ad ad

राजनीति


प्रचण्ड गएकै दिन रास्वपा सभापति लामिछाने पनि भारततर्फ

प्रचण्ड गएकै दिन रास्वपा सभापति लामिछाने पनि भारततर्फ

फाइल तस्बिर


नेपालखबर
जेठ १७, २०८० बुधबार १९:५१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि भारत भ्रमणमा निस्किएका छन्।

स्रोतका अनुसार रविले रास्वपाका नेताहरू रहेको मेसेन्जर ग्रुपमा मुम्बई गएको जानकारी दिएका छन्। 

रास्वपा प्रवक्ता समेत रहेका महामन्त्री डा. मुकुल ढकालले व्यक्तिगत कामले सभापति लामिछाने हवाईजहाजबाट भारत गएको जानकारी मिलेको बताए।

उनी पत्नी निकिता पौडेललाई साथमा लिएर भारत भ्रमणमा निस्किएका हुन्।

बुधबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जम्बो टोलीसहित चार दिने भ्रमणमा दिल्ली पुगिसकेका छन्। 

रास्वपा स्रोतका अनुसार पूर्वगृहमन्त्रीसमेत रहेका रविले यो भ्रमणलाई व्यक्तिगत भनेका छन्। आफू भारत जाने भएपछि रविले संसदीय दलमा कार्यवाहक नेताको जिम्मेवारी विराजभक्त श्रेष्ठलाई दिएका छन्। 

विराजभक्त गत मंसिरको चुनावमा काठमाडौं क्षेत्र नम्बर ८ बाट विजयी प्रतिनिधिसभाका सांसद् हुन्। 

यसअघि जेठ पहिलो साता विश्व हिन्दू महासंघ भारत च्याप्टरका अध्यक्ष एवम् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भाइ प्रह्लाद दामोदर मोदीसँग रविले काठमाडौंमा भेट गरेका थिए। 

मोदी पाँच दिने भ्रमणमा आएका बेला रविसँग वार्ता भएको थियो। त्यसबेला उनले अन्य दलका नेताहरुलाई पनि भेटेका थिए। 

रवि यसअघि गत पुस ११ गते प्रचण्ड नेतृत्वकै सरकारमा उपप्रधान तथा गृहमन्त्री बनेका थिए। तर, नागरिकता विवादमा उनले माघ १३ गते सबै पद गुमाएका थिए। 

त्यसपछि रास्वपा दाहाल नेतृत्वको सरकारमा सहभागी भएको ४२ दिनपछि माघ २२ मा बाहिरिएको थियो। 

तर वैशाख १० को उपनिर्वाचनमा चितवन २ बाट विजयी भएपछि रवि फेरि प्रचण्डसँग संवादमा थिए। त्यसयता प्रचण्डसँग उनले पटक पटक गोप्य संवाद गरेका थिए। 

उनले गृहसहित पुरानै मन्त्रालयमा दाबी गर्दै सरकारमा आउन सकिने जनाउ दिएका थिए। तर प्रचण्डले आफूलाई समर्थन गरेका अन्य दलबाटै २५ सदस्यीय क्याबिनेट पूरा गरेपछि रविको सत्ता यात्रा तत्काललाई सम्भव भएको थिएन। 

प्रचण्ड भारत भ्रमणमा रहेका बेला श्रीमतीसहित रवि पनि त्यतै लागेपछि राजनीतिक रुपमा अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .