नेकपा एमालेको एघारौँ महाधिवेशनमा हुने अध्यक्षको चुनावमा केपी शर्मा ओलीलाई ईश्वर पोखरेलले टक्कर दिने भएका छन्। एमालेको महाधिवेशन मंसिर २७–२९ मा काठमाडौँमा हुने तय भएको छ।
आफ्नो प्रतिस्पर्धी कोही नहून् र निर्विकल्प अध्यक्ष बन्न सकियोस् भन्ने योजनाअनुसार ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नवीकरण भइसकेको सदस्यता निलम्बनमा राखिदिएका छन्। तर, ओलीले अन्ततः पोखरेलसँग भिड्नुपर्ने भएको छ।
अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका पोखरेलका पक्षमा बहुमत सचिवालय सदस्यहरु रहेको एमाले नेताहरु बताउँछन्। यद्यपी केन्द्रीय कमिटी र अन्य कमिटीहरूमा भने महाधिवेशनपछि पनि ओलीले नै पार्टीको नेतृत्व सम्हाल्नु पर्ने पक्षमा निकै ठूलो बहुमत देखिएको छ।
‘ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी दिनुहुन्छ,’ एमालेका एक पदाधिकारीले नेपालखबरसँग भने, ‘वरिष्ठ उपाध्यक्षले अध्यक्षमा दाबी गर्नु स्वाभाविक हो। त्यति लामो राजनीतिक विरासत छ। उहाँ उठ्ने हुँदा सचिवालयका बहुमत सदस्यको साथ पाउनुहुन्छ, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्टको त साथ छँदैछ।’
२०७८ मंसिरमा भएको एमालेको दसौँ महाधिवेशनमा ओली अध्यक्ष निर्वाचित हुँदा उनकै समूहबाट पोखरेल वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका थिए।
आफूहरूले पनि पोखरेललाई उठ्न सुझाव दिएको ती नेताले जानकारी दिए।
‘अध्यक्ष केपी ओलीका समकालीन, निरन्तर साथ दिनुभएको, मदन भण्डारीसँग निकट रहेर काम गरेको, जनताको बहुदलीय जनवादका पक्षमा उभिनुभएका पात्रमध्ये उहाँ एक भएकाले अध्यक्षमा उम्मेदवारी दिनुपर्ने धेरैको सुझाव छ,’ ती नेताले थपे, ‘त्यसो गर्दा अध्यक्षमा कडा प्रतिस्पर्धा हुन्छ।’
ओलीले तेस्रो कार्यकालको अध्यक्ष बन्नकै लागि विधान संशोधन गरेर उमेर हद र दुई कार्यकालको प्रावधान हटाइसकेका छन्। यसले पोखरेललाई पनि अध्यक्षमा चुनाव लड्ने बाटो खोलिदिएको छ।
सचिव गोकर्ण विष्ट पनि यस पटकको महाधिवेशनमा प्रतिस्पर्धा गर्न नेताहरू तयार रहेको बताउँछन्।
‘महाधिवेशनमा जे मान्यताहरू अघि सारिएको छ, त्यसमा थुप्रै नेताको अडान कायमै छ,’ उनले भने, ‘यसपटक स्वस्थ प्रतिस्पर्धाको स्थिति बन्छ। प्रतिस्पर्धाको लागि नेताहरू तयार हुने स्थिति बन्छ।’
जेन–जी आन्दोलनपछि ओलीलाई नेतृत्व छोड्न दबाब दिनेमध्येमा पोखरेल पनि थिए। असोज २४ र २६ गते भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकमा पोखरेलसहित बहुमत पदाधिकारीले ओलीलाई पद छोड्न सुझाव दिएका थिए। तर, ओलीले सो सुझाव अस्वीकार गरेका थिए। बरू उनले नियमित समयभन्दा १३ महिना अगावै महाधिवेशन मिति तोकेका छन्।
पूर्वराष्ट्रपति भण्डारीको निलम्बनमा राखिएको एमालेको सदस्यता खुलाउन ६ पदाधिकारीले कात्तिक १५ गतेको सचिवालय बैठकमा पनि जोडबल गरे।
ओली निवास भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्टले भण्डारीको सदस्यता खोल्न आग्रह गरेका थिए।
तर, ओलीले सकारात्मक जवाफ दिएनन्।
‘केही साथीहरूले विद्या भण्डारीको सदस्यता नवीकरण खोल्नुपर्ने बताउनुभएको थियो,’ उपाध्यक्ष गुरु बरालले भने, ‘अध्यक्षले यो विषयमा चर्चा गर्न आवश्यक छैन भन्ने जवाफ दिनुभयो।’
उपाध्यक्ष सुरेन्द्र पाण्डेले पनि अध्यक्ष ओलीले भण्डारीलाई सदस्यता दिनै नचाहेको बताए।
‘उहाँले सामान्य हिसाबले अहिले नगरौँ, ठीकै छ, म कुरा गर्छु मात्र भन्नुभयो,’ उनले भने, ‘उहाँको एमालेमा बाटो बन्दै गर्न खोजेको हो कि के हो, यसै भन्न सक्दिनँ। तर, टारेको र समय लिन खोजेको देखिन्छ।’
भण्डारीले अध्यक्षमै उम्मेदवारी दिने डरले ओलीले सदस्यता निलम्बन गरेको उनी बताउँछन्।
‘त्यही डरले रोकेको होला, नत्र डराउनुपर्ने के थियो र! जेन–जी आन्दोलनपछि परिस्थिति फेरबदल भएको छ। भण्डारी अध्यक्षमा उठ्नुहुन्थ्यो कि हुन्नथ्यो थाहा भएन। तर, सदस्यता नै रोक्नुपर्ने अरु कारण के होला र?’ उनले थपे।
भण्डारीको एमाले सदस्यता खुलाउने प्रयास सफल नभएपछि महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्न पोखरेल तयार भएका हुन्।
पोखरेल पक्षका नेताहरूको भनाइमा उनले भण्डारीसँग परामर्श गरेर नै अध्यक्षको उम्मेदवार बन्ने निर्णय गरेका हुन्। उनले अन्य नेताहरूसँग छलफल थालिसकेका छन्।
नेताहरूका अनुसार अध्यक्ष मात्र होइन, अन्य पदाधिकारी पदमा समेत पोखरेल पक्षले उम्मेदवार खडा गर्दैछ। त्यसो हुँदा एमाले महाधिवेशनमा दुईवटा प्यानल बन्ने देखिन्छ।
विधान संशोधन गरेर पदाधिकारी १५ सदस्यीय बनाइएको छ।
‘प्यानलै बनाएर जाने सम्भावना बढ्यो,’ अर्का पदाधिकारीले भने, ‘पहिला जस्तो महाधिवेशन नहोला। सहमति हुन पनि सक्छ। भयो भने पनि उम्मेदवारी दिएर त्यहीँ छलफल हुन्छ तर, उम्मेदवारी पर्छ। प्यानल उठिहाल्छन्।’
ओलीसँग कोही प्रतिस्पर्धा गर्न तयार नभए आफैँ उठ्ने घोषणा योगेश भट्टराईले गरिसकेका छन्।
महाधिवेशनमा २१ सय प्रतिनिधि हुनेछन्। यस निर्णयले पोखरेल पक्ष उत्साहित छ। महाधिवेशन प्रतिनिधि चयनमा उनीहरूले ध्यान दिनुपर्ने निचोड निकालेका छन्।
महाधिवेशनमा पूर्वराष्ट्रपतिको रोकिएको सदस्यताको मुद्दालाई चर्काउने उनीहरूको तयारी छ।
‘महाधिवेशनमा लैजाने एउटा एजेन्डा यो पनि बन्यो,’ पोखरेल निकट एक नेता भन्छन्।
एमालेको चितवनमा भएको दसौँ महाधिवेशनमा ओली सर्वसम्मत अध्यक्ष बन्न चाहेका थिए। तर, उपाध्यक्ष भीम रावलले उम्मेदवारी दिएपछि चुनाव भएको थियो। पछि रावललाई उनले पार्टीबाटै निस्कासन गरिदिए।
यसपटक पनि एमालेमा सर्वसम्मत बन्ने ओलीको चाहना सफल नहुने भएको छ।
पोखरेललाई अघि सारेर नेताहरूले नेतृत्व हस्तान्तरणको प्रयास गर्ने बताएका छन्। केही नयाँ र युवालाई पदाधिकारीमा ल्याउने भन्दै उनीहरू छलफलमा छन्।
Shares

प्रतिक्रिया