राजनीति


कार्यकर्तासँग देउवाको गुनासो: सत्ता नहुँदा शेरबहादुरले बिगार्‍यो भन्ने, ल्याएपछि भएन भन्ने?

कार्यकर्तासँग देउवाको गुनासो: सत्ता नहुँदा शेरबहादुरले बिगार्‍यो भन्ने, ल्याएपछि भएन भन्ने?

तस्बिर : नेपालखबर


नेपालखबर
माघ ९, २०८० मंगलबार १९:१७, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समानुपातिक र समावेशीताको मान्यताबाट पार्टी पछाडि नफर्किने स्पष्ट पारेका छन्। 

‘नेपाल समानुपातिक–समावेशी देशमा गइसक्या छ। नेपाल सवैको देश हो। यो दलित, जनजाति, क्षेत्री–बाहुन सबैको देश हो। मंगलबार पोखरामा आयोजित नेपाली कांग्रेस कास्कीको जिल्ला सम्मेलनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री देउवाले भने,‘त्यस कारण सबैको देश भएकाले यसमा सबैको सहभागिता हुनुपर्छ।’

भारतमा मुस्किलले बल्ल महिलालाई ३३ प्रतिशत दिने कुरा आइरहेको प्रसंग झिक्दै देउवाले भने,‘यो संविधान समावेशी र समानुपातिक छ। नेपाल त अझै एउटा महिला पालिका अध्यक्ष वा उपाध्यक्ष, मेयर उपमेयर एउटा हनुपर्छ। संसारभरका देशमा यस्तो छैन। यसमा सबैको सहभागिता हुनु राम्रो हो।’ 

समावेशी निर्वाचन प्रणालीबाट कसैको पनि बहुमत नआउने भएकोले संविधानको यो व्यवस्था खारेज हुनुपर्ने कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको प्रस्तावप्रति असहमति जनाउँदै देउवाले यो अभिव्यक्ति दिएका हुन्। 

कास्की कांग्रेसका सभापतिद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा समावेश उक्त बुँदाप्रति सहमहामन्त्री जीवन परियारले पनि आपत्ति जनाएका थिए। 

पार्टीका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले त्यही मञ्चबाट संविधानमा रहेको धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता राख्नुपर्ने विषय उठाए पनि देउवाले केही बोलेनन्। 

शशांकले भनेका थिए,‘धर्म निरपेक्षता शब्द नकारात्मक छ,जुन देशमा धर्म नै धर्म छ, त्यहाँ धर्म निरपेक्ष हुनुहुँदैन।’ उनले धर्मको कुरा उठाए पनि धर्मकै नाममा राजनीति गर्न नहुने चाहिँ बताए। 

पार्टीलाई सत्तामा ल्याउनुपर्‍यो नि ! 
 सभापति देउवाले पार्टी अहिलेको संविधानअनुसार कुनै पार्टीको बहुमत नआउने भएकाले कसैसँग मिलेर सरकार बनाउनु बाध्यता भएको दोहोर्‍याए। 

‘सत्तामा ल्याउनुपर्‍यो नि! सत्ता भनेपछि, आफ्नो केही नभएपछि लौ शेरबहादुरले बिगार्‍यो–बिगार्‍यो भन्ने। फेरि ल्याएपछि भएन भन्ने ?,’उनले भने,‘सत्ता सबैलाई आवश्यक छ नि! नेपालमा। संसारभर नै अहिले सत्ताका लागि महाभारत छ। चुनाव भनेको त्यही हो।’

उनले नेपाली कांग्रेस ठूलो पार्टी भएकाले निर्णयप्रति कसैको चित्त नबुझ्नु स्वभाविक भएको बताउँदै गठबन्धन नगरी जित्ने पार्टी बनाउन कार्यकर्तालाई आह्वान गरे। 

‘गठबन्धन नगरेरै जित्ने पार्टी बनाउनुस्। बलियो बनाउनुस् न,’उनले भने,‘जनता भनेको सवैभन्दा ठूलो हो,जनता हो मालिक यो देशको। जनतामा जानुपर्छ, भेटघाट गर्नुहोस्, यहाँ कसैको विरोध गरेर ठूलो हुँदैन।’

उनले कांग्रेस क्रियाशील र साधारण गरी दुई किसिमका सदस्य भएको मासबेस पार्टी भएको बताउँदै त्यसलाई एउटै बनाउन सक्ने पनि बताए। यद्यपि, पार्टी मासबेस नै हुनुपर्ने उनको भनाइ थियो।
 
 पोखरा एयरपोर्टबाट नेपाली जहाज उड्नुपर्छ 
 सभापति देउवाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली जहाजहरुले उडान भर्न थाले विदेशी जहाज आफैँ आउने तर्क पनि गरे। हालसम्म पोखरा एयरपोर्टबाट ४ वटा चार्डर्टबाहेक अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। 

‘एयरपोर्टबारे पछि गएर नेपालबाटै नेपाली जहाजहरु उड्यो भने विदेशी पनि आउँछन्। विदेशी जहाज आउन गाह्रो छैन। वास्तवमा वेट धान्न सक्दैन भन्छन्।  भार थाम्न नसकेपछि यसकारण चाहिँ यसको चिन्ता गर्न पर्दैन,’ उनले भने। 

उनको आशय नेपालको ध्वजाबाहक वायुसेवाले अन्तर्राष्ट्रिय उडान भर्नुपर्छ भन्नेतर्फ केन्द्रित थियो।  

उनले पोखरा आफैँमा पर्यटकीय ठाउँ भएको बताउँदै यहाँका तालको संरक्षण गरिनुपर्ने धारणा पनि राखे। 

‘यो महत्वपूर्ण ठाउँ हो। कास्की–पोखरा पर्यटकीय राजधानीका रुपमा विकसित भइसकेको छ, हुनुपर्छ। नेपालमा पर्यटकको संख्या बढेको छ। रेमिट्यान्स बढेको छ। त्यसैले चाहिँ कास्की पोखराको भविष्य अत्यन्तै राम्रो छ,’ उनले भने,‘तलाउ बचाउनुपर्छ। हेर्न मान्छे आउँछन्, डुंगा चलाउन मान्छे आउँछन्।’

सहकारी कांग्रेसको बनाऊँ 
दुई दर्जनभन्दा बढी नेताहरुको लम्बेचौडे भाषणमा उठेका मुख्य विषयबारे उत्तर दिन भ्याएका सभापति देउवाले सहकारीको सुरुवात नै कांग्रेसले गरेको र सहकारीलाई कांग्रेको बनाउनुपर्ने पनि बताए। 

‘सहकारी गिरिजाप्रसाद कोइरालाले सुरु गरेको हो, सहकारी सुरु गर्ने हाम्रो पार्टी हो। कांग्रेसले बनाएको सहकारी एमालेले लगिदियो, सहकारीलाई जसरी हुन्छ कांग्रेसमा ल्याउनुपर्छ,’ उनले भने। 

यसअघि देउवालाई सूर्यदर्शन सहकारी पीडितहरूले मञ्चमै पुगेर ज्ञापनपत्र बुझाएका थिए। ज्ञापनपत्रमा सहकारीमा डुबेको सर्वसाधारणको रकम फिर्ता गराउन सहजीकरणको माग गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .