राजनीति


प्रधानमन्त्रीले भने : देश बनाउन सबैभन्दा ‘बेस्ट ब्रेन’हरू चाहिएको छ

प्रधानमन्त्रीले भने : देश बनाउन सबैभन्दा ‘बेस्ट ब्रेन’हरू चाहिएको छ

नेपालखबर
माघ १०, २०८० बुधबार १४:२४, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश बनाउने जिम्मा सरकार, सबै राजनीतिक दल र विभिन्न तप्काका जनसमुदायको भएको बताएका छन्।

अहिले देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा रुपान्तरणको खाँचो औल्याउँदै यसका लागि राज्यसँगै सबैले जिम्मेवारी लिनुपर्ने दाहालले बताए।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा डा. केदारभक्त माथेमा, डा. पिताम्बर शर्मा, डा. विद्यानाथ कोइराला, डा.चैतन्य मिश्र र प्रा.कृष्ण खनालसहितका प्रबुद्ध व्यक्तिसँगको छलफलमा प्रधानमन्त्रीले यसो भनेका हुन्। 

उनले देश बनाउन सबभन्दा बेस्ट ब्रेनहरू केन्द्रित गर्नुपर्छ भन्ने विगतदेखिको आफ्नो सोच रहँदै आएको बताउँदै अहिले विश्वविद्यालयलाई राजनीतिक भागबन्डाको केन्द्र बनाउनु हुँदैन भनेर विगतको परम्परामा ब्रेक थ्रु गर्न लागिएको उल्लेख गरे। दाहालले यसमा बौद्धिक समुदायको साथ र सहयोगको अपेक्षा गरे।

प्रधानमन्त्रीले आफू प्रधानमन्त्री भएदेखि नै भोलिको उज्यालो र सम्मुन्नत नेपालका लागि सुशासन, सामाजिक न्याय र सम्बृद्धिका पक्षमा अनवरत काम गरिरहेको बताए।

आमजनतालाई देशमै भविष्य छ भनेर भरोसा दिनुपर्ने दायित्व राज्यको भएकाले यसमा बौद्धिक समुदायको पनि महत्वपूर्ण भूमिका रहने उनले बताए।

छलफलमा डा.केदारभक्त माथेमा, डा.पिताम्वर शर्मा, डा.विद्यानाथ कोइराला, डा.चैतन्य मिश्र, प्रा.कृष्ण खनालसहितका बौद्धिकहरुले प्रधानमन्त्रीले हालै विश्वविद्यालयमा भागबन्डा नगर्ने र मेरिटोक्रेसीबाट उपकुलपति छान्ने प्रक्रिया अघि बढाउनुले नयाँ आशा पलाएको बताए। 

उनीहरूले समग्र शिक्षा क्षेत्रसहित विश्व विद्यालयहरुको पुनर्संरचना गर्नेगरी सुधार थाल्न आग्रह गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .