प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाको सभामुख आफ्नो पार्टीलाई दिन आग्रह गरेका छन्।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले सभामुखका बारेमा निर्णय गर्न नसकेपछि सभापति देउवाले कांग्रेसलाई सभामुख दिए संसद चलाइदिने बताए।
बुधबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले सत्तापक्षले नै संसदलाई बन्धक बनाएको भन्दै सदनमै त्यसको प्रतिकार गर्ने समेत चेतावनी दिए।
‘सभामुखलाई लिएर संसदलाई बन्धक बनाउन पाइँदैन’, उनले भने, ‘नेकपाले सभामुख चयन गर्न सक्दैन भने कांग्रेसलाई दिनुहोस्, हामी चलाइदिन्छौँ।’
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता अनुमोदन गरेर जानुपर्ने बताए। कांग्रेसले आधिकारिक रुपमा एमसीसी पारित गरेर जानुपर्छ भनिसकेको उनको भनाइ थियो।
सभापति देउवाले कांग्रेसभित्रको आन्तरिक विवाद हल भएको र पार्टी एक ढिक्का बनेको दावी समेत गरे। उनले असन्तुष्ट दुबै समूहसँग कुरा मिलिसकेको दावी गर्दै तोकिएको समयमै महाधिवेशन हुने बताए।
‘असन्तुष्ट समूहसँग कुरा मिलिसक्यो,’ सभापति देउवाले भने, ‘ अब तोकिएकै समयमा पार्टीको सबै तहको निर्वाचन हुन्छ, महाधिवेशन पनि तोकिएकै समयमा हुन्छ।’
प्रतिक्रिया