ad ad

राजनीति


केही तीतामिठा अनुभव छन्, तर सबै दलहरू एक बनौं : प्रधानमन्त्री प्रचण्ड

केही तीतामिठा अनुभव छन्, तर सबै दलहरू एक बनौं : प्रधानमन्त्री प्रचण्ड

नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री।


नेपालखबर
जेठ १३, २०८० शनिबार १९:६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अगाडि देखिएका समस्या र चुनौतीको समाधान गर्न राष्ट्रिय सहमितको आवश्यक्ता रहेको बताएका छन्। आर्थिक वर्ष २०८०/०८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले आफ्नो तर्फबाट देखाउनुपर्ने त्याग, तपस्या र लचकता देखाएको बताए। 

‘हामी मिलेर मात्र जित्न सक्छौं, एक्लै जित्न सकिँदैन,’ प्रधानमन्त्री प्रचण्डले सम्बोधनको क्रममा भने, ‘मैले आफ्नो तर्फबाट देखाउनुपर्ने त्याग, तपस्या र लचकता देखाएको छु।’

देशमा देखिएको आर्थिक संकट, संस्थागत भ्रष्टाचार, सामाजिक न्याय र समृद्धिका विषयमा एक्लै वा एउटा दलले मात्र चाहेर नहुने बताए। 

‘जुन आर्थिक संकटको स्थितिमा आज देश छ। संस्थागत भ्रष्टाचारको जो स्थिति छ। सामाजिक न्याय र समृद्धिका दृष्टिकोणले जुन समस्या र चुनौती सामना गर्नुपरेको छ। कम्तिमा यी विषयमा हामी राजनीतिक दल र नेताहरु एक भएर अघि बढ्न आवश्यक छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यो रोष्टमबाट म औपचारिक जवाफ मात्र दिइरहेको छैन। यही सदनभित्र सत्तापक्ष र प्रतिपक्षका आ आफ्ना भूमिका छन्। सिद्धान्तमा ती कुरा म बुझ्छु। तर राष्ट्रिय समस्या समाधान गर्ने, जनताको आवश्यक्ता र चाहनालाई सम्बोधन गर्ने, दृष्टिकोणले हेर्यो भने एक ठाउँमा उभिनु आवश्यक छ।’

यसअघि केही तीतामिठा अनुभव भएपनि देश र राष्ष्ट्रका लागि एकताबद्ध हुनुपर्ने प्रधानमन्त्रीको भनाई थियो। 

‘हुन त केही तीतामिठा अनुभव पनि भएका छन्। पहिलो गठबन्धनबाट दोस्रोमा आइपुग्दासम्मका केही मनोभावना र मनोविज्ञान छन्। त्यो भन्दा पनि ठूलो कुुरा राष्ट्र हो,’ प्रधानमन्त्रीले भने, ‘जनताको हितका पक्षमा काम गर्नु हो। प्रतिपक्षी दलको नेता अस्वस्थ हुँदा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र म उहाँको घरमा गएर सदनलाई अघि बढाउन यहाँ हुने बहसलाई रचनात्मक बनाउन अघि बढौं भनेर भन्यौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .