ad ad

राजनीति


एमालेका मन्त्रीहरूलाई प्रचण्डले भने– अहिलेलाई यस्तै भयो, कुनै दिन मिल्नुपर्छ

एमालेका मन्त्रीहरूलाई प्रचण्डले भने– अहिलेलाई यस्तै भयो, कुनै दिन मिल्नुपर्छ

सागर न्यौपाने
असार १९, २०८१ बुधबार २१:४१, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेबाट राजीनामा बुझाउन बालुवाटार पुगेका मन्त्रीहरूलाई कुनैदिन सहकार्य हुनसक्ने बताएका छन्। 

बुधबार साँझ एमालेका मन्त्रीहरूको राजीनामा बुझेपछि प्रचण्डले अहिलेसम्मको सहकार्यका लागि ‘धन्यवाद’ दिए। 

खानेपानीमन्त्री राजेन्द्र राईले बालुवाटारमा प्रचण्डले भनेको भनाइ उद्द्धृत गर्दै भने, ‘सहकार्य राम्रोसाथ गरियो। अहिलेको परिस्थिति त्यस्तै भयो, कुनैदिन मिलेर जानुपर्छ भन्नुभयो।’

प्रधानमन्त्री प्रचण्डले गायक फत्तेमान राजभण्डारीको गीतका केही हरफ सुनाएका थिए।

‘एउटा मात्रै कुरा भन्छु’ भन्दै प्रधानमन्त्रीले ‘यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले, कसैलाई माया गर्नु एउटा भूल गरेँ मैले’ बोलको गीत गाएको उनले नेपालखबरलाई बताए।

७८ सिट रहेको एमालेले आफ्ना मन्त्री फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्ड अल्पमतमा परेका छन् ।

शनिबार (असार १५ गते) एमाले- कांग्रेसले सत्ता सहकार्य गर्ने गरी समझदारी जुटाएका थिए।

त्यसपछि असार १७ गते मध्यराति सवा १२ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने समझदारी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा र ओलीले हस्ताक्षर गरेका छन् ।

एमालेले समर्थन फिर्ता लिए पनि प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत लिन पाउनेछन्। 

त्यसका लागि उनलाई एक महिनाको समयसीमा छ । साउन १८ सम्म उनले प्रतिनिधि सभामा विश्वासको मत लिइसक्नुपर्नेछ। 

यदि संसदमा विश्वासको मत नपाए प्रचण्ड सरकार सम्भवतः ढल्नेछ र राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको आह्वान गर्नेछन्।

प्रधानमन्त्री प्रचण्डले फेरि सहकार्य हुनसक्ने बताउनुले एक महिनाको अवधिमा नेपाली राजनीतिले नयाँ कोर्स लिने अनुमान भइरहेको छ। 

यद्यपि, संसदको सबैभन्दा ठूलो दल कांग्रेस (८८) र दोस्रो ठूलो दल एमाले (७८) एकैठाउँमा उभिएपछि झण्डै दुई तिहाइको सरकार बन्नेछ।

कांग्रेस-एमाले सहमतिअनुसार संविधान संशोधन गर्दै निर्वाचन प्रणाली परिवर्तन गर्ने योजना छ ।

नेपालको संविधान २०७२ अनुसार प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली छ। 

जसअनुसार प्रत्यक्षमा देशभर १६५ निर्वाचन क्षेत्र कायम गरिएको छ। समानुपातिकतर्फ भने कुनै दलले देशभर पाएको मतअनुसार ११० सिट बाँडफाट हुनेछ। 

कांग्रेस र एमालेले भने समानुपातिक प्रणालीकै कारण कुनै दलले बहुमत ल्याउन नसकेको निष्कर्ष निकाल्दै संविधान संशोधन गर्ने भित्री सहमति गरेका छन्।

तर संविधान संशोधनमै अघि बढ्न भने अन्य दलको समर्थन पनि आवश्यक हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .