ad ad

राजनीति


नागरिकता विधेयक प्रमाणीकरणमा प्रतिपक्षीबाट घेरिए प्रधानमन्त्री

भारत भ्रमणमा मुख्य विषय छाडेर झुकेको आरोप
नागरिकता विधेयक प्रमाणीकरणमा प्रतिपक्षीबाट घेरिए प्रधानमन्त्री

फाइल तस्बिर


नेपालखबर
जेठ २२, २०८० सोमबार १३:३०, काठमाडौँ

विवादित नागरिकता विधेयकलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको विषयलाई लिएर प्रतिपक्षी दलहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई घेराबन्दी गरेका छन्। 

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले भारत भ्रमणबारे जवाफ दिएपछि फेरि प्रश्न उठाउँदै प्रतिपक्षी सांसदहरुले प्रचण्डको घेराबन्दी गरेका हुन्। 

बैठकमा नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले भारतमा गएर नदी बेचेर आएको आरोप लगाए। उनले भारत भ्रमणबाट कुनै पनि उपलब्धि नभएको भन्दै उल्टै देशलाई बदनाम गर्ने काम भएको बताए। 

एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीले नागरिकता विधेयकमा कन्टेन्टको कुरा गरेर आफूलाई पन्छाउन खोजिएको बताए। उनले आफूहरुले प्रक्रियाको कुरा झिकेको बताउँदै प्रचण्ड र सभामुख एकै हुन्? भनेर प्रधानमन्त्रीलाई प्रश्न गरे। 

उनले नागरिकता विधेयक प्रमाणीकरण गर्ने कामका लागि संसद्ले सिफारिस गर्ने बताउँदै प्रधानमन्त्रीलाई त्यो अधिकार नभएको पनि उल्लेख गरेका छन्। 

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन‍ले भारतले नेपालका केही भूभागसहित भारतीय संसद्मा राखेको नक्साबारेमा ढाकछोप गर्न लागेको पनि बताए। 

‘भारतीय संसद्मा राखिएको नक्साको विषयमा के हो?’, उनले भने, ‘बंगलादेश जाने बाटो भनेको के हो? समुद्रको अधिकार के हो? कालापानी सट्टापट्टाको कुरा हो कि होइन?’

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्को अधिकार छलेर मन्त्रिपरिषद्बाट सिधै राष्ट्रपतिलाई विधेयक पास गराउन लगाउनु गैरसंवैधानिक भएको बताए। 

‘यदि यो विधेयक संसद्मा आएको भए हामी महिलामाथिको विभेदबारे बोल्थ्यौँ। यो दोषको प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ’, उनले भने, ‘हाम्रो अधिकार हनन भएको छ। संसदमा ल्याएर यसको प्रक्रिया पूरा गर्नुपर्छ।’

त्यसैगरी राप्रपा सांसद ज्ञानबहादुर शाहीले प्रधानमन्त्री प्रचण्डलाई व्यक्ति हो कि यो राष्ट्रको कार्यकारी प्रमुख हो भनेर प्रश्न गरे। 

‘प्रधानमन्त्री व्यक्तिगत रुपमा भ्रमणमा गएको भए आपत्ति छैन। यो देशको प्रधानमन्त्रीलाई कार्यालय सहयोगी जति पनि भारतमा सम्मान भएन’, उनले भने, ‘नागरिकता विधेयक प्रमाणीकरण गर्दा तपाईं प्रधानन्यायाधीश हो? भारत भ्रमणकै दिन किन प्रमाणीकरण भयो? तपाईं व्यक्ति होइन यो देशको कार्यकारी प्रमुख हो। यसमा हेक्का रहोस्।’ 

त्यसैगरी अर्का सांसद दामोदर वैरागीले प्रधानमन्त्रीले ठाडै संसद्लाई ढाँटेको बताए। 

‘संसद्लाई छलेर नागरिता दिने भनेर छल्न पाइन्छ?’, उनले प्रश्न गरे, ‘संसद्लाई सिधै छलेर नागरिकता दिने नाममा नागरिकता पाउनेलाई छलिएको छ।’

उनले लुम्बिनी भारतको हो भनेर टाँसिएको नक्सामुनि बसेर प्रचण्डले हात हल्लाएको भन्दै त्यसमा गम्भीर आपत्ति जनाएका छन्। 

त्यस्तै नेकपा एमालेका सांसद ठाकुर गैरेलले मध्यप्रदेशस्थित उज्जैनको महाकाल मन्दिरमा पुगेर लगाएको गेरु वस्त्रभित्रको रहस्य के हो? भनेर प्रधानमन्त्रीलाई प्रश्न गरे।

उनले परराष्ट्रमन्त्री एनपी साउदले भारतीय टेलिभिजनमा अखण्ड भारतसहितको नक्साबारे राष्ट्रघाती टिप्पणी गरेका बताउँदै उनले राजीनामा दिनुपर्ने बताए।

उनले नागरिकता विधेयकमा राष्ट्रपतिले गैरसंवैधानिक कदम चालेको बताए। ‘राष्ट्रपतिले गरेको गैरसंवैधानिक सच्चिनुपर्छ। नेपाली भूमि साट्ने भनेर बोल्दा प्रधानमन्त्रीलाई लाज लाग्नुपर्ने हो’, उनले भने, ‘यो देशको जमिन एक इन्च विदेशीलाई दिन तयार छैनौँ।’

त्यसैगरी रास्वपा सांसद शिशिर खनालले हवाई रुट खुलाएर प्रधानमन्त्री जहाज चढेर आउनुपर्नेमा भैंसी चढेर आएको भन्दै व्यंग्य गरे। 

खनालले नयाँ हवाई रुट खुलाएर प्रधानमन्त्री जहाज चढेर आउलान् भनेको भैंसी पो चढेर आए भनेर कटाक्ष गरे। 

उक्त शब्दलाई लिएर माओवादी सांसदहरुको आपत्तिपछि सभामुख घिमिरेले संसद्को रेकर्डबाट हटाउन निर्देशन दिए। त्यसलाई लिएर संसद्मा केही बेर हंगामा भयो। 

नेकपा एमालेकी सांसद सुनिता बरालले प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा विवादित अग्निपथ योजनाबारे कुरा नउठाएकोमा आपत्ति प्रकट गरिन्। 

अहिले एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले प्रधानमन्त्रीको भारत भ्रमण र नागरिकता विधेयकलाई लिएर सरकारमाथि प्रश्न उठाइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .