ad ad

राजनीति


नागरिकता विधेयक अरुको स्वार्थमा ल्याइयो, फिर्ता हुनुपर्छ : रास्वपा

नागरिकता विधेयक अरुको स्वार्थमा ल्याइयो, फिर्ता हुनुपर्छ : रास्वपा

फाइल तस्बिर


नेपालखबर
जेठ २१, २०८० आइतबार १३:७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकलाई संशोधन गर्न सरकारसँग माग गरेका छन्। 

आइतबारको प्रतिनिधि सभा बैठकमा आकष्मिक समय लिएर बोल्दै प्रमुख सचेतक परियारले नागरिकताविहीनलाई नागरिकता दिन नभइ अन्य कुनै स्वार्थले विधेयक प्रमाणीकरण गरिएको बताए। 

उनले रास्वपा नागरिकता विधेयक प्रमाणीकरणको पक्षमा नरहेको स्पष्ट पार्दै यसको घोर बिरोधमा रहेको उल्लेख गरे। 

उनले नागरिकताको विषय देशको सुरक्षा, मानव अधिकार र भूराजनीतिसँग जोडिएको विषय भएको भन्दै यसलाई संसदमा छलफल नगरी प्रमाणीकरणमा जानु नहुने बताएका छन्। 

‘आज जुन विधि र तरिकाबाट सरकारले जुन रवैयाले यो प्रस्तुत गरेको छ, यसले मधेशका ती तमाम नागरिकताविहीनलाई नागरिकता दिन होइन, अन्य स्वार्थले ल्याएको छ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको ठम्याइ छ। हामी यसको विरोध गर्दछौँ। मधेशका मुसहर समुदायका धेरै विद्यार्थी स्कुल जान पाउँदैनन् राज्यले नागरिकता नदिएर। उनीहरुले पोषणभत्ता समेत पाएका छैनन्। बैंकमा खाता खोल्न सकेको छैन। राज्यले आफ्नो दायित्वबाट विमुख हुने?’, उनले भने, ‘लामो समय राजनीति गरिरहेका पार्टीहरु आफ्नो दायित्वबाट पर जाने अनि यो सार्वभौम संसदमा आएको यो बेथितिविरुद्ध आएको राष्ट्रिय स्वतन्त्र पार्टीले यो कर्मको भारी बोक्ने हुँदैन। हाम्रो यसमा समर्थन छैन। यो राजनीतिक विषय हो। नेपालको सुरक्षासँग जोडिएको विषय हो। यो मानव अधिकारसँग जोडिएको विषय हो।’

उनले नागरिकता भूराजनीतिसँग जोडिएको विषय पनि भएकाले यसमा संसदमा छलफल हुनै पर्ने उल्लेख गरे। ‘हामीलाई संसद्‍मा बोल्न दिइरहने अनि सरकार लुसुलुसु आफ्नो काम गरिरहने यो रवैयालाई अब राष्ट्रिय स्वतन्त्र पार्टीले स्वीकार्दैन। यसर्थ सरकारले रोकोस्। सरकारले यसलाई संशोधन गरोस्’, उनले भने। 

परियारले नेपाली नागरिकलाई नागरिकता दिलाउन रास्वपा संसद र सडकमा संघर्ष गर्न तयार रहेको भन्दै यसरकारले यस प्रकारको विधि भने सुधार्नुपर्ने बताए।

प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको अवरोधका कारण प्रतिनिधि सभा बैठक एक घण्टापछि बस्नेगरी स्थगित गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .