राजनीति


प्रचण्ड–अमरेश सम्बन्धः असाधारण निकटता, अस्वाभाविक दूरी

देउवा–आरजुलाई तारो बनाउँदै आएका अमरेश सिंह जब प्रचण्ड परिवारतिर फर्के
प्रचण्ड–अमरेश सम्बन्धः असाधारण निकटता, अस्वाभाविक दूरी

नेपालखबर
मंसिर २६, २०८० मंगलबार ९:३७, काठमाडौँ

सर्लाहीबाट निर्वाचित सांसद अमरेशकुमार सिंह यतिखेर बालुवाटारको लागि ठूलै टाउको दुःखाइ बनेका छन्।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी तथा स्वकीय सचिव गंगा दाहालमाथि विभिन्न व्यापारीसँग रकम बुझ्ने गरेको आरोप सामाजिक सञ्जालमार्फत् लगाएका छन्।

सिंहले आइतबार बिहान ८ बजेर ७ मिनेटमा फेसबुकमा लेखेका छन्, ‘प्रधानमन्त्रीकी छोरी तथा स्वकीय सचिव गंगा दाहालले कुनकुन व्यापारीसँग कुनकुन मामिलामा कति रकम बुझेकी छन्, त्यो सबै प्रमाण मसँग सुरक्षित छ। समय आएपछि सबै प्रमाण जनता र मिडियामा लिएर जानेछु।’

केही समययता भ्रष्टाचारका मुद्दा आक्रामकरूपमा उठाइरहेका सिंहले प्रधानमन्त्री प्रचण्डले सबैभन्दा बढी विश्वास गर्ने पारिवारिक सदस्यमाथि गम्भीर आरोप मात्र लगाएका छैनन्, रकम लेनदेनबारे ठोकुवा नै गरेका छन्। अझ आफूसँग प्रमाण नै सुरक्षित रहेको दाबी गरेपछि त्यसले झन् ठूलो तरंग पैदा गरेको छ।

बहालवाला सांसदले यो हदसम्मको आरोप लगाएको र त्यसैलाई सही भन्नेहरू थपिँदै गएपछि अहिले सामाजिक सञ्जाल मात्र होइन, राजनीतिक वृत्त पनि तातेको छ। स्वयं प्रधानमन्त्री प्रचण्डले खण्डन गर्दै हिँड्नुपरेको छ।

प्रचण्ड सचिवालयका सदस्यहरूले आइतबार साँझ सवा ६ बजेतिर एउटै व्यहोराको लामो स्पष्टीकरण सामाजिक सञ्जालमा राखेका छन्। तिनैमध्येका एक प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लको फेसबुकमा राखिएको सन्देशमा सिंहले आफ्नो निहित स्वार्थ पूरा नभएपछि प्रधानमन्त्री प्रचण्ड, उनको परिवार र सचिवालयका विरुद्ध झुठको खेती गरेको भनिएको छ।

‘मा. अमरेशकुमार सिंहले आफ्नो निहित स्वार्थ पूरा नभएपछि सम्माननीय प्रधानमन्त्रीज्यू, उहाँको परिवार र सचिवालयका विरुद्ध विद्वेषपूर्ण ढंगले अनर्गल, भ्रामक प्रचार र झुठको खेती गर्दै आएका छन्,’ वक्तव्यमा भनिएको छ, ‘उनको यो अस्वाभाविक प्रस्तुति र अराजनीतिक बार्गेनिङ सरकारको पूर्णतासँगै सुरू भएको तथ्य स्पष्ट नै छ।’

सिंहले एनसेलको सेयर बिक्री प्रकरणमा प्रचण्ड परिवारको पनि संलग्नता रहेको भनेर विभिन्न माध्यमबाट गरेको प्रचारको पनि प्रचण्ड सचिवालयले प्रतिवाद गरेको छ। सिंहको यो आरोप र गतिविधिको कानुनअनुसार उपचार खोज्न भन्दै प्रतिनिधि सभाको ध्यानाकर्षण पनि वक्तव्यमार्फत् गराएको छ।

‘प्रधानमन्त्रीज्यू कोप २८ मा भाग लिन दुबईमा रहेको बेला गरिएको यो किनबेचको प्रपञ्चलाई उहाँ नेपाल आउनेबित्तिकै छानविन र कार्बाहीको प्रक्रिया अघि बढाइएको छ,’ प्रचण्ड सचिवालयको भनाइ छ, ‘छानविन समितिको अध्ययन र छानविनपछि सरकारले प्रचलित कानुनबमोजिम देशको स्वाभिमान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर आवश्यक निर्णय लिने नै छ।’

सिंहले प्रचण्डका पारिवारिक सदस्य र सचिवालयमाथि लगाएका आरोप पुष्टि गर्ने प्रमाण आफूसँग रहेको भने पनि ती केके हुन् भनेर देखाउन सकेका छैनन्। अर्कोतर्फ प्रचण्ड सचिवालयले सिंहमाथि निहित स्वार्थपूर्ति नभएपछिको प्रलाप भनेको छ तर उनले कुन स्वार्थका लागि के विषयमा माग र मोलमोलाइ गरेका हुन् भनेर खुलाएको छैन।

यो सरकारको पूर्णतापछि उनको प्रस्तुति अस्वाभाविक र अराजनीतिक बन्न सुरू भएको भन्ने प्रचण्ड सचिवालयको टिप्पणीले सिंह मन्त्रीका आकांक्षी रहेको र त्यो नपाएपछि आक्रामक बन्न पुगेको भन्ने संकेत गर्छ। तर, सांसद सिंह भने प्रधानमन्त्रीले आफ्नो प्रतिरक्षामा अरू कुनै हतियार नपाएपछि यो तहमा उत्रिएर विरोधमा कार्यकर्ता परिचालन गरेको आरोप लगाउँछन्।

माओवादी केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखा प्रचण्ड सचिवालयको वक्तव्य आउनुअघि नै सिंहविरुद्ध खनिन भ्याइसकेका थिए। प्रचण्डका स्वकीय सचिव गंगा दाहाललाई लगाएको आरोप पुष्टि नगरे नांगेझार बनाइदिने चेतावनी दीपशिखाले दिएका थिए।

प्रचण्ड र सिंहको आरोप–प्रत्यारोप यतिमै सीमित छैन।

आइतबार नै सिंहले आफ्ना सुरक्षा अधिकृत प्रधानमन्त्रीपुत्री गंगा दाहालकै आदेशमा फिर्ता बोलाइएको भनेर अर्को आरोप लगाए। गृहमन्त्रीसँग बुझ्दा त्यस्तो निर्णय नभएको बताएको र त्यो काम गंगा दाहालकै भएको उनले नेपालखबरसँगको कुराकानीमा दाबी गरेका थिए।

सोमबार दिनभरिजसो प्रधानमन्त्री प्रचण्डले सिंहले लगाएका आरोपको खण्डन गरेरै बिताए। पेरिसडाँडामा भएको पार्टीनिकट संगठनको कार्यक्रममा होस् कि अन्य बैठकहरूमा, उनको आक्रोश सिंहप्रति नै देखिन्थ्यो।

सिंहले एनसेलको सेयर बिक्रीविरूद्ध सर्वोच्च अदालतमा रिट पनि दायर गरेका छन्।

असाधारण निकटता, अस्वाभाविक दूरी​
कुनै समय सिंह प्रचण्डको शयनकक्षसम्मै पहुँच राख्थे। खासगरी माओवादी शान्ति प्रक्रियामा आएपछिका दिनमा प्रचण्ड र नेपाली कांग्रेसका नेताबीच उनले सम्पर्क सूत्रको काम गर्थे। विभिन्न शक्तिकेन्द्रबीचका सूचना र सन्देश एकअर्कोकहाँ पुर्‍याउने गरेको उनी सगर्व बताउँथे।

भारतको जवाहरलाल नेहरू विश्वविद्यालयमा एमफिल (पछि पीएचडी पनि) गर्दा उनले दिल्लीसँग पनि निकट सम्बन्ध बनाएका थिए। बालुवाटारमा हुने प्रायः वार्तामा कांग्रेस नेतासँगै सिंह पनि पुग्थे।

२०६७ मंसिर ७ गते भारतको नयाँ दिल्लीमा भएको १२ बुँदे समझदारीदेखि नै उनी यस प्रक्रियामा सामेल भएको देखिन्छ। कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले सुरूमा भारत र माओवादीसँग कुरा गर्न चक्रप्रसाद बाँस्तोलालाई खटाएका थिए। पछि शेखर कोइराला र कृष्ण सिटौलालाई परिचालन गरे। यी दुई नेताका प्रायः दौडधूपमा सिंह पनि मिसिएका हुन्थे।

त्यतिखेर गिरिजाप्रसाद कोइराला र प्रचण्ड दुवैतिरबाट पत्याइएका नेता सिटौला थिए। सिटौलासँग निकट सिंह थिए। उनकै निकटताबाट सिंहले २०६३ मा गठित अन्तरिम संसदमा प्रवेश पाए। नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत भए।    

शान्ति वार्ताका विभिन्न चरणमा सिंहको अस्वाभाविक उपस्थिति र सक्रियतालाई लिएर एकपटक गिरिजाप्रसाद कोइरालाले ‘को हो यो?’ भनेर हकार्दै बालुवाटार बैठकबाटै बाहिर निकालिदिएका थिए।

तर, त्यतिन्जेल सिंहले कांग्रेसका शेखर कोइराला र कृष्ण सिटौलासँग मात्र होइन, माओवादी नेताहरु प्रचण्ड र बाबुराम भट्टराईसँग प्रगाढ सम्बन्ध बनाइसकेका थिए। प्रचण्डको तत्कालीन नयाँबजारस्थित निवासमा उनी नियमितजसो पुगिरहन्थे। उनलाई दिएको महत्त्व र पहुँच हेर्दा प्रचण्डले पनि निकै विश्वास र भर गर्थे भन्ने प्रस्टै देखिन्थ्यो।

कतिसम्म भने त्यसबेला उनी कांग्रेसमा आबद्ध भए पनि माओवादीसँग बढी निकटजस्तो भएर प्रस्तुत हुन्थे। प्रचण्डलाई भनेर उनले धेरै कर्मचारी तथा सुरक्षाकर्मीको सरुवा, बढुवा र विभिन्न राजनीतिक नियुक्तिसम्म गराएका थिए। प्रधानन्यायाधीश खिलराज रेग्मीलाई अन्तरिम चुनावी मन्त्रिपरिषदको अध्यक्ष बनाउँदादेखि लोकमानसिंह कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख बनाउँदासम्म त उनको सक्रियता झनै हेर्नलायक थियो।

र, यी कुरा उनी खुलेरै भन्ने पनि गर्थे। संक्रमणकालीन राजनीतिका निकै पेचिला र अन्योलपूर्ण घडीमा पनि अबको राजनीतिक मार्गचित्र के हुन्छ भनेर उनी भविष्यवाणी गर्न तम्सिहाल्थे। 

माओवादीसँग सिंहको असाधारण निकटता  र सक्रियता कांग्रेसभित्रै पनि धेरैपटक छलफलको विषय बनेको थियो।

गिरिजाप्रसाद कोइरालाको निधनपछि सुशील कोइरालाले कांग्रेसको नेतृत्व गरे। सुशीलले उनलाई खासै महत्त्व दिएनन्। २०७० को संविधान सभा निर्वाचनमा सर्लाही–६ को टिकट पाएर जिते पनि पहिलाजस्तो विभिन्न शक्तिकेन्द्रबाट पुल्पुलिने मौका पाएनन्। खासगरी संविधान जारी हुँदा त उनले झनै खास भूमिका पाएनन्।

२०७९ को निर्वाचनमा त यस्तो अवस्था आयो कि उनले कांग्रेसबाट टिकटै पाएनन्। तर, बागी उठेरै भए पनि सर्लाही–४ मा जितेरै देखाइदिए।

अमरेशकुमार सिंहको नयाँ रूप
कांग्रेसबाट विद्रोह गरिसकेपछि भने अमरेशकुमार सिंहको रूप एकाएक फेरिएको छ। भ्रष्टाचार, बेथिति र राजनीतिको परनिर्भर सोचविरुद्ध उनले कडा अभिव्यक्ति संसदभित्र र बाहिर दिइरहेका छन्।

गत वैशाख २५ गते सिंह संसद बैठकमा अर्धनग्न बनेका थिए। प्रतिनिधि सभाको बैठकमा उनले बोल्नका लागि आकस्मिक समय माग गरेका थिए। सभामुखले समय नदिएपछि त्यसको विरोधमा उनले सर्ट र गञ्जी खोलेर विरोध जनाएका थिए।

सभामुख देवराज घिमिरेले संसदीय मर्यादाको ख्याल गर्न भन्दै कारवाही हुने चेतावनीसमेत दिएका थिए। सभामुखको चेतावनीपछि मात्र सांसद सिंह सर्ट लगाएर आफ्नो सिटमा बसेका थिए।

नक्कली शरणार्थी र सुन प्रकरणमा उनले संसदमा चर्को रूपमा आवाज उठाएका थिए। बैंकहरूको रकम निश्चित घरानाको हालीमुहाली रहेको र कसको कब्जामा कति छ भनेर आफूले सार्वजनिक गर्न सक्ने भनेर समेत उनी केही समय मिडियामा छाए। अहिलेसम्म उनले त्यो सूची सार्वजनिक भने गरेका छैनन्।

यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणामाथि पनि राज्यका नियुक्ति, सरुवा, बढुवा, ठेकापट्टा र राजस्वमा चलखेल गरेको, स्वदेशको पैसा विदेश लगेर थुपारेको लगायत आरोप लगाउँदै ‘गणतन्त्रकी पम्फादेवी’ भनेर टिप्पणी गरेका थिए। 

पम्फादेवी ठकुरीका नाममा स्विस बैंकमा पैसा राखेको भनेर २०४६ सालको जनआन्दोलनताका खुबै चर्चा भएको थियो। धेरैले रानी ऐश्वर्यलाई पम्फादेवी भन्ने गरेका थिए।

आफूलाई पम्फादेवी भनेपछि आरजुले सिंहविरुद्ध काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जती मुद्दासमेत दायर गरेकी छन्। 

अहिले सिंहको तारो देउवा परिवारबाट प्रचण्ड परिवार बन्न पुगेको छ। प्रचण्डपुत्री गंगा दाहालमाथि आरजुलाई जस्तै आरोप लगाएर सिंह चर्चामा छन्।

कतिपयले उनका यी गतिविधि र प्रस्तुति चर्चाकेन्द्रित रहेको ठानेका छन्। तर, उनी स्वयं भने आफू पहिलाको अमरेश नभई अमरेशको नयाँ अवतार रहेको दाबी गर्छन्। भ्रष्टाचार, बेथिति र देशघाती कामको भण्डाफोर र प्रतिरोध नै अब आफ्ना एजेन्डा हुने उनको जिकिर छ।

सिंह भन्छन्, ‘मसँग प्रशस्त सूचना छ। त्यो एकएक गरी जनतालाई भन्नैपर्छ। कसैले धम्की दिँदैमा म चुप लाग्नेवाला छैन। देशलाई भ्रष्टाचारीको स्वर्ग बन्न दिनुहुँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .