राजनीति


मोहनविक्रम सिंह १६औँ पटक होइन, नौ पटक महामन्त्री निर्वाचित : मसाल प्रवक्ता पुरी

मोहनविक्रम सिंह १६औँ पटक होइन, नौ पटक महामन्त्री निर्वाचित : मसाल प्रवक्ता पुरी

नेपालखबर
बैशाख २, २०८१ आइतबार १५:०, काठमाडौँ

नेकपा (मसाल) ले महामन्त्री मोहनविक्रम सिंह नौ पटक महामन्त्री बनेको स्पष्ट पारेको छ।

नेपालखबरमा प्रकाशित  ‘५० वर्ष भूमिगत राजनीति, ९० वर्षमा सोह्रौँपटक महामन्त्री’ शीर्षकमा प्रकाशित समाचारले दिग्भ्रमित पारेको भन्दै मसालले स्पष्टीकरण दिएको छ।

प्रवक्ता रामप्रकाश पुरीले आइतबार प्रेशित गरेको स्पष्टीकरणमा ‘विभिन्न अवस्था र परिस्थितिबाट उहाँ ९ पटक महामन्त्रीमा निर्वाचित भएको स्पष्ट छ। तर १६ पटक महामन्त्री बनेको कुरा सत्य होइन’ भनेका छन्।

यस्तो छ, स्पष्टीकरण
नेपालखबर अनलाइन पत्रिकामा २०८० चैत्र ३० गते प्रकाशित ‘५० वर्ष भूमिगत राजनीति, ९० वर्षमा सोह्रौँपटक महामन्त्री’ शीर्षकमा एक सामग्री प्रकाशित भएको छ। सामग्री प्रकाशित गर्नुभएकोमा हामीले उहाँहरुको सम्मान गर्दछौँ तर उक्त सामग्रीको शीर्षकबाट हाम्रो पार्टीका महामन्त्री कामरेड मोहनविक्रम सिंहबारे कतिपय दिग्भ्रम पैदा भएकोले स्पष्टताको लागि यो स्पष्टीकरण जारी गरिएको छ।

का. मोहनविक्रम सिंह २०३१ सालमा सम्पन्न चौथो महाधिवेशनमा पहिलोपटक महामन्त्रीमा निर्वाचित हुनुभएको थियो। त्यसपछि २०४२ सालमा पार्टीमा फुट भएपछि सोही वर्षको मंसीरमा सम्पन्न चौथो राष्ट्रिय सम्मेलनबाट महामन्त्रीमा निर्वाचित हुनुभएको थियो। त्यसपछि उहाँ २०४८ मा सम्पन्न पार्टीको छैठौँ राष्ट्रिय सम्मेलन र २०५१ मा सम्पन्न छैठौँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित हुनुभएको थियो।

तत्पश्चात तत्कालीन नेकपा (एकता केन्द्र) र हाम्रो पार्टी नेकपा (मसाल) बीच पार्टी एकता भई बनेको नेकपा (एकताकेन्द्र–मसाल) को महामन्त्रीमा निर्वाचित हुनुभएको थियो। पछि तत्कालीन एकताकेन्द्र–मसालमा फुट भइसकेपछि २०६३ कार्तिकमा सम्पन्न एक राष्ट्रिय भेलाबाट पुनः महामन्त्रीमा निर्वाचित हुनुभएको थियो। तत्पश्चात सातौँ, आठौँ र नवौँ महाधिवेशनबाट उहाँ महामन्त्रीमा निर्वाचित हुनुभएको थियो। यसरी विभिन्न अवस्था र परिस्थितिबाट उहाँ ९ पटक महामन्त्रीमा निर्वाचित भएको स्पष्ट छ। तर १६ पटक महामन्त्री बनेको कुरा सत्य होइन। त्यसरी उक्त समाचारमा दिइएको त्यस प्रकारको भ्रमपूर्ण सम्प्रेषणप्रति हामीले दुःख व्यक्त गर्दछौँ।

उक्त सामग्रीमा कतिपय सन्दर्भमा कामरेड मोहनविक्रम सिंहको व्यक्तित्वको अभिव्यक्तिसित नसुहाउने खालका अराजनीतिक र अशिष्ट शब्द पनि प्रयोगमा ल्याइएका छन्।

अराजनीतिक र अशिष्ट प्रकारले कामरेड मोहनविक्रम सिंहले कुनै राजनीतिक संगठन, व्यक्ति वा कुनै पनि पक्षलाई आरोपित गर्ने प्रश्न नै हुँदैन। त्यसैले ‘मोहनविक्रम सिंहले बताएको’ भनी उक्त सामग्रीमा उल्लेख गरिएका कतिपय अराजनीतिक र अशिष्ट भाषिकताप्रति हामीले दुःख व्यक्त गर्न चाहन्छौँ।

२०८१ वैशाख ०२ गते
रामप्रकाश पुरी
प्रवक्ता

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .