राजनीति


अहिलेको सरकार चीनले होइन, हामीले बनाएका हौँ : केपी ओली

अहिलेको सरकार चीनले होइन, हामीले बनाएका हौँ : केपी ओली

तस्बिर : नेपालखबर


नेपालखबर
चैत १, २०८० बिहिबार १८:४, कञ्चनपुर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारबाट बाहिरिएपछि नेपाली कांग्रेसलाई पिर परेको टिप्पणी गरेका छन्। 

नेकपा एमाले कञ्चनपुरको जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले कांग्रेसलाई पिर पर्यो भन्दैमा आफूहरू देश बनाउने विषयमा पछाडि नहट्ने उल्लेख गरे। 

राष्ट्रियता कमजोर भएपछि लामो छलफलबाट फागुन २१ गते राजनीतिक समिकरण फेरिएको ओलीले बताए। 

‘एकदम ठूलो षड्यन्त्र केही थिएन। कुनै योजना पनि थिएन। एक रातमै सरकार पल्टायो भन्छन्। अनि के एक रातमा सरकार पल्टाउन नहुने हो? एक रातमा पल्टाए पनि एक छिनमा पल्टाए पनि! अघिल्लो गठबन्धन भत्काउनै पर्ने थियो’, उनले थपे, ‘मैले त अघि नै भनेको थिएँ। गठबन्धन खरानीको डल्लो हो। सुके पनि फुट्छ, पानी परे पनि फुट्छ।’

अहिलेको समीकरण त्यस्तो कच्चा नहुने र टिकाउने ओलीले बताए। चीनले सरकार बनायो भन्ने भ्रम छरेर नेपालीको अपमान नगर्न उनले आग्रह गरे।

‘यो समीकरण हामीले बनाएका हौँ। नेपालीले बनाएका हौँ। अरु कसैको इच्छा, आकांक्षाको बलले होइन्,’ उनले भने, ‘चीन आएर बनाइदियो भनेर हाम्रो अपमान गर्ने काम कृपया नगरिदिनुस्। यतिका काम गर्न चीन-अमेरिका चाहिँदैन। हामी आफैँ गर्न सक्छौँ।’

कांग्रेसलाई सरकारबाट बाहिर निकाल्नु कुनै ठूलो कुरा नभएको ओलीको भनाइ थियो। नेकपा एमाले अहिले संयुक्त सरकारमा सामेल रहेकाले ‘डेलिभरी’ दिने उनले दाबी गरे।

‘यो अस्तिजस्तो सरकार होइन। अहिले संयुक्त सरकार छ। हामी डेलिभरी दिन्छौँ’, ओलीले भने। 

एमाले सम्मिलित वर्तमान सरकारले मिटर ब्याजपीडित र आरती साहका परिवारसँग सहमति गरेर समस्या समाधानको सुरुवात गरेको उनले बताए।

शेरबहादुर देउवा ५ पटक प्रधानमन्त्री हुँदा पनि देखिने गरी एउटा काम गर्न नसकेको उनको आरोप छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .