राजनीति


मन्त्रीको लोभमा पर्दा मनाङेको सांसद पद धरापमा

मन्त्रीको लोभमा पर्दा मनाङेको सांसद पद धरापमा

नेपालखबर
चैत ५, २०८० सोमबार १८:१६, काठमाडौँ

नेकपा एकीकृत समाजवादी पार्टी त्यागेर गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएका दीपक मनाङे उर्फ राजीव गुरुङको सांसद पद भने धरापमा पर्ने देखिएको छ।

राजनीतिक दलसम्बन्धी कानुनले कुनै पनि दलमा आबद्ध भइसकेपछि त्यो दल त्यागेमा सांसद पदबाट मुक्त हुन सक्ने व्यवस्था गरेको छ। 

राजनीतिक दलसम्बन्धी ऐनको दफा २९ मा लेखिएको छ, ‘कुनै दलको उम्मेदवार नभई स्वतन्त्ररूपमा संघीय संसद वा प्रदेश सभामा निर्वाचित भएको व्यक्तिले कुनै दलको सदस्यता लिएमा निज स्वतः त्यस्तो दलको संसदीय दलको सदस्य हुनेछ।’

मनाङे २०७९ को प्रदेश सभा निर्वाचन मनाङ (ख) बाट निर्विरोध निर्वाचित भएका थिए। तर सत्ता फेरबदल चलिरहँदा उनी २०७९ मंसिर १९ गते नेकपा एकीकृत समाजवादी रोजेका थिए।

तर उनले आइतबार एकीकृत समाजवादी त्यागेको भन्दै स्वतन्त्र सांसदको हैसियतमा फर्काइदिन संसद् सचिवालयमा निवेदन दिए र भोलिपल्टै मन्त्री नियुक्त भए।

केन्द्र सरकारमा भइरहेको गठबन्धन फेरबदलको असर गण्डकीमा पनि परेर अस्थिरता सिर्जना हुन नदिन आफूले समाजवादी छाडेर स्वतन्त्र भएको उनले बताएका थिए। 

फागुन २१ गते बनेको नयाँ गठबन्धनका दलहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्रले अहिलेको अवस्थामा गण्डकीमा सरकार बनाउन सहज नभएका बेला मनाङे कांग्रेसतिर मिसिएका हुन्। 

नयाँ गठबन्धनले बहुमत जुटाउन नसकेपछि मुख्यमन्त्री पाण्डेले मनाङेलाई तानेका हुन्। 

तर, मनाङेले उनको सत्ताको भरथेग गर्छन् कि गर्दैनन् भन्ने प्रश्नकै घेरामा छ।

ऐनको दफा ३४ मा संघीय संसद वा प्रदेश सभाको सदस्य रहेको दलको सदस्यले दल त्याग गरेमा वा दलले निष्कासन गरेमा त्यसको सूचना संसदीय दलले सभाको सचिवालयमा दिने र सभाध्यक्षले पदमुक्त भएको सूचना जारी गर्ने उल्लेख गरिएको छ।

एकीकृत समाजवादीले मनाङेले दल त्याग गरेको सूचना सभामा दिएमा जुनसुकै बेला उनको पद रिक्त हुन सक्छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .