राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भूगोलको नेपाल मेची महाकालीमा समेटिएको भएपनि भावनाको नेपाल संसारभर छरिएको र तिनलाई कसैले उपेक्षा गर्न नमिल्ने, गर्न नसक्ने बताएका छन्।
पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) अमेरिकाको टेक्सासको ड्यालसमा आयोजित तेश्रो अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले नेपाली अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिइरहेको नेपाली डायस्पोरालाई नेपाल निर्माणको साझेदार बनाउनुपर्नेमा जोड दिएका हुन्।
अध्यक्ष लिङ्देन नेतृत्वको राप्रपाको टोली यतिबेला अमेरिका भ्रमणमा रहेको छ। अध्यक्ष लिङ्देनले नेपाली राजनीतिमा पुस्ता हस्तान्तरण र नेतृत्व परिवर्तनको कुरा लामो समयदेखि उठिरहेको भएपनि राप्रपाले व्यवहारिक रुपमै आफ्नो पार्टीमा नेतृत्व परिवर्तन गरेको, पार्टीलाई नयॅा दिशा प्रदान गरेको र राष्ट्रिय राजनीतिमा राप्रपालाई आशालाग्दो शक्तिका रुपमा उभ्याएको दाबी गरे। उनले पार्टीमा अझै धेरै मिहिनेत गर्न बॅाकी रहेको बताउँदै पार्टीको मात्रै होइन देशकै नेतृत्व परिवर्तन गर्नुपर्नेमा जोड दिए।
एउटा राजनीतिक परिवर्तनमा हाल नेतृत्वमा रहेकाहरुको योगदान रह्यो होला भन्दै तर कठिन अवस्थाबाट गुज्रिरहेको देशलाई यथास्थितिबाट मुक्त गराउन लामो राजनीतिक जीवन बिताएकाहरूले विश्राम लिनुपर्ने बताए।
अध्यक्ष लिङ्देनले राप्रपाले उठाएको राजसंस्था र हिन्दुराष्ट्रको मुद्दा केवल कोही व्यक्तिलाई राजा बनाउने र कुनै जात र धर्म विशेषलाई प्रोत्साहित गर्नको लागि नभइ यो एजेण्डा नेपालको पहिचान, एकता र स्थायित्वका लागि भएको दाबी गरे।
अधिवेशनलाई पार्टीका नेता पूर्वमन्त्री प्रेमबहादुर भण्डारी, पानस आईसीसी अध्यक्ष प्रेमकुमार श्रेष्ठ, सहायक महामन्त्री विजय खड्का, प्रवास विभाग प्रमुख आनन्द अधिकारीले सम्बोधन गरेका थिए। अधिवेशनले रवि रावलको अध्यक्षतामा पानस अमेरिकाको २१ सदस्यीय नयॅा नेतृत्व सर्वसम्मतिले चयन गरेको छ।
Shares
प्रतिक्रिया