राजनीति


मनिषासँगको फोटो सेयर गर्दै दुर्गा प्रसाईले भने : सोचनीय कुराकानी र अर्थपूर्ण भेट भयो

मनिषासँगको फोटो सेयर गर्दै दुर्गा प्रसाईले भने : सोचनीय कुराकानी र अर्थपूर्ण भेट भयो

नेपालखबर
माघ १४, २०८० आइतबार १४:५३, काठमाडौँ

विभिन्न माग राख्दै अभियान चलाइरहेका दुर्गा प्रसाई र बलिउड अभिनेत्री मनिषा कोइरालाबीच भेट भएको छ।

पछिल्लो समय यो व्यवस्थाले काम नगर्ने भन्दै राजसंस्था फर्काउने अभियान चलाइरहेका प्रसाईले मनिषासँगको फोटो सामाजिक सञ्जालमा हाल्दै 'अर्थपूर्ण भेट' भनेका छन्।

मनिषाले पनि पछिल्लो समय अहिलेको व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै आएकी छन्। उनले शनिबार मात्रै काठमाडौंमा आयोजित एक कार्यक्रममा राजनीतिक मन्तव्य दिइन्। 

कोइरालाले अहिलेको नेपाली नेतृत्व गलत बाटोमा हिँडिरहेको आरोप लगाएकी थिइन्। 'राष्ट्रियताको सन्दर्भमा गणतन्त्रको डेढ दशक' विचार गोष्ठीमा बोल्ने क्रममा उनले अहिले सरकार र नेतृत्व कुन बाटोमा हिँडिरहेको छ भनेर सोच्ने बेला आएको बताएकी थिइन्। 

अहिलेकै बाटो देश अघि बढाउने हो भने गन्तव्य स्पष्ट नहुने पनि उनको जिकिर थियो। वीर नेपाली भनेर चिनिने पहिचान अहिले फरक रूपमा परिणत भइरहेको उनको दाबी थियो। 

अभिनेत्री कोइरालाले आउँदो पुस्तालाई भत्किएको, टुक्रिएको, आपसमा मतभेद राखेर फुटेको नेपाल हस्तान्तरण गर्न लागिरहेको बताएकी थिइन्। 

उता दुर्गा प्रसाईले पनि अहिलेको व्यवस्थाविरुद्ध काठमाडौंमा सर्वसाधारण उरालेर आन्दोलन गरिसकेका छन्। अहिले उनी नेपालको बैंकिङ प्रणालीविरुद्धको अभियानमा छन्। उनले बैंकहरू लुटेर जस्तै भएको बताउँदै किसान र गरिबहरूको ऋण मिनाहा हुनुपर्ने बताइरहेका छन्। 

'नेपालको वर्तमान राजनीतिक परिदृश्यबारे मनिषा कोइरालासँग भर्खरै सोचनीय कुराकानी भयो', उनले आइतबार भनेका छन्, 'उनको 'परिप्रेक्ष' साँच्चै प्रबुद्ध छ। हामीले परिस्थितिको जटिलताहरूमा प्रकाश पार्ने विभिन्न पक्षहरूलाई छोएका छौँ। विचार आदानप्रदान गर्ने अवसरका लागि आभारी छौँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .