प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले दूरसञ्चार कम्पनी एनसेलसँग कुनै मिलेमतो नगरेको स्पष्ट पारेको छ।
सचिवालयले विज्ञप्ति प्रकाशित गरी एनसेलले अनर्गल प्रचार गरेको भन्दै आपत्तिसमेत जनाएको छ।
केही दिनअघि सांसदसमेत रहेका एक व्यक्तिले कुनै तथ्य, प्रमाणविना प्रधानमन्त्री र उनकी छोरी एवम् स्वकीय सचिव गंगा दाहालको नाम एनसेल प्रकरणमा मुछेर दुस्प्रचार गरेको भन्दै सचिवालयले गम्भीर आपत्ति जनाएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले ‘एनसेलमार्फत् कर छली र दुरसंचार फ्रिक्वेन्सी हत्याएर राष्टलाई अरबौ नोक्सान पुर्याउन सक्रिय गिरोह र उक्त गिरोहलाई साथ दिइरहेका केही व्यक्तिले प्रधानमन्त्री र उहाँको सचिवालयमा कार्यरत पदाधिकारी विरुद्ध अत्यन्तै झुठ्ठा र अनर्गल प्रचारवाजी गरिरहेको’ दाबी गरेका छन्।
प्रधानमन्त्री र सचिवालयका कसैको पनि एनसेल र त्यस प्रकरणमा संलग्न कुनै पनि व्यक्तिसँग मिलेमतो त परै जाओस् सामान्य संवादसम्म पनि नभएको प्रधानमन्त्रीको सचिवालयले स्पष्ट पारेको छ। सचिवालयले कुनै तथ्य प्रमाणबिना यसप्रकारका झुठ्ठा प्रचार नगर्न सम्वन्धित सबैमा आग्रहसमेत गरेको छ ।
‘सरकारले एनसेलको अवैध सेयर खरिद बिक्रीमा रोक लगाएपछि एनसेलमार्फत् देशलाई लुट्न सक्रिय गिरोह सरकार र त्यसको नेतृत्वविरुद्ध अनर्गल प्रचारवाजीमा लागेको छ’ आचार्यले भनेका छन्, ‘उक्त गिरोहको डिजाइनमा मोटो रकम खर्चेर विभिन्न संचार माध्यममा प्रायोजित सामग्रीसहितका विज्ञापन प्रवाह गराउनुका साथै सामाजिक संजालमार्फत् समेत प्रायोजित सामग्री प्रवाह हुन थालेका छन्।’
सरकारले एनसेलको अवैध कार्य रोक्ने र गैरकाननूनी कार्यमा संलग्नमाथि कडा कानूनी कारवाही गरिने समेत प्रधानमन्त्रीको सचिवालयमार्फत चेतावनी दिएको छ।
Shares
प्रतिक्रिया