प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीबाहेक नेकपाका चार शीर्ष नेताबीच शुक्रबार बिहानै भेटघाट भएको छ।
अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को निवास खुमलटारमा उनीसहित वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतमबीच भेटवार्ता भएको हो।
बिहान करिब आठ बजेदेखि भएको भेटवार्ता वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने सचिवालयको निर्णय कार्यान्वयन र प्रधानमन्त्री ओलीले त्यसविरुद्ध लिएको अडानका विषयमा केन्द्रीत रहेको खुमलटार निकट स्रोतहरूले जनाएका छन्।
सुरुमा प्रचण्ड निवासमा झलनाथ खनाल पुगेका थिए। त्यसपछि माधव नेपाल र वामदेव गौतम पुगेका हुन्। स्रोतका अनुसार छलफलमा सचिवालयका अर्का सदस्य नारायणकाजी श्रेष्ठलाई पनि बोलाइए पनि उनी पुगेका छैनन्।
भेटवार्ताको सुरुमा ऊर्जामन्त्री वर्षमान पुनलगायतका नेता पनि सहभागी रहेको बताइएको छ। शीर्ष नेताबीचको छलफलपछि प्रचण्ड आजै चितवन जाने कार्यक्रम छ।
बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने सर्वसम्मत निर्णय गरेपछि नेकपामा विवाद बढेको छ। प्रधानमन्त्री ओलीले सचिवालयको निर्णय नमान्ने बताउँदै राष्ट्रिय सभामा अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिने अडान लिएका छन्।
नेता खनाल, नेपाल लगायतले भने पार्टीले गरेको निर्णय कार्यान्वयन नगरे ओलीलाई प्रधानमन्त्रीबाटै हटाउनेसम्मको चेतावनी दिन थालेका छन्।
नेकपाभित्रको आन्तरिक कलह सार्वजनिक भएको बेला अध्यक्ष ओलीबाहेकका शीर्ष नेताबीच भएको यो भेटवार्तालाई चासोको साथ हेरिएको छ।
Shares
प्रतिक्रिया