भन्छन् सहकर्मी?
टोपबहादुरका बुबा कलकत्तामा रेलवे कम्पनीमा काम गर्थे। त्यही भएर उनले आर्थिक समस्या झेल्न परेन र पढाइलेखाइको अवसर पाए।

घरको आर्थिक अवस्था मजबुत भएकैले उनलाई निस्फिक्री राजनीति गर्ने अवसर मिल्यो। 

रायमाझी २०३१/०३२ तिर राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको सम्पर्कमा पुगे।

पञ्चायतविरुद्ध कम्युनिस्टहरुले निरन्तर आन्दोलन गरिरहेका थिए। रायमाझीलाई यो कुराले छोयो। उनी पनि कम्युनिस्ट गतिविधिबाट प्रभावित बने। 

केसीसँग रायमाझीले संगत बढाए। 

वर्गप्रतिको निष्ठा, इमान्दारी देखेरै केसीले राजनीति, अनुशासन सिकाए। प्रशिक्षण दिए।   

‘राम्रा थिए, अनुशासित, इमान्दार र लिडर बनाउन सकिने आशा गरेरै कम्युनिस्ट सदस्यता दिइएको हो,’ केसीले नेपालखबरसँग भने, ‘आफूले हुर्काएको भएर होला मैले टोपबहादुरजीमा अलि बढी भोलिको राजनीति हाँक्ने क्षमता देखेको थिएँ।’

‘वर्गप्रति निष्ठा थियो, समाज रुपान्तरण गर्नुपर्छ भन्ने हुटहुटी उनमा थियो,’ केसीले थपे, ‘त्यही भएरै उनलाई विद्यार्थीको अध्यक्ष बनाउन मेरो भूमिका थियो।’

‘समाज परिवर्तन गर्न हिँडेकोे मान्छे आफैँ बिग्रेको देख्दा दुःख लाग्छ,’ केसीले भने, ‘उनमा विचलन आयो, पैसा र स्वार्थले भ्रष्ट बने।’ 

रायमाझी केसीको पार्टी छाडेर २०४७ सालमा बाबुराम भट्टराईसँग मिसिए। 

२०४७ देखि २०७७ सम्म रायमाझीसँग संगत गरेका माओवादी केन्द्रका नेता डोरप्रसाद उपाध्याय पनि आश्चर्यचकित परेको बताउँछन्।

‘उहाँको विद्यार्थी राजनीति गरेदेखिकै हक्की स्वभाव थियो, सबै कुरा फयाङ–फुङ भनिहाल्ने, हाट्टहुट्ट गरेर माहोल तताउने वा आफ्नो पक्षमा पार्ने,’ उपाध्यायले नेपालखबरसँग भने, ‘तर, यति नराम्ररी बिग्रिनुभएको सुनेर चकित भइयो।’

‘उहाँ जोसँग पनि बस्ने, खानपिन गर्ने गर्नुहुन्थ्यो, बुटवलका बालकृष्ण खाँण, विष्णु पौडेलसँग पनि राम्रो सम्बन्ध थियो, कतिपयले संयुक्त लगानी भएको बताउँथे,’ उनले भने। 

२०७७ फागुन २३ मा सर्वाेच्च अदालतले एमाले–माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपालाई भंग गरिदियो। टोपबहादुरसहित लेखराज भट्ट, प्रभु साह र मणि थापा लगायतका केही नेता माओवादी केन्द्र फर्किएनन् र एमालेमै बसे।

लेखराज भट्टले टोपबहादुरलाई क्रान्तिकारी नेताका रुपमा चिनेको बताए।

‘उहाँको स्वभाव जोसँग पनि घुलमिल हुने छ, अमृत साइन्समा विद्यार्थी अध्यक्ष बन्दादेखि जनयुद्धमा कमिसार बन्दा पनि टोपबहादुरजीमा क्रान्तिप्रतिको प्रतिबद्धता थियो,’ भट्टले भने, ‘तीनपटक मन्त्री हुँदासम्म राम्रै थियो।’

वैशाख २० मा नक्कली भुटानी शरणार्थी बनाई ठगी गरेको भन्दै टोपबहादुरलाई पक्राउ गर्न प्रहरीले नाम सार्वजनिक ग¥यो।

त्यसपछि लेखराजले सम्पर्क गरेका थिए, तर, उनले केही गल्ती नगरेको जवाफ दिए।

‘उहाँ ढुक्क हुनुहुन्थ्यो, गल्ती नगरेको भनेर भन्नुभयो,’ भट्टले थपे। 

एमालेले टोपबहादुरलाई सचिवबाट निलम्बन गरेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि रायमाझी वैशाख ३१ देखि प्रहरी हिरासतमा छन्। शान्ति प्रक्रियामा आएपछिदेखि २०७२ सम्म रायमाझी विभिन्न समयमा मन्त्री बनेका थिए।

२०६६ सालमा भौतिक योजना तथा निर्माणमन्त्री, २०६७ मा स्थानीय विकासमन्त्री र २०६८ मा शान्ति तथा पुनर्निर्माणमन्त्री बनेका रायमाझी २०७२ सालमा केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री बन्न सफल भए।

पटकपटक मन्त्री बनेकैले बिचौलियासँग टोपबहादुरको संगत बढेको देखिन्छ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने कार्यमा रहेका सानु भण्डारी र केशव दुलालकै योजनालाई रायमाझीले अगाडि बढाएको प्रहरी अनुसन्धानले देखाएको छ। त्यसका लागि रायमाझीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल, गृहसचिव लगायतसँग सेटिङ मिलाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .