राजनीति


भूगर्भविद्ले पश्चिम नेपालमा अझै ठूलो भूकम्प जाने ब्रिफिङ गरेका छन् : प्रधानमन्त्री (भिडिओ)

‘छिमेकी राष्ट्रबाट पनि सहयोग गर्न लगातार फोन आइरहेको छ’
भूगर्भविद्ले पश्चिम नेपालमा अझै ठूलो भूकम्प जाने ब्रिफिङ गरेका छन् : प्रधानमन्त्री (भिडिओ)

नेपालखबर
कात्तिक १८, २०८० शनिबार १७:४५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पश्चिम नेपालमा अझ धेरै ठूलो भूकम्प जानसक्ने सम्भावनाबारे आफूलाई भूगर्भविद्हरूले ब्रिफिङ गरेको बताएका छन्। 

शनिबार बिहानै भूकम्प प्रभावित क्षेत्रको अवलोकनमा पुगेका प्रधानमन्त्री प्रचण्डले अपरान्ह काठमाडौं फर्कने क्रममा विमानस्थलमा सञ्चारकर्मीसँग सो कुरा बताएका हुन्। 

‘यहाँको स्थितिको बारेमा विज्ञहरूको जे भनाइ छ, त्यसले अझ बढी सतर्कता अपनाउनुपर्ने अवस्था छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अझ धेरै भूकम्प जाने सम्भावनाबारे भूगर्भविद्हरुले इंगित गरिरहेका छन्। सरकार यसतर्फ पनि गम्भीर छ।’

जाजरकोट भूकम्पबाट धेरै जनधनको क्षति भएको बताउँदै उनले हजारौं घर क्षति भएको प्रत्यक्ष देखेको पनि बताए। 

‘हजारौं घर क्षति भएको मैले प्रत्यक्ष देखेँ। जाजरकोट र रुकुमका प्रभावित क्षेत्र हेरेँ। प्रत्यक्ष रुपमा मैले आफ्नै हेलिकोप्टरमा घाइतेको उद्धार गरेको छु।’ प्रधानमन्त्री प्रचण्डले भने। 

साथै, उनले आजको दिनमा सरकार र राज्यको तर्फबाट हुनुपर्ने कुरा गरिएको पनि दाबी गरे। छआजको दिनमा सरकार र राज्यको तर्फबाट जे गर्नुपथ्र्यो त्यो गरिएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

शनिबार बिहान ६ बजे नै आफू काठमाडौंबाट त्यसतर्फ गएको जानकारी दिँदै उनले अहिले आफू चढेर आएकोसहित तीन वटा हेलिकोप्टरबाट उद्धार कार्य जारी राखिएको बताए। 

‘आज बिहान ६ बजे म काठमाडौंबाट हिँडेको हुँ। अहिले पनि तीनवटा हेलिकोप्टर लगातार उद्धारमा लागेको छ’, प्रधानमन्त्री प्रचण्डले भने। 

त्यस्तै, आइतबार बिहान मन्त्रिपरिषद् बैठक बस्ने र लगत्तै राहत सामग्री बोकेर सरकारी टोली जाजरकोट र रुकुम पश्चिममा पुग्ने पनि उनले बताएका छन्। 

‘भोलि हामी राहत सामग्रीहरू बोकेर आउनेछ। मैले भोलि बिहान ८ बजे नै क्याबिनेटको बैठक बोलाइसकेको छु। लगत्रै विपद् व्यवस्थापन समितिको बैठक बसेर राहत र पुनस्र्थापनामा लाग्छ,’ उनले भने।

उनले देशबाट मात्रै नभई मित्र राष्ट्रबाट पनि आफूलाई फोनमार्फत सहयोगका लागि अपिल गर्न आह्वान भएको जानकारी दिए। 

‘अहिले देशभरीबाट सहानुभूती प्राप्त भएको छ। मलाई रुकुममै हुँदा विदेशबाट मित्र राष्ट्रबाट के सहयोग चाहिन्छ हामी दिन तयार छौं भनेर फोनबाट भन्नुभएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .