राजनीति


१५ वर्षअघि मरिसकेको ठाउँमा चिहान खनेर राजतन्त्र फर्कँदैन : ओली

‘अहिलेको सरकार प्रचण्डपथमा चल्यो, कांग्रेस भरिया मात्रै’
१५ वर्षअघि मरिसकेको ठाउँमा चिहान खनेर राजतन्त्र फर्कँदैन : ओली

डडेलधुराको अमरगढीमा आयोजित सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओली (तस्बिर : बालकोट)


नेपालखबर
मंसिर १५, २०८० शुक्रबार १४:५०, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मरिसकेको राजतन्त्रको चिहान खनेर पुनः राजतन्त्र ल्याउँछु भन्दै केही तत्वहरू लागेकाले जनता सजक हुनुपर्ने बताएका छन्।

१५ वर्षअघि नै मरिसकेको राजतन्त्र ब्युझाउँन केही प्रतिगामी तत्वहरू लागेकोले त्यसको विरुद्धमा आफ्नो पार्टी लागेको बताए। 

‘प्रतिगामी तत्वहरू फेरि एकपटक मरेको राजतन्त्रको चिहान खनेर राजतन्त्र ल्याउँछु भनेर कुदेका भूतप्रेदवादी तत्वहरू। यी सबै तत्वलाई फाल्न देश अघि बढ्नुपर्छ। जनताको सार्वभौमसत्ता जोगाउन सजक हुनुपर्छ,’ ओलीले भने।

पार्टीको महाकाली—मेची अभियानका क्रममा डडेलधुराको अमरगढीमा अमरसिंह थापाको शालिकमा माल्यार्पणपछि आयोजित सभालाई सम्बोधन गर्दै उनले अहिलेको गठबन्धन सत्तास्वार्थमा मात्रै लागेको पनि बताए।

‘सत्ता गठबन्धन र गठबन्धनका नेताहरू कसरी सत्ता टिकाउने, कसरी मन्त्री हुने, अर्को मन्त्री ढालेर अर्को कसरी आउने? कसले बढी कमाउने, कसले आफन्त बढी पोस्ने भन्ने धन्दामा गठबन्धन लागेको छ,’ उनले भने।

ओलीले अहिलेको सरकार जुनसुकै बेला पनि ढल्नसक्ने दाबी गरे।

‘यो सरकार आफैँ ढल्नपनि सक्छ। यो कुनै खुट्टा भएको सरकार नै होइन। यो गठबन्धनका छेस्काहरूले अड्याएको मात्रै हो,’ उनले भने, ‘मोटामोटी भन्दा यो सरकार प्रचण्ढडपथमा हिँड्न खोजेको छ। नेपाली कांग्रेस प्रचण्डपथको भरिया बनेर हिँडिरहेको छ।’

साथै, उनले अमरसिंह गढीमा राखिएको किल्लाले महत्त्वपूर्ण भूमिका खेलेको पनि बताए। 

‘अमरसिंह गढी नाम राखिएको यो गढी तत्कालीन प्रधानसेनापति उहाँको ७३÷७४ वर्षको उमेरमा यो बनाउनुभएको हो किल्ला। यो किल्लाले त्यसबेला महत्वपूर्ण भुमिका खेलेको थियो। यो किल्ला राम्रा, सुन्दर र सुरक्षित किल्लाहरुमध्येको एउटा हो। अमरसिंह थापा एउटा यस्तो योद्धा हो जसको १८१५ को ब्रिटिश इण्डियासँगको नेपालको आत्मरक्षा र न्यायको लडाईं थियो,’ उनले भने, ‘अमरसिंह थापा प्रधान सेनापति, भीमसेन थापा उनका छोरा त्यसबेला पाल्पाको कमाण्डमा थिए र सबैभन्दा बाहिरि किल्लामा अमरसिंहका माहिला छोराका छोरा बुटवल गढीको रक्षा गर्न तैनाथ थिए। त्यहाँबाट अंग्रेज सेनालाई लखेटेर खासमा भन्ने हो भने नेपालको विजयी भयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .