राजनीति


एकीकृत समाजवादीले हटायो ७० वर्षे उमेर हद, सबै कमिटी प्रत्यक्ष निर्वाचित हुने

एकीकृत समाजवादीले हटायो ७० वर्षे उमेर हद, सबै कमिटी प्रत्यक्ष निर्वाचित हुने

तस्बिर : नेपालखबर


नेपालखबर
माघ १५, २०८० सोमबार १७:४८, काठमाडौँ

सत्तारुढ नेकपा एकीकृत समाजवादीले पार्टी नेताहरूको उमेर हद हटाएको छ। काठमाडौंमा सोमबार सकिएको दोस्रो केन्द्रीय परिषद् बैठकले यसअघि रहेको ७० वर्षे उमेर हदको प्रावधान हटाएको हो।

यससँगै सम्मानित नेता झलनाथ खनालसहितलाई पार्टीको नेतृत्व लिन अब उमेर हदको तगारो हटेको छ। समाजवादीले यसअघि नै उमेर हद हटाउने गरी अघि बढाएको प्रस्तावलाई परिषद् बैठकले पारित गरेको हो।

यस बैठकले केन्द्रदेखि तल्लो तहसम्मका कमिटीका पदाधिकारी र सदस्यहरू सबै प्रत्यक्ष निर्वाचित हुने व्यवस्थासहित विधान पनि संशोधन गरेको छ। 

पार्टीका उपाध्यक्ष डा.बेदुराम भुसालले अब केन्द्रदेखि तल्लो तहसम्मका सबै कमिटीका पदाधिकारी तथा सदस्यहरू महाधिवेशन वा सम्बन्धित तहका अधिवेशनहरूबाट प्रत्यक्ष निर्वाचित हुने बताए। 

समाजवादीले अब केन्द्रीय कमिटी १९९ जनाको हुने निर्णय पनि गरेकोछ। समाजवादीले केन्द्रीय पदाधिकारीको १९ सदस्यीय हुने पनि जानकारी दिएका छन्। 

समाजवादीले प्रदेश कमिटी ७५ देखि ९९ सदस्यीय बनाउने गरी विधानमा व्यवस्था गरेको छ। प्रदेश कमिटी पदाधिकारी ७ सदस्यीय हुने गरी विधानमा उल्लेख गरिएको छ। 

अब समाजवादीको जिल्ला कमिटी ५५ सदस्यीय हुने भएको छ। जिल्लाका पदाधिकारी पनि ७ जनाको कायम गरिएको छ। 

समाजवादीले १ भन्दा धेरै संघीय निर्वाचन क्षेत्र भएका जिल्लामा भने त्यो संख्या बढ्ने जनाएको छ। त्यस्ता जिल्लाका कमिटीमा महिलाको संख्या निर्वाचन क्षेत्र अनुसार ३ जनाले थपिने भुसालले बताए। 

समाजवादीको गाउँ/नगरपालिका कमिटी ४५ सदस्यीय हुने गरी व्यवस्था गरिएको छ। कुनै पालिकामा ५ भन्दा धेरै वडाहरू भएको अवस्थामा २ जना थप्दै लैजाने गरी विधानमा समाजवादीले व्यवस्था गरेको छ। 

समाजवादीको दोस्रो केन्द्रीय परिषद बैठक यही आइतबार र सोमबार काठमाडौंमा बसेको थियो। बैठकमा अध्यक्ष माधवकुमार नेपालले अहिलेसम्मका उपलब्धि र प्रगतिको फेहरिस्त पनि बैठकमा पेश गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .