राजनीति


संसद्‍को हिउँदे अधिवेशन : कस्तो छ प्रमुख प्रतिपक्षी एमालेको तयारी?

ओलीले भने : बोल्नुअघि विषयको राम्ररी अध्ययन गर्नू
संसद्‍को हिउँदे अधिवेशन : कस्तो छ प्रमुख प्रतिपक्षी एमालेको तयारी?

तस्बिर : नेपालखबर


नेपालखबर
माघ २१, २०८० आइतबार १८:३७, काठमाडौँ

संघीय संसद्को हिउँदे अधिवेशन सोमबार (भोलि) देखि बस्दैछ। यसलाई विधेयक अधिवेशनका रुपमा पनि लिइन्छ। यस पटकको अधिवेशनमा सरकारले धेरैभन्दा धेरै बिजनेस दिने तयारी गरेको छ।

त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभागीय मन्त्री र सचिवसँग पटक पटक छलफल गरेका छन्। 

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार पहिलो प्राथमिकतामा राखेर ६३ वटा विधेयक संसद्मा प्रस्तुत गर्ने तयारी छ। 

सरकारले अधिवेशन तयारी तीव्र बनाउँदै गर्दा प्रमुख प्रतिपक्षी नेकपा एमाले पनि रणनीति निर्माणमा जटेको छ। शनिबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सशक्त रुपमा जनताको आवाज उठाउन सांसदहरुलाई निर्देश दिएका छन्।

दुई दिने प्रशिक्षण
एमालेले शनिबार र आइतबार संसदीय दलको बैठक राखेर आफ्ना सांसदहरूलाई प्रशिक्षण गरेको छ। आइतबार पनि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा एमालेले प्रशिक्षण गराएको हो। 

संसद्मा खेल्नुपर्ने भूमिका, बोल्ने तरिका र विषयवस्तुको उठानबारे जानकारी गराउन विज्ञहरूबाट एमालेले सांसदलाई प्रशिक्षण दिएको हो। 

एमाले नेताहरू डा. युवराज खतिवडा, डा. विमला राई पौड्याल र अग्नि खरेलले सांसदहरुलाई प्रशिक्षण दिए।

प्रशिक्षणका क्रममा सांसदहरूले कतिपय संसदीय प्रक्रिया र अभ्यासबारे जिज्ञासा राखेका थिए। प्रशिक्षणपछि अध्यक्ष ओलीले प्रभावकारी रुपमा संसद्मा प्रस्तुत हुन निर्देशन दिएका छन्। 

एमाले सचेक महेश बर्तौलाका अनुसार ओलीले निर्देशनका क्रममा सबै सांसदलाई संसद्मा प्रभावकारी भूमिका खेल्न निर्देशन दिएका छन्।

‘संघीय निजामती र प्रहरी ऐg चाँडो ल्याउन भूमिका खेल्नुहोस्', उनले सांसदहरूलाई भने, 'न‍ेपालबाट युवाहरू विदेशिने क्रम जारी छ। युवामा पनि आशा पलाउने गरी संसद्‍मा बोल्नु होस्।'

जथाभावी नबोल्नू, लिखित नोट बोक्नू
अध्यक्ष ओलीले आफ्ना सांसदहरूलाई सरकारले गरेका बेथितिविरुद्ध खोजी–खोजी आवाज उठाउन निर्देशन दिएका छन्। 

सत्ताबाट हुनसक्ने दुरुपयोग रोक्न भूमिका खेल्नुपर्ने बताउँदै उनले सांसदहरूलाई अध्ययन गरेर मात्रै तथ्यबारे बोल्न आग्रह गरे। 

‘जथाभावी कसैले बोल्नु हुँदैन, तर बेथिति रोक्न लाग्नैपर्छ। सत्ताको दुरुपयोग हुनबाट रोक्नुपर्छ। हाम्रो भूमिका प्रभावकारी हुनुपर्छ,’ ओलीले निर्देश गर्दै भने, ‘कुनै घटना आउँछ भने त्यो घटनाको सम्बन्धमा गहिरो अध्ययन गर्नुस्, लिडरसिपलाई त्यससम्बन्धी तथ्य खोज्नुस्।’

संसद्मा बोल्ने सांसदहरूले अध्ययन र तयारीका साथ बोल्नुपर्ने विषयलाई लिएरमात्रै संसद् बैठकमा उपस्थित हुन भनेका छन्। 

‘हाम्रो भूमिका अत्यन्त सशक्त र प्रभावकारी। अध्ययन र तयारीसाथ बोल्नुपर्छ। भरसक लिखित नोटका साथ बोल्ने अभ्यास गर्नू,’ ओलीले भने। 

उनले संसद्को अगाडितर्फ बस्ने सांसदले अन्यलाई पनि लिड गर्नुपर्ने बताएका छन्। ‘फ्रन्ट सिटमा बस्नेले साथीहरूले दायित्व पूरा गर्नुभएको छैन। फ्रन्ट सिटमा बस्ने भनेको लिड गर्ने हो। समसामयिक विषयमा हात उठाउने, बोल्ने र गाइड गर्ने हो,’ ओलीले भने।

उनले संसद् बैठकमा गयल नहुनसमेत सांसदहरूलाई आग्रह गरेका छन्।

आगामी संसद्लाई विधेयक अधिवेशनको रुपमा लिइने भएकाले विषयवस्तुको गहिरो अध्ययन गरेर मात्रै बोल्ने सांसदहरूले बताएका छन्। 
एमाले नेता रघुजी पन्तका अनुसार यो अधिवेशनमा एमालेको भूमिका प्रभावकारी हुनेछ। 

‘भोलि (सोमबार) त औपचारिक बैठक मात्रै हुन्छ,’ उनले नेपालखबरसँग भने, ‘त्यसपछिका बैठकमा हामी हाम्रो प्रस्तुति बलियो बनाउँछौँ।’

संसद्को हिउँदे अधिवेशन सोमबार अपरान्ह ४ बजेबाट सुरु हुँदैछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .