ad ad

राजनीति


हिउँदे अधिवेशनमा प्रतिनिधि सभाः २३ दिनमा ८२ घण्टा बैठक, यस्तो छ कामको फेहरिस्त

हिउँदे अधिवेशनमा प्रतिनिधि सभाः २३ दिनमा ८२ घण्टा बैठक, यस्तो छ कामको फेहरिस्त

नेपालखबर
बैशाख २, २०८१ आइतबार १३:३५, काठमाडौँ

प्रतिनिधि सभाको चालु अधिवेशन आज राति १२ बजे अन्त्य हुने भएको छ।

संसद सचिवालयका अनुसार, गत माघ २२ गते सोमबारदेखि प्रारम्भ भई आज वैशाख २ गतेसम्म २३ दिनमा २३ पटक गरी कुल ८१ घण्टा ५५ मिनेट बैठक बसी संसदीय काम कारबाही भएको थियो।

यस अवधिमा गत फागुन ६ गते र चैत ६ गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर भयो। त्यस क्रममा २६ सांसदले सोधेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिएका थिए।

त्यस्तै सभाको पहिलो बैठकमा पेस भएको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८०’ लाई गत फागुन ६ गतेको सभाको बैठकले स्वीकृत गरेको थियो।

सभाको पहिलो बैठकमा मन्त्रिपरिषद्को निर्णयबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम संक्रमणकालीन न्यायसम्बन्धी २ वटा आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश पेस भएको थियो।

गत फागुन ३० गतेको बैठकमा प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न राखेको प्रस्ताव प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित भएको थियो।

सभाको दोस्रो अधिवेशनबाट यस अधिवेशनमा प्राप्त दुईवटा सन्धि सम्झौतामध्ये ‘बिमस्टेक बडापत्र’लाई गत चैत २० गतेको बैठकले अनुमोदन गरेको थियो भने ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धको स्थापनासँग सम्बन्धित सम्झौता’माथिको सामान्य छलफल सम्पन्न भएको थियो।

त्यसैगरी गत फागनु १४ गतेको बैठकमा पेस भएको आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि चैत १, ५, ६ र ७ गते छलफल गरिएको थियो।

यस अधिवेशनमा प्रतिनिधि सभामा पाँचवटा सरकारी विधेयक दर्ता भएका थिए। जसमध्ये ‘निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८०’, समितिमा विचाराधीन रहेको छ. ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ माथिको सामान्य छलफल सकिएको छ। ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’ र ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८०’ सभामा प्रस्तुत भएका छन्। ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८०’ दर्ता मात्रको स्थितिमा रहेको छ।

साथै सभामा उत्पत्ति भएको ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक’ माथि राष्ट्रिय सभाबाट गरिएको संशोधनलाई यस प्रतिनिधि सभाले स्वीकार गरी पारित गरेको छ।

यस अधिवेशनमा राष्ट्रिय सभामा उत्पत्ति भएका तीनवटा सरकारी र एउटा गैरसरकारी विधेयक प्रतिनिधि सभामा प्राप्त भएका थिए। जसमध्ये ‘विद्युतीय व्यापार विधेयक, २०८०’ माथिको सामान्य छलफल समाप्त भएको छ भने बाँकी तीनवटा विधेयक सभामा प्रस्तुत गरिएका छन्।

त्यस्तै सभाको पहिलो र दोस्रो अधिवेशनमा राष्ट्रिय सभाबाट प्राप्त आठवटा विधेयकमध्ये ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६’ र ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७’ सभाबाट पारित भएका छन्। बाँकी ६ वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन छन्।

यसरी सभाबाट यो अधिवेशनमा कुल तीन विधेयक पारित भएका छन्। प्रतिनिधि सभाको चालु अधिवेशनमा सदस्यबाट दर्ता हुन आएका विभिन्न मन्त्रालयसँग सम्बन्धित ६५ वटा मौखिक र ८ वटा लिखित प्रश्नमध्ये ३२ वटा मौखिक र दुईवटा लिखित प्रश्नको उत्तर प्राप्त भएकामा सभाको गत चैत २० गतेको बैठकमा ६ वटा मौखिक प्रश्नको सम्बन्धित मन्त्रीबाट उत्तर दिने कार्य सम्पन्न भयो।

यस अधिवेशनमा प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको ‘महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन, २०८०’ पेस भयो।

सभाको यस अधिवेशनमा प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारी र संविधान सभा सदस्य केशवकुमार बुढाथोकीको निधन भएकामा शोक प्रस्ताव पारित भए।

विभिन्न बैठकको आकस्मिक, शून्य र विशेष समयमा सभाका सदस्यले समसामयिक एवं जिल्लामा घटित विभिन्न घटनाका सम्बन्धमा सरकार एवं सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका थिए।

यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहालले दुईपटक, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले दुईपटक र तत्कालीन खानेपानीमन्त्री महीन्द्रराय यादव एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले एकपटक आकस्मिक, शून्य एवं विशेष समयमा उठेका प्रश्नको सम्बन्धमा जवाफ दिएका थिए।

पछिल्ला दिनमा भने प्रतिपक्षी नेपाली कांग्रेसको लगातारको अवरोधले संसद चल्न सकेको थिएन।

शुक्रबार मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .