राजनीति


सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

फाइल तस्बिर


गोकुल जोशी
चैत २२, २०८० बिहिबार १८:४५, कञ्चनपुर

सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले पदबाट राजीनामा दिएका छन्। बिहीबार बेलुका सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँलाई मुख्यमन्त्री शाहले राजीनामा बुझाएका हुन।

गत वर्षको माघ २६ गते संविधानको धारा १६८ को उपधारा ३ बमोजिम संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा नेपाली कांग्रेसका शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए। 

सत्ता गठबन्धन फेरबदलका कारण १४ महिनामा शाह नेतृत्वको सुदूरपश्चिम सरकार ढलेको हो। 

२१ फागुनमा सत्ता गठबन्धन फेरबदल भएपछि तत्कालीन सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि अल्पमत परेका मुख्यमन्त्री शाहले सत्ता जोगाउनका लागि एक महिना निकै कसरत गरे। 

सरकार जोगाउनैका लागि नाउपाका ७ मध्ये ५ जनालाई मन्त्री बनाएका थिए। बिहीबारको प्रदेश सभा बैठकमा विश्वासको मत लिने तयारी गरेका शाहले नाउपाको विवादकै कारण संसद फेस गर्न सकेनन्। 

तर सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीभित्र संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठको विवादले रञ्जिता निकट २ सांसदले विश्वासको मत नदिने भएपछि विश्वासको मत नलिएरै मुख्यमन्त्री शाहले राजीनामा दिएका हुन्।

रञ्जितानिकट नाउपाका सांसद्धय कैलाश चौधरी र टीका थापा संघीय राजधानी काठमाडौँमा छन्। 

निर्वाचन आयोगले नाउपाको अध्यक्षमा रेशमलाई अयोग्य ठहर गरेर रञ्जितालाई फर्काएपछि गठबन्धनका विषयमा उनीहरुबीच उत्पन्न मतभेदले नाउपा फुटको डिलमा छ।

नाउपाकी अध्यक्ष रञ्जिताले मुख्यमन्त्री शाहको विश्वासको मतको विपक्षमा मतदान गर्न सांसदर्ला ह्वीप लगाएका थिइन्। नाउपा सुदूरपश्चिम संसदीय दलले अनिवार्य उपस्थित भएर विश्वासको मतको पक्षमा मतदान गर्न र तटस्थ नबस्न ह्वीप लगाएको थियो।

नाउपाका सांसदद्वय चौधरी र थापा संसदीय दलको ह्वीपको विपक्षमा उभिएका हुन। मुख्यमन्त्री शाहले राजीनामा दिएसँगै अब सुदूरपश्चिममा नयाँ सरकार गठनको ढोका खुलेको छ।

बिहीबार नै विश्वासको मत लिन सक्ने अवस्था नभएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले पनि राजीनामा दिएका छन्। लुम्बिनी र सुदूरपश्चिमका मुख्यमन्त्रीहरू कांग्रेसबाट निर्वाचित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .