राजनीति


दुबईबाट फर्किन नपाउँदै गुम्यो भण्डारीको मन्त्री पद

दुबईबाट फर्किन नपाउँदै गुम्यो भण्डारीको मन्त्री पद

फाइल तस्बिर


नेपालखबर
फागुन २१, २०८० सोमबार १३:५१, काठमाडौँ

नेपाल सरकारका एकजना मन्त्री यतिबेला विदेश यात्रामा छन्।

यी मन्त्री विदेश यात्रामै रहेका बेला यता नेपालमा भने सत्ता समीकरण परिवर्तन भएको छ।

यो सत्ता समीकरणको परिवर्तनका कारण दुबई भ्रमणमा रहेका श्रममन्त्री शरतसिंह भण्डारीले देश नफर्किँदै पद गुमाएका छन्। भण्डारी महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीबाट मन्त्री बनेका थिए।

तर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीसँगको साताभन्दा लामो संवादपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरण फेर्ने निर्णय गरेका छन्।

यो अवस्थामा कांग्रेसको सोमबार बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले प्रतिपक्षमा बस्ने निर्णय गरिसकेको छ।

बूढानीलकण्ठ बैठकपछि कांग्रेसबाट रहेका सबै १० मन्त्रीले प्रधानमन्त्री प्रचण्डलाई आजै राजीनामा बुझाउँदैछन्।

उता लोसपालाई नयाँ सत्ता समीकरणमा ल्याउने टुंगो भइसकेको छैन। प्रचण्ड र एमाले अध्यक्ष ओली अहिले जनता समाजवादी पार्टीसँग संवादमा छन्। जसपाबाट उपेन्द्र यादव मन्त्री बन्न तयार छन्। तर लोसपासँग दुई नेताको संवाद अघि बढेको छैन।

यस्तो अवस्थामा यूएईमा भइरहेको दुबई रोजगार मेलामा सहभागी हुन १९ फागुनमा गएका श्रममन्त्री शरतसिंह भण्डारीको पद नेपाल फर्किन नपाउँदै खुस्किएको छ।

उनी श्रमसचिव केवल प्रसाद भण्डारी, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा द्वारिका उप्रेती, विभिन्न सञ्चार माध्यमका पत्रकारुसहितको जम्बो टोली लिएर दुबई भ्रमणमा निस्किएका थिए।

दुबईमा श्रममन्त्री भण्डारी

वैदेशिक रोजगार व्यवसायी संघको आयोजनामा दुबईको होटल जे डब्लु मेरिएट मरिनामा आयोजना भएको रोजगार मेलामा उनले सम्बोधन पनि गर्ने कार्यक्रम थियो।

यसैबीच सत्ता गठबन्धमा फेरबदलकै कारण परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदको फिनल्याण्ड भ्रमण रद्द भएको छ। 

फिनल्याण्डको हेल्सिन्कीमा हुन लागेको संयुक्त राष्ट्रसंघीय अल्पविकसित राष्ट्रहरूको दोस्रो ‘फ्युचर फोरम’मा सहभागी हुने तयारीमा रहेका साउदको भ्रमण अन्तिम समयमा रद्द भएको हो। 

सत्ता गठबन्धनमा हेरफेर हुने निश्चित भएपछि प्रधानमन्त्री प्रचण्डले साउदको भ्रमण रोकिदिएका थिए। साउदको भ्रमण रोकिएको भोलिपल्ट सोमबार कांग्रेस सत्ता गठबन्धनबाट बाहिरिँदा एमाले एक वर्षपछि फर्किएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .