ad ad

राजनीति


‘माओवादी फुट्दैछ’ भन्ने हल्लाको सूत्रधार प्रचण्ड आफैँ

के हो प्रचण्ड–जनार्दन विवादको चुरो?
‘माओवादी फुट्दैछ’ भन्ने हल्लाको सूत्रधार प्रचण्ड आफैँ

सीताराम बराल
भदौ ४, २०८१ मंगलबार २१:५९, काठमाडौँ

साउन अन्तिम साताको स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्मा (प्रभाकर) ले राखेको प्रस्तावबारे केन्द्रीय समितिको बैठकमा छलफल गर्ने सहमति भएपछि माओवादी केन्द्रभित्रको विवाद तत्कालका लागि साम्य त भएको छ। तर, शर्माले उठाएका प्रश्नमाथि अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सार्वजनिक रूपमा जस्तो उत्तर दिएका छन्, त्यसले माओवादी केन्द्रभित्र अर्काे प्रश्न सिर्जना गरेको छ– ‘आखिर जनार्दनले पार्टी विभाजन गर्दैछन्’ भनेर प्रचण्डलाई सुनाउनेहरूचाहिँ को थिए?   

शनिबार (१ भदौ) पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित नवौँ पोष्टबहादुर बोगटी स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले दाबी गरे, ‘विभिन्न मानिसहरूले जनार्दन शर्माले पार्टी फुटाउँदैछन् भन्ने कुरा आएर लिडरसिप (आफू) लाई सुनाउने गरेका थिए।’ 

‘जनार्दन शर्माले पार्टी फुटाउन खोजेका छन् भन्ने भाषा त लिडरसिप (अर्थात प्रचण्ड आफैँ) ले कहिल्यै प्रयोग गरेको थिएन,’ सो कार्यक्रममा प्रचण्डको स्पष्टीकरण थियो, ‘तर, विभिन्न मानिसहरूले आएर सुनाउने गरेका थिए, त्यसैले यदाकदा के हो भन्ने भएको थियो।’

‘स्थायी कमिटीको बैठकसम्म आउँदा पार्टी फुटाउने जनार्दन शर्माको कुनै नियत र उद्देश्य छैन भन्ने कुरा उहाँले स्पष्ट पार्नुभएको छ,’ प्रचण्डको थप भनाइ थियो, ‘जनार्दन शर्माले पार्टी फुटाउन खोज्यो भन्ने भ्रमबाट मुक्त हुन आग्रह गर्दछु। पार्टी फुट्दैन, त्यो सुनिश्चित भएको छ। अब एकताबद्ध भएर जाने हो।’

साउन अन्तिम साता (२५–२९ साउन) सम्पन्न माओवादी स्थायी समिति बैठकमा उपमहासचिव शर्माले २६ साउनमा १४ पृष्ठको एक लिखित प्रस्ताव पेस गरे। त्यो प्रस्तावको एउटा खण्डमा पार्टी नेतृत्व (अध्यक्ष प्रचण्ड) ले प्रधानमन्त्री रहँदा बालुवाटार र प्रधानमन्त्रीबाट हटेपछि खुमलटारबाट आफू (शर्मा) ले पार्टी विभाजन गर्न खोजेको हल्ला चलाएको दाबी गरिएको थियो। 

शर्मामाथि लगाइएको यस्तो गम्भीर आरोपको खण्डन वा प्रष्टीकरण सम्बन्धित पक्ष (पार्टी अध्यक्ष) बाट सार्वजनिक रूपमा आउनुपर्ने स्थायी समितिको निर्णयपछि प्रचण्डले उपरोक्त स्पष्टीकरण दिएका हुन्।   

जुन दिन प्रचण्डले उपरोक्त स्पष्टीकरण दिए, त्यसैदिन (१ भदौ) अर्काे कार्यक्रममा उपमहासचिव शर्माले ‘पार्टी फुटको प्रचार हेडक्वार्टर वरिपरिबाट भएको’ दाबी दोहोर्‍याए। अध्यक्ष प्रचण्डसमेत उपस्थित माओवादी काठमाडौँ–रुकुम पश्चिम सम्पर्क समितिको सम्मेलनमा उपमहासचिव शर्माले भनेका थिए, ‘पार्टी फुटको प्रचार हेडक्वार्टर वरिपरिबाट भएको हो। उहाँको भूमिका छ कि छैन, उहाँले नै भन्नुहोला। यो कुराको खण्डन उहाँले नै गर्नुपर्छ।’ 

एकातिर अध्यक्ष प्रचण्डले आफूसमक्ष आएर ‘विभिन्न मानिसहरूले जनार्दनले पार्टी फुटाउँदैछन् भनेका थिए’ भन्ने दाबी गरेका छन्। अर्काेतिर यस्तो हल्ला हेडक्वार्टर (अध्यक्ष प्रचण्ड) कै वरिपरिकै मानिसले चलाएका हुन् भन्ने दाबी उपमहासचिव शर्माको छ।  

रोचक विषय चाहिँ के भने ‘विभिन्न मानिसहरूले आएर आफूलाई सुनाए पनि जनार्दन शर्माले पार्टी फुटाउँदै छैनन् है!’ भन्दै प्रचण्डले कार्यक्रमपिच्छे स्पष्टीकरण दिँदै हिँड्नु परेको छ, त्यो पनि पार्टी स्थायी समितिको निर्णय बमोजिम! 

यसैकारण पनि ‘उपमहासचिव शर्माले पार्टी फुटाउँदैछन्’ भन्ने ‘सूचना’ प्रचण्डलाई कसले दियो, राजनीतिक वृत्तमा चासोको विषय बनेको छ।  

जनार्दनउपर प्रचण्ड–प्रहार 
‘जनार्दन शर्मासँग रिस उठेकाहरू प्रचण्डसँग जाँदा रहेछन् र जनार्दनले यसो भनेका छन् भन्ने कुरा सुनाउँदा रहेछन्, प्रचण्डसँग रिस उठेकाहरूले चाहिँ जनार्दन शर्मा कहाँ पुगेर प्रचण्डले त तपाईंलाई पार्टी फुटाउन खोजेको छ भन्ने आरोप लगाएका छन् भन्दा रहेछन्,’ माओवादी केन्द्रका सचिव दीनानाथ शर्माले भने, ‘यस्तै–यस्तै मानिसहरूका कारण असमझारी सिर्जना भएको हो।’    

सचिव शर्माको भनाइमा असमझदारी सिर्जना गराउन कसले भूमिका खेल्यो, आवश्यक परे त्यसको छानबिन गर्ने र कारबाही समेत गर्ने निर्णय पनि पार्टी स्थायी समिति बैठकले गरेको छ भने अहिलेका लागि  दुवै (अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्मा) ले पार्टी फुटको हल्लाको खण्डन गर्ने निर्णय पनि भएको छ। 

अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्माबीचको विवाद अहिले सतहमा आए पनि यसको सुरुवात भने विशेष महाधिवेशन (२०७८ पुस) पछि भएको हो। विशेष महाधिवेशन सम्पन्न भएपछि पनि लामो समय अध्यक्ष प्रचण्डले महासचिव चयन गर्ने रुचि देखाएनन्। 

दोस्रो पुस्ताका नेताहरूबीचको आन्तरिक हानथापलाई कारण देखाएर प्रचण्डले महासचिव चयनमा ढिलाइ गरेका थिए। त्यो बेला महासचिवको प्रमुख दाबेदार वर्षमान पुन (अनन्त) र जनार्दन शर्मा थिए। 

आफूहरूलाई देखाएर महासचिव चयनमा जब प्रचण्डले ढिलाइ गर्न थाले, त्यसपछि पुन र शर्मा दुवै खुमलटार पुगे र अर्काेलाई महासचिव बनाए आफूलाई आपत्ति नहुने स्पष्टीकरण दिए। पुनले त अझ आफूलाई उपाध्यक्ष र शर्मालाई महासचिव बनाए कुनै आपत्ति नहुने समेत उल्लेख गरेका थिए। 

खासमा पुन र शर्माबीचको अन्तरद्वन्द्वमा खेलिरहेका थिए प्रचण्ड। पार्टीका यी दुई प्रभावशाली नेताबीचको अन्तरद्वन्द्व चर्काउन सके आफू अझ शक्तिशाली हुने आकलन उनको हुँदो हो। तर, ‘हामीमध्ये जसलाई महासचिव बनाए पनि हुन्छ’ भन्दै सँगसँगै दुवैजना खुमलटार पुगेपछि प्रचण्ड झस्के। 

कुनै चर्चामा नरहेका देव गुरुङले २०७९ भदौमा महासचिवमा बाजी मार्नुको कारण यही थियो। गुरुङ महासचिव बनेपछि पुन र शर्मा दुवै उपमहासचिव बने। 

शर्माले यो निर्णयको विरोध त गरेनन्। तर, प्रचण्डको निर्णयप्रति सन्तुष्ट पनि थिएनन्। 

ठीक त्यहीबेला एमाले अध्यक्ष केपी शर्मा ओली माओवादी केन्द्रका नेता–कार्यकर्तालाई आफ्नो पार्टीमा भित्र्याउने अभियानमा थिए। प्रचण्डको निर्णय र कार्यशैलीप्रति शर्माको असन्तुष्टिलाई आधार बनाएर एमाले पंक्तिले शर्मा अध्यक्ष ओलीको सम्पर्कमा रहेको हल्ला चलाउन थाल्यो। 

एमाले पंक्तिबाट चलाइएको यस्तो हल्लाका बीच प्रचण्डको कार्यशैलीप्रति असन्तुष्ट शर्मा एमालेमा जाँदैछन् भन्ने गलत प्रचार पार्टी हेडक्वार्टरबाट गरिएको गुनासो शर्मा निकटस्थहरूको छ।  उपमहासचिव शर्माले २६ साउनमा पार्टी स्थायी समितिमा पेस गरेको लिखित प्रस्तावमा पनि यो सन्दर्भ उल्लेख गरेका छन्। 

‘खुमलटार (प्रचण्ड निवास) बाट फलानो एमालेमा जाँदैछ भनेर सुरु गरिएको प्रचारबाजीलाई बालुटावार पुगेपछि तीव्रता दिइयो, ‘छ कसलाई साथ?’ भन्दै कार्यक्रम हलमा हुटिङ गराएपछि सुन्नेहरूलाई पार्टी फुट्ने पक्कापक्की भयो भन्ने लाग्यो,’ शर्माले स्थायी समितिमा पेस गरेको प्रस्तावमा लेखेका छन्, ‘देशभर यसको असर देखा पर्न थाल्यो। ‘फुटाउने कसले हो?’ भन्दा बालुवाटारबाटै ‘जनार्दनले हो’ भनिदिएपछि आज आम कार्यकर्ता र जनतामा पार्टी फुटको त्रास फैलिएको छ। यस विषयमा देशभरिबाट दैनिक सयौँले फोन गरी पार्टी फुट्दैछ र भनी सोध्ने गरेका छन्। यो कुरा अन्य राजनीतिक दल, सुरक्षा निकाय र ब्युरोक्रेसीमा समेत चासोको विषय बनेको छ।’ 

‘माओवादीमा फुट हुँदैछ’ भन्ने चर्चाको सार्वजनिक सुरुवात खासमा प्रचण्ड आफैँले गरेका थिए, जब उनी प्रधानमन्त्रीको कुर्सीमा आसीन थिए। २३ जेठमा भएको माओवादी केन्द्रको गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘किरणजीहरूले धेरै साथीहरू धेरै लिएर हिँड्नुभएको (१२ वर्षअघि मोहन वैद्यको नेतृत्वमा भएको माओवादी विभाजन) थियो। अब कोही फेरि त्यही बाटो हिँड्छ भने त्यो भन्दा ठूलो दुर्भाग्य केही पनि हुँदैन।’ 

‘शान्ति प्रक्रियामा आउँदा के हुन्छ, कसो हुन्छ भन्ने शंका तपाईंहरूलाई थियो होला, अब त त्यो शंका छैन होला नि!’ माओवादीभित्र आफ्नो नेतृत्व निर्विकल्प भएको दाबी गर्दै प्रचण्डले भनेका थिए, ‘अब पनि तपाईंहरूलाई अर्को नेता खोज्ने मन छ र? खोजेर  हुने भए त अस्ति नै भइसक्थे त!’ 

यी भनाइ कास्की माओवादीको तल्लो तहसम्म फैलिएको गुटबन्दीप्रति लक्षित रहेजस्तो देखिए पनि खासमा प्रचण्डले शर्माले पार्टी फुटाउन खोजेको सन्देश दिनका लागि गरेका थिए। 

यसको कारण थियो, उपमहासचिव शर्माले राखेको संगठन सम्बन्धी प्रस्तावका पक्षमा १–३ फागुन (२०८०) सम्पन्न माओवादी केन्द्रको विधान महाधिवेशनमा देखिएको माहौल। पार्टी पदाधिकारीहरू प्रत्यक्ष निर्वाचनबाट चयन हुनुपर्छ भन्ने प्रस्तावको पक्षमा विशेष महाधिवेशन हलमा प्रचण्ड बहुमत देखिएपछि प्रचण्डले अप्ठेरो महसुस गर्न थाले। किनकि यो प्रस्ताव कार्यान्वयनमा जाँदा पार्टीमा उनको ३५ वर्षदेखि अविच्छिन्न नेतृत्वमाथि चुनौती सिर्जना हुनसक्थ्यो।  

समय–सन्दर्भहरूले देखाउँछन्, ‘पार्टी फुटतिर जाँदैछ’, ‘पार्टीमा आफ्नो बाहेक अर्काको विकल्प छैन’ भन्ने प्रचण्डका अभिव्यक्ति यसैको उपज थियो।  

विवादको उद्गम
माओवादी केन्द्रको पहिलो विधान अधिवेशन १–३ फागुन (२०८०) मा काठमाडौँमा भएको थियो। त्यसमा पेस गरिने ‘मसौदा विधान’ अध्यक्ष प्रचण्डले पुस (२०८०) अन्तिम साता बसेको स्थायी समिति बैठकमा पेस गरेका थिए।    

तर, उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको समितिले तयार पारिदिएको सो प्रस्तावको ‘पुरक प्रस्ताव’ भन्दै उपमहासचिव शर्माले अर्काे प्रस्ताव पेस गरे, जसमा केन्द्रदेखि तल्लो तहसम्मका पदाधिकारीहरू प्रत्यक्ष निर्वाचनमार्फत् चयन हुनुपर्ने उल्लेख थियो। 

माओवादीमा यस्तो प्रस्ताव आउनुपूर्व नै कांग्रेस र एमालेले पदाधिकारी प्रत्यक्ष निर्वाचनबाट चयन हुने अभ्यास सुरु गरिसकेका थिए। पदाधिकारीको प्रत्यक्ष निर्वाचनले यी दुई दलको लोकतान्त्रिक छवि उजिल्याउने काममात्र गरेको थिएन, आन्तरिक जीवनलाई गतिशील समेत बनाएको थियो। 

यस्तो स्थितिमा ‘पुरक प्रस्ताव’ का रूपमा उपमहासचिव शर्माले पेस गरेको प्रस्ताव प्रचण्डले अस्वीकार गर्न सक्ने स्थिति थिएन। शर्माको पुरक प्रस्तावलाई पनि विधान महाधिवेशन हलमा प्रस्ताव प्रस्तुत गर्न प्रचण्ड ‘राजी’ भए। 

विधान महाधिवेशनमा प्रस्तुत प्रस्तावहरूमाथि छलफल र सुझावका लागि २० समूह निर्माण भयो। छलफलका क्रममा समूहहरूले पदाधिकारी प्रत्यक्ष निर्वाचनबाट चयन हुनुपर्ने सुझाव पठाए। यस्तो सुझाव आएपछि अप्ठेरोमा परेको नेतृत्वले हलमा ‘खुला छलफल’ समेत गरायो। त्यहाँ पनि अत्यधिक बहुमत प्रत्यक्ष निर्वाचनकै पक्षमा देखियो। 

‘पदाधिकारीको चयन प्रत्यक्ष निर्वाचनबाट गरिनुपर्छ’ भन्ने प्रस्ताव शर्माको थियो। त्यसैले प्रचण्ड शर्मासँग झस्के। यसको परिणाम के भयो भने उनकै चाहनाबमोजिम प्रवक्ता अग्नि सापकोटाले ‘केन्द्रीय समिति प्रत्यक्ष निर्वाचनबाट र पदाधिकारीहरू केन्द्रीय समितिबाट चयन हुनेछ’ भन्ने निर्णय पो सुनाइदिए। 

‘विधान महाधिवेशनको अत्यधिक बहुमत पदाधिकारी प्रत्यक्ष चुनावबाट निर्वाचित हुनुपर्छ भन्ने पक्षमा थियो, माओवादी केन्द्रका पदाधिकारी पनि प्रत्यक्ष निर्वाचनबाट चयन हुन्छन् भन्ने कुराले पार्टी पंक्तिभित्र छुट्टै उत्साह सिर्जना गरेको थियो,’ शर्मा पक्षीय एक नेताले नेपालखबरसँग भने, ‘तर विधान महाधिवेशन सकिनासाथ त्यो उत्साह र जोसमा पानी खन्याउने काम पार्टी नेतृत्वबाट भयो। सँगसँगै उपमहासचिव शर्माले पार्टी फुटाउँदैछन् भन्ने नियोजित प्रचार पनि बालुवाटार (प्रधानमन्त्री भएकाले प्रचण्ड त्यो बेला बालुवाटारमा बस्थे) बाट सुरु भयो।’ 

प्रचण्डले २३ जेठमा पोखराबाट ‘पार्टी फुटतर्फ जाँदैछ’ भन्दै ‘तपाईंहरू कसको साथमा हुनुहुन्छ?’ भन्ने प्रश्न गरेपछि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रचण्डको सचिवालयबाट फुटको दोष शर्मामाथि लगाउन सुरु गरिएको दाबी प्रचण्डका आलोचक नेता–कार्यकर्ताहरूको छ।  
 
‘अध्यक्षले पार्टी फुटतर्फ जाँदैछ भनिदिएपछि त्यसले आन्तरिक रूपमा ठूलो तरङ्ग सिर्जना गर्‍यो, चिन्तित नेता–कार्यकर्ताहरूले (अध्यक्ष र प्रधानमन्त्रीसमेत) सचिवालयमा फोन गरेर कसले पार्टी फुटाउन लागेको हो? भनेर प्रश्न गर्ने नै भए,’ उपमहासचिव शर्मा निकटस्थ अर्का नेताले भने, ‘अध्यक्षले नै बोलेपछि उहाँको सचिवालयले जवाफ दिनै पर्‍यो, त्यसैक्रममा उनीहरूले अध्यक्ष (प्रचण्ड) को संकेत जनार्दन शर्माप्रति हो भन्ने गरेका रहेछन्।’  

हल्लाको सूत्रपात प्रचण्डबाटै भएको हो र उनकै सचिवालयबाट यसलाई अझ बढाइचढाइ गरेको हो भन्ने उपमहासचिव शर्माको दाबीको खण्डन प्रचण्डले समेत गर्न सकेका छैनन्।  

तर, प्रचण्डको ‘चलाखी’ र ‘खुबी’ चाहिँ के भने ‘जनार्दन शर्माले पार्टी फुटाउन लागेका छन् भन्ने गलत प्रचार गरियो’ भन्ने स्पष्टीकरण दिएर उनी पानीमाथिको ओभानो बन्न खोजेका छन्। 

प्रचण्डको स्पष्टीकरण सुन्दा लाग्छ– मानौँ, त्यो प्रचार उनी र उनको सचिवालयबाट भएको होइन, कुनै अदृश्य शक्तिबाट भएको हो! 

डा. बाबुराम भट्टराई, मोहन वैद्य, रामबहादुर थापाजस्ता समकालीन नेताहरूले आलोचना गर्दा विगतमा पनि प्रचण्ड प्रतिरक्षात्मक बन्ने गर्थे। तर, यसपटक उनी यस्ता नेताबाट प्रतिरक्षात्मक हुनुपरेको छ, जो पार्टीको वरीयताक्रममा उनीभन्दा निकै कनिष्ठ छन्– त्यो पनि सार्वजनिक रूपमा स्पष्टीकरण दिनुपर्ने गरी! 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .