राजनीति


मध्यपूर्वमा अशान्ति बढ्दै गए नेपालको अर्थतन्त्र धरापमा पर्छ : केपी ओली

मध्यपूर्वमा अशान्ति बढ्दै गए नेपालको अर्थतन्त्र धरापमा पर्छ : केपी ओली

फाइल तस्बिर


नेपालखबर
माघ २१, २०८० आइतबार १८:१७, काठमाडौँ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पश्चिम एशियाको पछिल्लो तनावग्रस्त राजनीतिक परिस्थितिप्रति चासो व्यक्त गरेका छन्। 

आइतबार नेकपा (एमाले) को परराष्ट्र मामिला विभागले गरेको ‘पश्चिम एशियामा बदलिदो शक्ति समीकरण र विश्व भूराजीतिमा त्यसको प्रभाव’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै ओलीले यस्तो चासो व्यक्त गरेका हुन्। 

पछिल्लो समय पश्चिम एशियाको राजनीतिमा विभिन्न खाले उचारचढाव भइरहेकोप्रति संकेत गर्दै ओलीले अरु देशबारे छलफल र विश्लेषण गर्दा नेपालले अपनाउनु पर्ने कूटनीति र रणनीतिमा पनि सन्तुलित हुनुपर्नेमा जोड दिए।

‘मुख्य गरेर पश्चिम एशियाका विभिन्न देशमा रोजगारीका लागि १२ लाख भन्दा नेपाली पुगेका छन्,’ ओलीले भने, ‘त्यहाँ युद्ध भयो भने उनीहरुको रोजगारी मात्रै खोसिदैँन। उनीहरुको सुरक्षाको कुरा पनि महत्वपूर्ण हुन्छ।  यी विषयमा नेपाल सबै भन्दा चनाखो रहनुपर्छ र त्यसका लागि तयारी अवस्थामा बस्नुपर्छ।’

उनले पश्चिम एशियाली क्षेत्रमा युद्ध सुरु भयो भने भने त्यति धेरै नेपालीलाई तुरुन्त नेपाल फर्काउने स्रोत–साधनको समेत अभाव हुने भन्दै  त्यसका लागि पनि सोच्नुपर्ने बताउनुययो। उनले त्यसका लागि सरकारले तयारी थाल्नुपर्नेमा जोड दिए।

अध्यक्ष ओलीले पश्चिम एशियाका विभिन्न देशमा रोजगारीका लागि गएका युवाहरुको रेमिट्यान्सबाट नेपालको अर्थतन्त्र चलायमान भएको उल्लेख गर्दै त्यहाँको पछिल्लो अस्थिर अवस्थाले नकरात्मक प्रभाव पारेको अवस्थामा नेपालको अर्थतन्त्रसमेत धरापमा पर्न सक्ने उल्लेख गरे।

‘त्यस्तो चुनौतीपूर्ण अवस्थाको आँकलन गर्दै नेपालले कम्तिमा पनि  आफ्नो देशका जनताका लागि प्रयाप्त खाद्यन्न उत्पादन गरी उपयोग गर्ने अवस्था बनाउने गरी कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्छ,’ उनले भने, ‘त्यसका लागि कृषि उत्पादनमा जोड दिनुर्छ।  कुनै पनि बेला हाम्रो देशका नागरिकलाई फिर्ता ल्याउनु पर्ने अवस्था आउनसक्छ। त्यसका लागि हामी सबैले कृषि उत्पादनमा जोड दिनुको विकल्प छैन।’ 

ओलीले गलतलाई गलत र राम्रोलाई राम्रो भन्ने कुटनीति अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन्। 

कार्यक्रममा पूर्वराजदूत डा. नारद भारद्वाजले कार्यपत्र प्रस्तुत गरेका थिए। उनले कार्यपत्र प्रस्तुत गर्दै पश्चिम एशियाको पछिल्लो राजनीतिमा विभिन्न खाले उचारचढाव भइरहेको स्मरण गराए। 

विद्रोही समूह हमासले इजरायलमा आक्रमण गरेयता सुरु भएको युद्धले समग्र मध्यपूर्व क्षेत्रमा एकपछि अर्को गर्दै नयाँनयाँ परिवर्तन देखा पर्न थालेको उल्लेख गरे। 

अमेरिकाले इराक र सिरियामाथि गरेको आक्रमण, पाकिस्तानमा इरानले गरेको आक्रमण र त्यसको बदलामा पाकिस्ताले इरानमा गरेको आक्रमण त्यसका उदाहरण भएको उनले उल्लेख गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .