राजनीति


कोशीमा सर्वपक्षीय सरकारको सम्भावना छैन, कार्की गठबन्धनकै उम्मेदवार : प्रधानमन्त्री प्रचण्ड

‘राजनीतिमा चिसो तातो भइरहन्छ, एमालेले के गर्छ हेरौं’
कोशीमा सर्वपक्षीय सरकारको सम्भावना छैन, कार्की गठबन्धनकै उम्मेदवार : प्रधानमन्त्री प्रचण्ड

नेपालखबर
असोज २७, २०८० शनिबार १५:०, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा तत्काल सर्वपक्षीय सरकारको सम्भावना नभएको स्पष्ट पारेका छन्। शनिबार चितवन पुगेका प्रधानमन्त्री प्रचण्डले भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कोशी प्रदेशसमा समस्या आए पनि आफूहरू मिले सुल्झाएको दाबी गरे। 

एमालेसहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्की गठबन्धनकै उम्मेदवार भएको प्रधानमन्त्री प्रचण्डको भनाई छ। 

‘एमालेले के गर्छ त्यो उसले जान्छ। उसले बुझ्ने कुरा हो। गठबन्धन इन्ट्याक्ट रहन्छ। गठबन्धनकै उम्मेदवारको रुपमा उहाँलाई हाम्रो समर्थन रहन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने। 

साथै, उनले अहिले कोशीमा गठबन्धनकै सरकार बन्ने दाबी गरेका छन्। 

‘सर्वपक्षीय सरकार बन्ने सम्भावना असम्भव छैन। तर तत्काल त्यो बन्ने अवस्था छैन। त्यहाँ (कोशी)मा गठबन्धनकै सरकार बन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

विमानस्थलमा सञ्चारकर्मीहरूले कोशी प्रदेशबाट गठबन्धनलाई राम्रै झड्का दियो हैन? भन्दै प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गरेका थिए। 

‘वास्तवमा त्यो एउटा समस्या त पक्कै हो। तर त्यसलाई हामीले एउटा सेटलमेन्टमा लगिएको छ। यसले अन्ततः गठबन्धनलाई बलियो हुने ठाउँतिर नै अघि बढ्छ,’ उनले भने। 

शनिबार बिहानमात्रै कांग्रेस सभापति शेरबहादुर देउवा र शेखर कोइरालाबीच भएको छलफलले समझदारी बनाएको उल्लेख गर्दै प्रचण्डले गठबन्धनलाई कुनै हालतमा कमजोर हुन नदिने बताए। 

‘आज बिहानमात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजी, म आफैं र शेखर कोइरालाकाबीचमा एउटा समझदारी बनाएका छौं। हामी गठबन्धनलाई अझै बलियो बनाउने कुरामा दृढ र स्पष्ट छौं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘कुनै हालतमा गठबन्धनलाई कमजोर हुन दिइने छैन। अहिले कार्कीजी मुख्यमन्त्री बन्नुभएको छ उहाँ हामी सबैको मुख्यमन्त्री हो। अब ल्यान्डिङ हुँदा त्यसलाई सेफ ल्यान्डिङ गरियो।’

लगत्तै प्रधानमन्त्री प्रचण्डलाई सञ्चारकर्मीहरूले यसले चिसो त पस्यो नि राजनीतिमा हैन? भन्दै प्रश्न गरेका थिए। 

सो प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘चिसो तातो त राजनीतिमा भइरहन्छ राजनीतिमा यो ठूलो कुरो होइन पनि।’

बरु पार्टीभित्र कहिलेकाहीँ हुने यस्ता विवादले अझै बलियो हुने प्रधानमन्त्रीको बुझाइ छ।

‘कहिलेकाहीँ गठबन्धन र पार्टीभित्र विवाद हुन्छ। त्यो विवाद समाधान भएर आउँदा झन बलियो भएर आउने पनि हुन्छ। हामीलाई विश्वास के छ भने आज बिहान भएको सहमतिले गठबन्धनलाई अझै बलियो बनाउँछ,’ उनले भने। 

कोशीमा प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान गरेका थिए। 

कांग्रेससहितको गठबन्धनको मुख्यमन्त्रीका रुपमा माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले दाबी गरेका थिए भने थियो भने कांग्रेसकै शेखर समूहका ८ नेतासहित नेकपा एमालेको समर्थनमा कांग्रस प्रदेशसभा सदस्य केदार कार्कीले दाबी गरेका थिए।

गठबन्धनमै रहेको कांग्रेसभित्रको विवाद मिलाउन शुक्रबारदेखि नै प्रधानमन्त्री प्रचण्ड लगायतका शीर्ष नेताहरू छलफलमा थिए। 

कांग्रेसका ८ जना सांसदको दुवैतिर हस्ताक्षर भएपछि प्रदेश प्रमुखले शनिबार सनाखका लागि सांसदहरूलाई बोलाएका थिए। 

सनाखतपछि कोशीको मुख्यमन्त्रीमा कार्कीलाई नियुक्त गरिएको छ। नियुक्तिपछि कोइरालाले बालुवाटारमा सहमति गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .