राजनीति


बालेनले भने : नेताज्यूहरू देश नै बेच्न खोज्नुभो, काठमाडौं महानगर बिक्रीमा छैन

बालेनले भने : नेताज्यूहरू देश नै बेच्न खोज्नुभो, काठमाडौं महानगर बिक्रीमा छैन

नेपालखबर
कात्तिक १५, २०८० बुधबार २१:२६, काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले काठमाडौं महानगरपालिका एक्लै भएपनि ‘नेपाल भनेर उभिने’ बताएका छन्।

बुधबार सामाजिक सञ्जालमा फेसबुकमा स्ट्याटस लेख्दै बालेन्द्रले काठमाडौं महानगर बिक्रीमा छैन भनेका छन्।

बालेन्द्रले लेखेका छन्, ‘१७ वटा नगरपालिकाले कुनै प्राइभेट कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिष्कार गरेको हो। कसैको अपमान गरेको होइन। नेताज्यूहरुले त देश नै बेच्न खोजिसक्नुभो। तर, काठमाडौं महानगर बिक्रीमा छैन। तपाइँहरूले पूरै देश नै बेच्नुभो भनेपनि काठमाडौं एक्लै नेपाल भनेर उभिनेछ।’

यद्यपी बालेन्द्रले आफ्नो स्ट्याटसमा प्रशंग खुलाएका छैनन्। तर, उपत्यकाका नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरुको मञ्च ‘मेयर्स फोरम’ को बैठकप्रति असन्तुष्ट उनले सोही विषयलाई व्यंग्य गरेको स्रोतले बताएको छ।

मंगलबार बूढानीलकण्ठ नगरपालिकाको पार्क भिलेज रिसोर्टमा ‘मेयर्स फोरम’ को बैठक बसेको थियो। सो बैठकलाई बालेन्द्रले बहिष्कार गरेर हिँडेका थिए।

बैठकको सुरुमै बोल्न खोजेका मेयर शाहलाई मेयर्स फोरमको अध्यक्ष रहेका ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ‘बैठकमा एजेण्डा प्रस्तुत गरेपछि बोल्नुहोला’ भनेर रोकेका थिए। त्यसपछि बालेन्द्र जंगिएर त्यहाँबाट हिँडेको स्रोतले बतायो।

मेयर्स फोरमको बैठक महिनाको एक पटक बस्ने गरेको छ। पाँच महिना अगाडि फोरमको अध्यक्षमा ललितपुरका मेयर महर्जन अध्यक्षमा चुनिएका थिए।

फोरम गठन हुनुअघि चन्द्रागिरि नगरपालिकामा भएको पहिलो भेलामा फोरमको अध्यक्षता काठमाडौंको मेयरका रुपमा आफूले गर्न पाउनुपर्ने बालेनको प्रस्ताव थियो।

तर, भेलाले चिरिबाबुलाई अध्यक्ष चुनेपछि बालेन्द्र असन्तुष्ट छन्। उनले यसअघिका बैठकमा पनि आफू सहभागी नभएर उपमेयर सुनिता डंगोललाई पठाउने गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .