राजनीति


इलाम २ उपनिर्वाचन : माओवादीबाट धिरेन शर्माको नाम सिफारिस

इलाम २ उपनिर्वाचन : माओवादीबाट धिरेन शर्माको नाम सिफारिस

फाइल तस्बिर


नेपालखबर
चैत १९, २०८० सोमबार १७:४, काठमाडौँ

इलाम क्षेत्र नम्बर २ मा वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि उम्मेदवारका रूपमा नेकपा माओवादी केन्द्र जिल्ला कमिटीले एकजनाको मात्रै नाम सिफारिस गरेको छ।

माओवादीले यसअघि उम्मेदवारका लागि ४ जनाको नाम सिफारिस गरेको थियो। तर पार्टी केन्द्रको निर्देशनअनुसार धिरेन शर्मा 'रमण'को मात्रै नाम सिफारिस भएको हो। 

जिल्ला समितिले शर्मालाई एकल उम्मेदवारका रुपमा प्रदेशमा सिफारिस गरेको हो।

माओवादीले गत चैत १३ गते केन्द्रीय सदस्य शर्मा तथा प्रदेश कमिटी सदस्यहरू उर्मिला तामाङ, अनिल बराइली र ओम गुरुङको नाम उम्मेदवारका रूपमा प्रदेश कमिटीमा सिफारिस गरेको थियो।

जिल्लाले पठाएको एकल नाम प्रदेशबाट सोमबार नै केन्द्रमा सिफारिस गरिने भएको छ।

वैशाख १५ गते हुने उप निर्वाचनमा माओवादीले अहिलेसम्म उम्मेदवार घोषणा गर्न सकेको थिएन। उता प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि उम्मेदवार टुङ्गो गरेको छैन। 

कांग्रेसबाट उम्मेदवारका लागि महासमिति सदस्य भेषराज आचार्य, पूर्व सांसद केशव थापा, जिल्ला सभापति डम्बर खड्का, संविधानसभा सदस्य नगेन्द्र कुमाल, नेता रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम सिफारिस भइसकेको छ।

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो। निर्वाचनमा एमालेबाट सुहाङ नेम्वाङ मैदानमा छन्। उनी सुवास पुत्र हुन्। 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, पहिचानवादीका तर्फबाट डाकेन्द्र सिंह थेगिम, राप्रपाबाट लक्ष्मी गुरुङ, जनमतबाट प्रेमदीप किरात र एकीकृत समाजवादीबाट जितबहादुर राई उम्मेदवार छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .