राजनीति


नयाँ दलको विधान तयार पारेर रास्वपाको अन्तिम निर्णय पर्खिरहेका छन् कुलमान

घिसिङलाई बालेन, सुमना र जेनजीसहित ४ समूहको समर्थन
नयाँ दलको विधान तयार पारेर रास्वपाको अन्तिम निर्णय पर्खिरहेका छन् कुलमान

सागर न्यौपाने
कात्तिक १७, २०८२ सोमबार २०:३५, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास अनि ऊर्जा जलस्रोत तथा सिँचाइगरी तीन वटा मन्त्रालय सम्हालिराखेका कुलमान घिसिङले नयाँ दल दर्ता गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएका छन्। रास्वपा छोडेकी सुमना श्रेष्ठ, गणेश योञ्जन, मुक्तसिंह लामा लगायत कम्तीमा दस जना नेताले दलको विधान, संगठनात्मक संरचना टुंगो लगाइसकेका छन्। 

कुलमानकै अध्यक्षतामा दल दर्ताको तयारी भइरहेको छ। 

नयाँ दल दर्ताको लागि तयार पारिएको विधानमा पार्टीको नाम उज्यालो नेपाल, लोककल्याणकारी राज्यप्रति प्रतिबद्ध, संघीयता र गणतन्त्र मान्ने अनि संसदीय व्यवस्थालाई अझै सुधार गरेर जानुपर्ने लगायतका विषय प्रस्टसँग लेखिएको नेताहरूको भनाइ छ।

प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रावधान राख्न नहुने मत विधानमा छ। 

कुलमानलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह, रास्वपा छोडेका एउटा र त्यहीँ रहेकाहरूको अर्को समूह, जेन–जीका सुदन गुरुङ लगायतका चार समूहले साथ दिएका छन्। यसबाट उनी उत्साहित छन्। 

कुलमानले जेन–जीका प्रभावशाली देखिएका सुदन गुरुङदेखि रक्षा बम हुँदै रिजन रानामगरसम्म छलफल गरिसकेका छन्। 

‘उहाँ आफैले पनि गर्दै हुनुहुन्छ, अब दल दर्ता गर्न समय लाग्दैन, विधानदेखि अरु सब तयार छ,’ कुलमानलाई सहयोग गरिरहेका एक नेताले नेपालखबरसँग भने।

पार्टीमा पदाधिकारी भएका मान्छेहरू सकभर सरकारमा नजाने, अध्यक्ष पद सेरेमोनियल रहने, सामूहिक निर्णय गर्नको लागि काउन्सिलको व्यवस्था राख्ने र केन्द्रीय समितिले सन्तुलनमा राख्नसक्ने प्रावधान विधानमा राखिएको ती नेताले बताए।

‘अहिले तत्कालका लागि अध्यक्षपछि अरु कुनै पद हुँदैन। तर, बहुपदमा जानुपर्ने केहीले सुझाव दिएका छन्,’ उनले थपे।

कात्तिक १७ गते नै दल दर्ता गर्न निर्वाचन आयोग जाने तयारी भए पनि राष्ट्रिय स्वतन्त्र पार्टीसँग निर्णायक छलफल गर्नुपर्ने भन्दै कुलमान रोकिएका छन्। 

‘अझै पनि कुलमान घिसिङलाई रास्वपासँग मिलेर जान सकिन्छ कि भन्ने छ,’ अर्का नेताले भने।  

रविलाई बालेनका निकट सहयोगी कुमार बेन र कुलमान पक्षकै केहीले सन्देश पठाएका पनि हुन्।

‘कानुनी रूपमा क्लिन भएर आएपछि सभापति रवि नै हुनुपर्छ, तर अहिलेको अवस्थामा संरक्षक वा सर्वाेच्च नेता बस्नु भनेको मान्नुभएन,’ प्रस्ताव लैजाने मध्येका एकले भने। 

रास्वपाका उपसभापति स्वर्णिम वाग्ले र शिशिर खनालले आइतबार (कात्तिक १६) नख्खु कारागार पुगेर सभापति रवि लामिछानेसँग कुलमान पक्षको प्रस्तावमाथि पनि छलफल गरेका थिए। तर, सभापति छोडेर मिल्ने सम्भावना नरहेको प्रस्ट सन्देश उनले पठाएका छन्।

प्रवक्ता मनीष झाले पनि कुलमानले नयाँ दल नखोली रास्वपासँग सहकार्यका लागि कुरेर बसिराखेको बताए।  

‘उहाँहरूबीच कुरा भइरहेको छ, अहिलेसम्मको निष्कर्ष भनेको हाम्रो सभापति रवि लामिछाने हो। उहाँले आफैँ कानुनी रूपमा वा आफ्नै इच्छा अनुसार छोड्ने अवस्था नआएसम्मका लागि उहाँ नै हो, त्यसमा सम्झौता हुँदैन,’ झाले भने, ‘त्यो बाहेक उपसभापति छोड्न स्वर्णिम दाइ तयार हुनुहुन्छ। हाम्रो बटमलाइन– पार्टी सभापतिमा रविको विकल्प हुँदैन। अहिलेको अवस्थामा हामीले उहाँको विकल्प सोच्ने अवस्था छैन।’

रास्वपालाई लामो समय नकुर्न उनी पक्षकाले कुलमानलाई सुझाव दिएका छन्।

‘अहिलेसम्म जेन–जीका ठूलै समूहको समर्थन रहेकोले कुलमानले खोल्ने नयाँ दललाई बालेनले पूरै सहयोग गर्ने सन्देश दिइसक्नुभएको छ,’ बालेन्द्र शाहको टिमका एक सहयोगीले भने, ‘रास्वपा मिलेर जान तयार देखिँदैन। आफ्नो अडानबाट टसमस भएको छैन।’

बरु रास्वपाले एउटै पार्टीमा सँगै जान नसके पनि चुनावमा सहकार्य हुनसक्ने निष्कर्ष कुलमान पक्षलाई दिएको छ।

रास्वपासँग मिलेर जाने सम्भावना कमजोर बन्दै गएपछि कुलमानलाई आफ्नै नेतृत्वमा दल दर्ता गर्न उनी पक्षकाले दबाब बढाएका छन्। 

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि नयाँ दल दर्ता गर्ने अन्तिम मिति मंसिर १० गतेसम्म तोकेको छ।

दल दर्ता गर्न जति ढिला भयो, प्रचारप्रसारका लागि समय अभाव हुने भएकोले कुलमानलाई छिटो निर्णयमा पुग्न भनेका छन्। 

‘कुलमानको नेतृत्व भएमा सबैपक्षको सहयोग र समर्थन हुन्छ र ठूलै पार्टी बन्छ,’ एक नेताले भने, ‘रास्वपाको ठूलै तप्का आउँछ। प्रदेश तिरबाट, केन्द्रबाट, केन्द्रको विभागतिरबाट।’ 

तर, उनी अझै एकपटक अन्तिम छलफल गरेर मात्र नयाँ पार्टी दर्तातर्फ जान चाहन्छन्। 

कुलमान नमाने दोस्रो विकल्प तयार
कुलमान अहिले मन्त्री छन्। आफ्नै नेतृत्वमा दल दर्ता गर्न कुलमानले आनाकानी गरिरहे जेनजीकै कुनै एक जनालाई अध्यक्ष बनाएर दल दर्ता गर्नेगरी तयारी भइसकेको यसमा संलग्नहरू बताउँछन्। 

रास्वपा छोडेकी सुमना श्रेष्ठले अध्यक्ष सेरेमोनियल बनाएर सामूहिक नेतृत्व प्रणालीमा जाँदा नेतृत्वमा आफ्नो दाबी नहुने प्रस्ट सन्देश समूहभित्र दिइसकेकी छन्। 

यस्तै, सुदन गुरुङले पनि तत्काल नेतृत्व नलिने बताएका छन्। 

‘धेरै मान्छे मर्‍या छन्, त्यो रगत देखाएर आफू नेता बन्यो भन्ने आरोप आउँछ,’ सुदनले समूहको छलफलमा भने, ‘मसँग भएका जेन–जीलाई समेत यही दलमा मिसाउँछु।’ 

उता काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले पनि धेरै जेनजीहरू जहाँ हुन्छन्, आफूले सोही पार्टीलाई सहयोग र समर्थन गर्ने सन्देश पठाएका छन्। 

सबैको सुझाव अनुसार कुलमानकै नेतृत्वमा जाँदा बलियो बनिने उनीहरूको निचोड छ।

‘तर, कुलमान तयार नभए अहिले उहाँ नदेखिने गरी काम गर्ने, तर पछि जोडिने र नेतृत्वमा ल्याउने समझदारी गरेर जान सकिन्छ,’ पार्टी निर्माणका लागि खटिएका अर्का नेताले भने, ‘उहाँ मन्त्री पनि हुनुहुन्छ। त्यसो गर्दा उहाँलाई दबाब पर्दैन।’

कुलमानका प्रेस संयोजक सचेन गौतमले दल दर्ताको विषयमा आफूलाई कुनै जानकारी नभएको बताए। 

‘छलफल त भइरहेको होला। तर, पार्टी नै खोलेर जाने भन्ने सूचना मसँग छैन,’ उनले भने।

घिसिङले दल खोल्नलाई मन्त्रीबाट राजीनामा दिन लागेको हल्लाको खण्डन गर्दै आफू जेनजी आन्दोलनले दिएको जनादेश पूरा गर्न क्रियाशील रहेको जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad