राजनीति


सरकारी निवास नहुँदा मन्त्रीहरूलाई तनाव, ‘प्रोटोकल’का कारण समस्यामा गृहमन्त्री

सञ्चारमन्त्री खरेल भन्छन् : दुःखजिलो गरेर काम चलाउँदै छौँ
सरकारी निवास नहुँदा मन्त्रीहरूलाई तनाव, ‘प्रोटोकल’का कारण समस्यामा गृहमन्त्री

सागर न्यौपाने
असोज १०, २०८२ शुक्रबार २१:२७, काठमाडौँ

कृषि तथा पशुपन्छी विकासमन्त्री मदनप्रसाद परियार कलंकीको स्युचाटारमा रहेको निवासबाट सिंहदरबार आउजाउ गर्छन्। 

घरदेखि सिंहदरबार धाउनुपर्ने बाध्यता त छँदैछ, उनले सवारी साधन पनि नपाएको स्वकीय सचिव विष्णु विक बताउँछन्।

‘गाडीको व्यवस्था भइनसकेकोले लिएको छैन, दसैँपछाडि लिने कुरा छ,’ उनले नेपालखबरसँग भने, ‘मन्त्रीज्यूले अप एन्ड डाउन निजी निवासबाटै गरिरहनु भएको छ।’

परियार असोज ६ गते मन्त्री नियुक्त भएका हुन्।

गृह प्रशासनको नेतृत्व गरिरहेका ओमप्रकाश अर्याल सानेपामा बस्छन्। तीन वटा सुरक्षा निकायको नेतृत्व गर्नुपर्ने भएकोले अन्य मन्त्रीभन्दा उनको लागि विशेष सुरक्षाको व्यवस्था हुन्छ।  

यतिबेला मन्त्री अर्यालको सुरक्षामा २० जनाभन्दा बढी सुरक्षाकर्मी तैनाथ छन्। तर, सानेपा निवास सानो हुँदा सुरक्षाकर्मीले निकै सकस महसुस गरिरहेका छन्।

‘एड्जस्ट गर्न नसकेर मन्त्रीज्यूको दाइ नाता पर्ने घरमा आधा सुरक्षाकर्मी राखिएको छ,’ गृहमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘आधाजति उहाँकै निवासमा खटिएका छन्। खानपानको व्यवस्थापन नजिकै रहेको प्रहरी चौकीमा मिलाइएको छ।’

‘गृहमन्त्रीसँग १२ जना सुरक्षाकर्मी साथमै हुन्छन्। बाँकी घुमुवा प्रहरीले सुरक्षा दिएका छन्,’ ती सदस्यले थपे, ‘घरमा सुरक्षा पोस्ट बनाउनुपर्‍यो भनिरहनु भएको छ, तर, मन्त्रीज्यूले केही निर्णय दिन सक्नुभएको छैन।’ 

अन्तरिम सरकारका ६ जना मन्त्रीहरूले यतिबेला सरकारी आवास नहुँदा कठिनाइ भोगिरहेका छन्।

भदौ २४ गते जेन–जी आन्दोलनकारीले भैँसेपाटीमास्थित भव्य मन्त्री क्वार्टरमा आगजनी गरेर ध्वस्त बनाइदिए। सिंहदरबारमा आगजनी हुँदा सवारी साधनसमेत नष्ट भएका छन्।

जेन–जी आन्दोलनका कारण केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर भदौ २७ गते सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार बन्यो। पहिलो चरणमा भदौ २९ गते अर्थमन्त्री रामेश्वर खनाल, भौतिक पूर्वाधार तथा यातायात, उर्जा, जलस्रोत तथा सिँचाइ र सहरी विकासमा कुलमान घिसिङ र गृहमा ओमप्रकाश अर्याल नियुक्त भएका थिए।

असोज ६ गते परियार, अनिल सिन्हा, जगदीश खरेल र महावीर पुन थपिए। सरकारलाई फागुन २१ गते चुनाव गराउने म्यान्डेट छ।

प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसे पनि अन्य मन्त्रीहरू भने अझै निजी निवासमै बस्न बाध्य छन्। काठमाडौँमा घर नभएका मन्त्रीहरूको झनै बेहाल छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन घर नहुँदा समस्या भोग्ने अर्का मन्त्री हुन्। केशर पुस्तकालयमा रहेको कार्यालयसँगैको एउटा कोठामा उनका लागि खाने, सुत्ने व्यवस्था मिलाइएको छ।

तर, त्यो व्यावहारिक नभएको भन्दै आलोचना भइरहेको छ। मन्त्री पुनले पनि मन्त्री क्वार्टर जलेर खरानी भएपछि खर्च जोगाउन मन्त्रालयमै खाने, बस्ने गर्नुपरेको बाध्यता सुनाए। 

साँघुरो जग्गामा घर बनाएका मन्त्रीहरू अहिले सुरक्षाकर्मी र भेटघाटमा आउने मानिसको व्यवस्थापन गर्न नसकेको बताउँछन्। अर्याल त्यसैमध्येमा पर्छन्। 

यस्तै, लाजिम्पाट बस्ने कानुनमन्त्री अनिलकुमार सिन्हा र ललितपुरको इमाडोल बस्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले त्यही समस्या भोगिरहेका छन्। 

सुरक्षाकर्मी, आफ्ना सहयोगी राख्ने, बैठक गर्ने, भेटघाट गर्ने कक्ष नहुँदा दैनिकी लथालिङ्ग भएको उनीहरूको भनाइ छ।  

‘अहिले विशेष परिस्थिति भयो, सरकार पनि दुःखसुख चलाउनुपर्ने अवस्था बन्यो, मन्त्रालयहरू जलेको छ। सिंहदरबार जलेको छ,’ सञ्चारमन्त्री खरेलले नेपालखबरसँग भने, ‘दुःखजिलो गरेर काम चलाइराखेका छौँ। घरमा पनि त्यस्तै छ, सबै कुरा आकस्मिक भएकोले तयारी गर्न पाइएन। घरमा जसोतसो, अलिकति काम चलाउने काम भइरहेको छ।’ 

देशकै चाँजो त्यसैगरी मिलाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ।

त्यसो त, अर्थमन्त्री खनालले सरकारी सुविधा पनि नलिने, सुरक्षाकर्मी पनि नलिने र आफ्नै सवारी चढ्ने प्रतिबद्धता जनाएका थिए। त्यही भएर उनी भक्तपुर बालकोटबाट सिंहदरबार आउजाऊ गर्छन्। उनका लागि खासै तनाव छैन। 

यसैगरी, चाबहिल बस्दै आएका भौतिक पूर्वाधार तथा यातायात, उर्जा, जलस्रोत तथा सिँचाइ र सहरी विकासमन्त्री कुलमान घिसिङले निवासमै सुरक्षाकर्मीका लागि पोस्ट बनाइसकेका छन्।

निवासबाटै मन्त्रालय आउजाउ गरे पनि घिसिङलाई कुनै समस्या नभएको उनको सचिवालयले बतायो।

अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै प्रधानमन्त्री कार्की बालुवाटार बस्न थालिन्। तर, मन्त्री क्वार्टर जलेकाले उनीहरूका लागि विकल्प खोजिएको छैन। जेन–जीको आन्दोलनमा खर्बाैंको सरकारी सम्पत्ति जलेर खरानी भएकोले सरकार खर्च कटौती गर्दैछ। 

मन्त्रीहरूका लागि टाढाबाट यात्रा गर्दा जोखिम हुने भन्दै सुरक्षाकर्मीले चिन्ता व्यक्त गरेको सञ्चारमन्त्री खरेल बताउँछन्। 

‘सुरक्षाकर्मीलाई एकदम गाह्रो भइरहेको छ। पहिला भैँसेपाटीमा सजिलो थियो। मन्त्री निवास, सुरक्षाकर्मी बस्ने छुट्टै ठाउँ, खुला ठाउँ थियो। सुरक्षाको हिसाबले कम चुनौती मानिन्थ्यो,’ उनले थपे, ‘तर, घरमै बस्दा त्यो भएन। हामीले काम चलाएर सुरक्षाकर्मी राख्नुपर्‍यो, उहाँहरू काम चलाएर बस्नुभएको छ।’ 

गृहमन्त्री अर्यालका सचिवालयका अर्का सदस्य विषम परिस्थितिमा बनेको सरकार भएकोले सकभर मिलाएरै बसिरहेको बताउँछन्।  

‘हामीलाई यहीँ बस्दा कुनै समस्या छैन। कम्फर्टेबल छ। हामी जहिले पनि सजिलोगरी बसेको मान्छे। सुरक्षाकर्मीले एड्जस्ट गर्नुभयो भने,’ ती सदस्यले भने, ‘तर, उहाँहरूलाई कठिनाइ परेको हुनसक्छ, सेक्युरिटी प्रोटोकल मान्ने कि नमान्ने भएको हुनसक्छ। सेक्युरिटी प्रोटोकलले समस्या पारेजस्तो लागेको छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad