मन्त्रिपरिषद् पूर्णता दिने विषयमा प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीसहित जेनजीका प्रतिनिधिसँग पनि छलफल गरिरहेकी छन्। सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रीसहितको बैठक चलिरहँदा हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक सुदन गुरुङ पनि पुगेका छन्।
प्रधानमन्त्री कार्कीले बाँकी रहेका ७ मन्त्री आजै टुंगो लगाउने प्रयास गरिरहेकी छन्। मन्त्रीसँग छलफलमै रहेका बेला गुरुङ पनि पुगेका हुन्।
गुरुङ पछिल्लो समय जेनजीको प्रतिनिधिको रुपमा प्रधानमन्त्री कार्कीसँग सम्पर्कमा छन्। उनले केही मन्त्री छान्नका लागि नाम पनि दिएको नेपालखबरलाई जानकारी दिए।
'कुलमान दाइ, महावीर पुन दाइलाई त मैले खुट्टै ढोगेको। कुलमान दाइ बल्ल मान्नु भयो मन्त्री पनि हुनुभयो। तर, महावीर दाइलाई मनाउन कम्ता गाह्रो भएन। तपाईँ मन्त्री नहुने भए म देशै छोडेर जान्छु पनि भनेँ,' उनले भने।
आजै गुरुङलाई जेनजी आन्दोलनका घाइतेहरूले जेनजीको नेता हुँ भन्दै नहिँड्न चेतावनी दिएका थिए।
आइतबार गृहमन्त्री ओमप्रकाश अर्याललाई भेट्न पुगेका जेनजी आन्दोलनका घाइतेहरूले नेता (लिडर)हुँ भन्दै नहिँड्न भनेका हुन्।
जेनजीका घाइतेहरू आज गृहमन्त्रीलाई भेट्न सिंहदरबार जानेक्रममा सिंहदरबार दक्षिण गेटमा रोकिएका थिए। सिंहदरबार प्रवेश नदिएपछि उनीहरू गेटमै धर्ना बसेका थिए।
नाराबाजी गर्दै धर्ना बसेपछि प्रहरीले गाडीमा राखेर गृहमन्त्रालय पुर्याएको थियो। त्यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै घाइतेहरूले गुरुङ, एमालेका अध्यक्ष केपी शर्मा ओली र महेश बस्नेतमाथि आक्रोश पोखे।
उनीहरूले गुरुङको गतिविधिमाथि प्रश्न उठाए। जेनजीको नेता भनेर मन्त्री छनोटका विषयमा जेनजीको भावना स्थापित गराउन नसकेको, संविधान दिवसको अवसरमा राष्ट्रपति कार्यालयमा सहभागी भएको विषयमा पनि जेनजीहरूले प्रश्न उठाएका छन्।
भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनपछि जेनको प्रतिनिधि बनेर गुरुङ छलफल र कार्यक्रममा सहभागी हुँदै आइरहेका छन्। यसलाई लिएर जेनजीहरूले भने उनको विरोध गरिरहेका छन्।
Shares

प्रतिक्रिया