ad ad

राजनीति


संसद्‍मा एमाले, रास्वपा र राप्रपा एकैठाउँ, प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध नाराबाजी

संसद्‍मा एमाले, रास्वपा र राप्रपा एकैठाउँ, प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध नाराबाजी

फाइल तस्बिर


नेपालखबर
जेठ २१, २०८० आइतबार १२:४८, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक असंवैधानिक बाटोबाट प्रमाणीकरण गरेको भन्दै आइतबार बसेको संसद बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका दलहरु आन्दोलित भएका छन्।

आइतवार बसेको संसद् बैठकमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीसहितले अवरोध गर्दै नाराबाजी गरेका हुन्। 

सभामुख देवराज घिमिरेले संसद् बैठक सुरु गर्नेबित्तिकै प्रतिपक्षी दलका सांसद्हरु ड्यासबाट उठेर अवरुद्ध गर्न उत्रिएका हुन्। 

बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक निष्क्रिय बनाई एक हप्ताभित्र सरकारले अर्को विधेयक नल्याएसम्म बैठक चल्न नदिने चेतावनी दिए।

बैठकमा खासगरी एमालेका सांसदहरुले असंवैधानिक नारिकता विधेयक खारेज गर, भैंसीसँग देश बेच्न पाइँदैन, प्रधानमन्त्रीको विवादित भनाइ मुर्दावाद जस्ता नारा लगाएका थिए। 

सरकारको कदमविरुद्ध प्रतिपक्षी दलहरुले मोर्चाबन्दी गरेपछि सभामुख घिमिरेले बैठक एक घण्टाका लागि स्थगित गरेका छन्।

यसअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दुई पटकसम्म प्रमाणीकरण नगरेपछि निष्क्रिय भएको नागरिकता विधेयक वर्तमान राष्ट्रपति पौडेलले गत जेठ १७ गते प्रमाणीकरण गरिदिएका थिए।

मन्त्रिपरिषद्को आग्रहमा संसद्‍लाई छलेर राष्ट्रपतिले असंवैधानिक कदम चालेको भन्दै प्रतिपक्षी दलहरु आन्दोलित भएका हुन्।

उक्त विधेयक राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत जाने दिन नै प्रमाणीकरण गरिदिएका थिए।

त्यसैगरी प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणकै क्रममा अतिक्रमित नेपाली भूमि कालापानीसहितसँग पूर्वी नाकाबाट बंगलादेश जाने बाटो लिन सकिने विवादित अभिव्यक्ति दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .