आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनको उम्मेदवार घोषणा गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जाने भएका छन्।
उम्मेदवारीका लागि निवेदन आह्वान गरेको रास्वपाले आवेदन मागेको छ। आवेदकहरूमध्येबाट एकजनालाई उम्मेदवारका रुपमा घोषणा गर्न लामिछाने चैत १७ गते इलाम पुग्ने भएका हुन्।
उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछाने आफैँ इलाममा उत्रिएर पार्टीको पक्षमा माहोल बनाउन लागेका हुन्।
रास्वपा इलाम जिल्ला कमिटीले लामिछाने आउन लागेको जानकारी दिएको छ। रास्वपाले चैत ६ देखि चैत १४ गते दिउँसो १ बजेसम्म इलाम २ मा उम्मेदवारका आकांक्षीको आवेदन मागेको छ।
रास्वपा सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले सभापति लामिछानेले उम्मेदवार घोषणासँगै पार्टीका सहयोगी र शुभचिन्तकलाई पनि इलाम पुगेर भेट्ने बताए। तर इलाम पुगेर सभा गर्ने नगर्ने टुंगो नभएको उनले बताए।
निर्वाचन आयोगले उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ। चैत १४ देखि चैत २४ गतेसम्म उम्मेदवारी मनोनयन दर्ता तोकिएको छ।
रास्वपाले यसअघि नै आफ्ना ६ जना सांसदलाई इलाममा उतारेर त्यहाँको अवस्था बुझेको छ। इलाम पुगेका सांसदहरूसँग त्यहाँका मतदाताले स्थानीय उम्मेदवार नै चाहिने बताएका थिए।
Shares
प्रतिक्रिया