ad ad

राजनीति


महामन्त्रीबाट निलम्बनपछि मुकुलको त्रास- अब उहाँले मेरो चरित्र हत्या हुने हल्ला फैलाउनुहुन्छ

‘२ वर्षदेखि सभापतिको कुरालाई किन गलत भनिनस् भनेर सोधिन्छ’
महामन्त्रीबाट निलम्बनपछि मुकुलको त्रास- अब उहाँले मेरो चरित्र हत्या हुने हल्ला फैलाउनुहुन्छ

नेपालखबर
असार २०, २०८१ बिहिबार ७:३५, काठमाडौँ

डा. मुकुल ढकालले जनताको कुरा जस्ताको तस्तै बोल्दा आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदबाट निलम्बन गरिएको गुनासो गरेका छन्। 

बुधबार बसेको केन्द्रीय समितिको बैठकपछि रास्वपाले पार्टी अनुशानविपरीत व्यवहार गरेको आरोपमा डा. ढकाललाई महामन्त्री पदबाट ७ दिनका लागि निलम्बन गरेको छ। 

निलम्बन पत्र बुझेपछि डा. ढकालले बुधबार राति सामाजिक सञ्जालमा स्टाटस लेख्दै जनताको आवाज बोल्दा आफूलाई कारबाही गरिएको जिकिर गरेका हुन्।

यसमा उनले खासगरी उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका पार्टी सभापति रवि लामिछानेप्रति रोष प्रकट गरेका छन्। 

‘बालहठ जस्तो होस्, अस्वाभाविक लागोस् वा अव्यावहारिक– जनताले जसरी बताए, त्यसरी नै बताइदिएँ। प्रतिवेदन सार्वजनिक भएपछि पढेर विचार गर्नुहोला नै। जनताको आवाज बोल्दा यो पटक रवि लामिछानेको विरुद्ध बोलेको हुन्थ्यो, उहाँ पनि जनताकै पक्षमा होला सोचेर बोलिदिएँ’, डा. ढकालले लेखेका छन्, ‘जनताको पक्षमा बोल्नपर्छ, सत्य त्यही हो बुझेकाले सत्यको पक्षमा बोलिदिएँ। बोलेकै आधारमा आज मलाई पार्टीले निलम्बन पत्र थमाएको छ।’

यस्तो छ मुकुलको पूरा स्टाटस-

२ वर्षदेखि सभापतिको कुरालाई किन गलत भनिनस् भनेर सोधिन्छ। मलाई लाग्यो- उहाँले देश बनाउनुहुन्छ, उहाँको कुरा मान्नुपर्छ। कति कुरा गलत लाग्दालाग्दै मानिदिएँ, केन्द्रीय समितिको बैठकमा केही कुरा पेलेरै लागू गरिदिएँ। पेल्ने मान्छे म थिएँ, वा म केवल एक पात्रको रूपमा थिएँ र त्यसको पछाडि अरू कोही थियो, त्यो आजको बैठकले छर्लङ्ग भएको छ।

प्रचण्डसँग सहमति गरेर आइसकेपछि मलाई सरकारमा जाने भन्नुभयो। मैले उहाँको आदेशअनुसार प्रस्तुति दिएँ, मैले सोचेँ- मेरो कर्तव्य हो, र यो मान्छेले देश बनाउँछ साथ दिनपर्छ। तर सरकारमा पुगेपछिका कुराहरूका कारण, मलाई शंका लाग्यो- यो मान्छेले देश बनाउँछ वा बनाउँदैन। जनताले जे भने- त्यही बोलिदिएँ। सोचेँ- कुर्सीको न्यानोले छोपेको, गाडीको कालो सिसाहरूले घेरिएको हुनुहुन्छ, सचेत गराउनपर्छ। मैले सोचेँ- नेता होइन, राजनेता बनाउनपर्छ, नेता मात्र त चङ्गुलमा फसे। विगत लामो समयदेखि परिचित भएकाले मलाई महामन्त्रीबाट हटाउँछन् भन्ने लागेकै थियो।

पद गौण हो, जनताका कुरा बोलिदिँदा कारबाही भए पनि बोल्नपर्छ लाग्यो र बोलेँ। सरकारमा हुँदा प्रतिवेदनहरू कसरी लुकाइए देखेको मैले, मिडियाबाजी गर्न बाध्य भएँ। मलाई शंका लाग्यो- प्रतिवेदनलाई फासफुस गर्छन्, पार्टी बिग्रिसक्यो, सुधार्दैनन्। जनताको कुरा जस्ताको तस्तै बोलिदिएकोमा आज मलाई कारबाही भएको छ।

बालहठ जस्तो होस्, अस्वाभाविक लागोस् वा अव्यावहारिक जनताले जसरी बताए, त्यसरी नै बताइदिएँ। प्रतिवेदन सार्वजनिक भएपछि पढेर विचार गर्नुहोला नै। जनताको आवाज बोल्दा यो पटक रवि लामिछानेको विरुद्ध बोलेको हुन्थ्यो, उहाँ पनि जनताकै पक्षमा होला सोचेर बोलिदिएँ। जनताको पक्षमा बोल्नपर्छ, सत्य त्यही हो बुझेकाले सत्यको पक्षमा बोलिदिएँ। बोलेकै आधारमा आज मलाई पार्टीले निलम्बन पत्र थमाएको छ।

अरू पनि भनिदिऔँ- अरू के के गर्नुहुन्छ अब भनेर। अब उहाँको एउटा फेसबुक स्ट्याटस आउन सक्छ। केही परिचालित व्यक्तिहरू छन्, पक्षमा स्ट्याटसहरू लेख्न लगाउन सक्नुहुन्छ। एक स्टेप अघि बढेर मिडियामा "प्रमाणसहित" यो, त्यो भनेर मेरो चरित्र हत्या हुनेगरी केही हल्ला फैलाउने प्रयास गर्नुहुन्छ।

आज बैठकमै भनिसक्नुभयो- मिडिया क्षेत्रको हेडमास्टर हो म। सबै प्रकारका प्रश्नहरूको जवाफ, आरोपहरूको जवाफ दिन सक्छु। पर्‍यो भने "लाइ डिटेक्सन टेस्ट" दिन पनि तयार छु। पदीय मर्यादामा रहँदा केही राजनीतिक व्यक्तिको नाताले गरेको छु , त्यो पनि आदेशले, हल्ला फैलाउने हो भने डिफेन्सका लागि म तयार छु। त्यसपछि पत्रकारहरूको प्रश्नमा उहाँले जवाफ दिनुहुन्छ, कहाँ मैले कारबाही गरेको, सम्पूर्ण केन्द्रीय समिति सदस्यको मतले कारबाही गरेको। मैले लोकतन्त्र मान्नपर्छ, पार्टीको विधि, पद्धति मान्न पर्छ। फेरि विधान उहाँ महामन्त्री आफैँले लेखेको।"

सम्बन्धित समाचार:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .