राजनीति


विष्णु पौडेल सरकारमा नजाने, गृहमा रविकै अडान

विष्णु पौडेल सरकारमा नजाने, गृहमा रविकै अडान

नेपालखबर
फागुन २२, २०८० मंगलबार १०:३२, काठमाडौँ

एमालेले अर्थमन्त्री नपाउने भएपछि उपाध्यक्ष विष्णु पौडेल सरकारमा नजाने भएका छन्। 

एमाले, माओवादीसहितको नयाँ गठबन्धन निर्माणमा भूमिका खेल्दै आएका भए पनि पौडेलले अर्थमन्त्री पाउने सम्भावना नरहेको स्रोतले जनाएको छ। 

अर्थमन्त्री एमालेले नपाउने भएपछि पौडेलले अरु मन्त्रालय लिएर सरकारमा जान चाहेका छैनन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थ मन्त्रालय आफूसँगै राख्न चाहेपछि विष्णु पौडेल सरकारमा नजाने भएका हुन्। 

प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री आफ्नै पार्टीका उपमहासचिव वर्षमान पुन अनन्तलाई बनाउन खोजेका छन्। अर्थमन्त्री पुन नै बन्ने सम्भावना बलियो छ। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गृह मन्त्रालयमा दाबी गरिरहेका छन्। शीर्ष नेतासँगको छलफलमा उनले गृह आफ्नो ‘बटमलाइन’ भएको बताउँदै आएका छन्। 

‘गृह रविले नै पाउने सम्भावना छ,’ स्रोतले भन्यो, ‘एमाले अध्यक्ष केपी शर्मा ओली पनि प्रधानमन्त्रीलाई अनुकूल हुनेगरी मन्त्रालय टुंगो लगाउन दिने पक्षमा छन्। गृह हामीले पाउनु पर्छ भनेर रस्साकस्सी गर्ने पक्षमा ओली छैनन्।’

यसले अर्थ र गृह दुबै मन्त्रालय एमालेको भागमा नपर्ने सम्भावना छ। 

‘अर्थबाहेक यसअघि कांग्रेसले लिएका मन्त्रालय एमालेले लिनेछ। यसअघि माओवादीले लिएका मन्त्रालय माओवादीले नै लिने गरी नेताहरुबीच सहमति भएको छ। भोलिसम्म यसको फाइनल होला,’ स्रोतले भन्यो।   

एमालेबाट पदम गिरीले सोमबारै मन्त्रीको सपथ लिएका छन्। अब एमालेबाट राजेन्द्र राई, भगवती चौधरी, दामोदर भण्डारी, हरि उप्रेती,  ज्वाला कुमारी साह लगायतका नेता मन्त्री हुने सम्भावना छ। 

नयाँ गठबन्धनमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि ल्याउन नेताहरुले गृहकार्य गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .