ad ad

राजनीति


उपरथीमा बढुवा भएका कार्कीलाई सुरक्षा परिषदमा जिम्मेवारी, सहायक रथीमा तीन जना बढुवा

उपरथीमा बढुवा भएका कार्कीलाई सुरक्षा परिषदमा जिम्मेवारी, सहायक रथीमा तीन जना बढुवा

नेपालखबर
साउन २५, २०८१ शुक्रबार २०:३८, काठमाडौँ

नेपाली सेनाका सहायक रथी मधुकर सिंह कार्की उपरथीमा बढुवा भएका छन्। साउन २२ गते बसेको मन्त्रिपरिषदको बैठकले रिक्त उपरथीमा कार्कीलाई बढुवा गर्ने निर्णय गरेको हो।

कार्की सबैभन्दा वरिष्ठ सहायक रथी हुन्। अवकासमा जानुअघि प्रधानसेनापति प्रभुराम शर्माले उनलाई बढुवा गर्न सिफारिस गरेका थिए।

मन्त्रिपरिषदको निर्णयपछि कार्कीलाई शुक्रबार उपरथीको दर्ज्यानी चिह्न प्रदान गरिएको छ। कामु प्रधानसेनापति अशोकराज सिग्देलले शुक्रबार उनलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

यस्तै उनलाई राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा सह संयोजकमा नियुक्त गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।

यस्तै तीन जना सहायक रथीमा र एक जना महासेनानीमा बढुवा भएका छन्।

सहायक रथीमा पदोन्नति हुनेमा प्राविधिक डेन्टिष्ट महासेनानी डा. समीर अर्याल रहेका छन्।

महासेनानी जगदीश खड्का र महासेनानी अमृत काजी गुरुङलाई पनि सहायक रथीमा बढुवा गरिएको छ।

प्रमुख सेनानी शैलेन्द्र कोइरालालाई महासेनानीमा बढुवा गरिएको छ।

उनीहरुलाई पनि शुक्रबार नै कामु प्रधानसेनापति सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

सोही अवसरमा भारतीय सेनाको शिक्षालयबाट अधिकृत आधारभूत तालिम सम्पन्न गरी स्वदेश फिर्ता भएका ४ जना अधिकृतहरुलाई पनि उपसेनानी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

उनीहरु यसअघि नै बढुवा भए पनि तालिममा रहेका कारण दर्ज्यानी चिह्न प्रदान गर्न बाँकी रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .