राजनीति


सिंहदरबारमा ओली–प्रचण्ड दुई घन्टा वार्ता : यी तीन विषयमा भयो छलफल

सिंहदरबारमा ओली–प्रचण्ड दुई घन्टा वार्ता : यी तीन विषयमा भयो छलफल

तस्बिर : प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
कात्तिक १०, २०८० शुक्रबार १७:१, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीबीच पछिल्लो देशको राजनीतिक परिस्थितिका विषयमा छलफल भएको छ। 

शुक्रबार सिंहदरबारमा दुई नेताबीच झण्डै दुई घण्टा कुराकानी भएको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार छलफलका तीन विषय छन्।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको १२ गतेदेखि हुने नेपाल भ्रमण, नेपालको पछिल्लो राजनीतिक अवस्था र संक्रमणकालीन न्यायको विषयलाई टुंगोमा लग्ने विषय मुख्य छन्।

गुटरेसको नेपाल भ्रमणका विषयमा प्रमुख प्रतिपक्षी दलका नेतालाई जानकारी दिएको उनले बताए।

त्यस्तै, कतारी अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका विषयमा पनि उनीहरूबी छलफल भएको छ। 

अमिर शेख आगामी कात्तिक २० गते नेपाल आउने तयारीमा छन्। 

उनी दुई दिने भ्रमणका लागि नेपाल आउने तय भएको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ। 

त्यस्तै, प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले पछिल्लो राजनीतिक अवस्थाका विषयमा सबै दल मिलेर जाने विषयमै समझदारी जुटाउन आज छलफल भएको बताए।

‘राजनीतिक अवस्था, अहिलेको सिस्टम, गणतन्त्र, संघीयतालाई सबै दल मिलेर प्रभावकारी कार्यान्वयन गराउन आवश्यक छ, यसमा एउटा महत्वपूर्ण समझदारी बनाएर जाने विषयमा सम्माननीय प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग संवाद गर्नुभएको हो,’ मल्लले नेपालखबरसँग भने, ‘संविधान र सिष्टमलाई बलियो बनाउन यो व्यवस्था ल्याउने शक्ति एकै ठाउँमा उभिनैपर्छ।’

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) संसद्‌बाट छिटो पारित गर्ने विषयमा पनि छलफल भएको छ। 

छलफलमा बेपत्ता नागरिक खोजबीनको लागि सत्य निरुपण तथा मेलमिलाप आयोगलाई संसद्‌मा अघि बढाउन सकारात्मक रहेको ओलीको भनाई छ।

टीआरसीलाई दसैँ लगत्तै बस्ने संसद् बैठकमा पेस गर्ने तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .