नेकपा माओवादी केन्द्र–नेकपा एकीकृत समाजवादी पार्टीले एकता गर्ने निर्णय गरेलगत्तै यी दुई पार्टीका केही प्रभावशाली नेता बाहिरिएका छन्।
एकताप्रति असहमति जनाउँदै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका बलिया सहयात्रीले उनीहरूको साथ छोडेका हुन्।
जनार्दन शर्माले लामो समयदेखि प्रचण्डलाई साथ दिएका थिए। मंगलबार (कात्तिक १८) राम कार्की र अञ्जना विसङ्खेसहितका नेताको साथमा शर्माले ‘प्रगतिशील अभियान नेपाल’ चलाउने घोषणा गरे। मंगलबार ललितपुरमा विशेष पत्रकार सम्मेलन गर्दै उनीहरूले प्रचण्ड–माधवसहित नौ दल मिलेर बनेको पार्टीमा नरहेको घोषणा गरे।
यससँगै प्रचण्डसँग उनको ४० वर्ष लामो सहकार्य पनि तोडिएको छ। २०४२ सालमा रुकुममै भूमिगत अवस्थामा प्रचण्डबाट प्रशिक्षण पाएपछि शर्मा प्रभावित भएका थिए।
माओवादीमा अध्ययनशील नेता मानिने राम कार्कीले पनि प्रचण्डसँगको सहकार्य तोडेका छन्।
शर्मा–कार्कीको अभियानमा देशभरबाट माओवादीकै सय बढी नेता जोडिएको उनीहरूको दाबी छ।
जसमा, राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्मा, सुदन किराती, कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्मा, अनिल शर्मा, अनेरास्ववियु क्रान्तिकारीका ६ पदाधिकारीसहितका दर्जन केन्द्रीय सदस्य पनि छन्।
उता, एमाले विभाजन गरेर एकीकृत समाजवादी पार्टी गठन गर्दाका मुख्य हस्तीहरू झलनाथ खनाल, रामकुमारी झाक्री लगायतका नेताले पनि माधव नेपालको साथ छोडेका छन्। यो एकताले एकीकृत समाजवादीलाई तीन टुक्रा बनाइदने सम्भावना बढेको छ।
सम्मानित नेता झलनाथ खनालदेखि घनेन्द्र बस्नेत, घनश्याम भूसाल, जीवनराम श्रेष्ठ, रामकुमारी झाक्री, विजय पौडेल, वंशीधर मिश्र, किसान श्रेष्ठ, लक्ष्मण लम्साल, महेश रेग्मी सहितका नेता एकतामा नजाने भएका छन्।
एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गर्दा महत्त्वपूर्ण भूमिका खेल्नेमध्येकी एक हुन् झाक्री।
एकीकृत समाजवादीबाट बागमती प्रदेश सांसद समेत रहेका लम्सालले छलछामबाट गरेको वाम एकताको पक्षमा उभिन नसकेको बताए।
यद्यपि, उनीहरू सबै एकै ठाउँमा उभिने सम्भावना न्यून छ। झाक्री र श्रेष्ठ एमाले फर्कने अन्तिम गृहकार्य गरिरहेका छन्। श्रेष्ठले एकताको विषयले एकीकृत समाजवादीभित्र तीन धार देखा परेको बताए।
‘एउटा धार एकतामा गयो, एउटा धार पुनगर्ठन गर्ने भनेर लागेको छ,’ उनले नेपालखबरसँग भने, ‘एउटा धार एमालेमा जाने कि भनेर बसेको छ। यदि एमालेले माया गर्यो भने व्यवहार राम्रै गर्यो भने जान्छन्।’
श्रेष्ठले आफूहरू एमाले अध्यक्ष केपी शर्मा ओलीको फोन कुरिरहेको बताए।
‘हामी एक्सप्रेस बस चढ्ने हो अरुसँग कुरा गरेर हुँदैन,’ उनले थपे, ‘एमाले जाने देशभरिबाट सय जना हुन्छौँ। रामकुमारी झाक्री, अम्मरबहादुर थापा, होम बुढाथोकी, पीताम्बर तिमल्सिना, अर्जुन राई लगायत मेयर, प्रदेश सभा माननीय धेरै छौँ।’
तर, एमाले जाँदा आफ्नो व्यवस्थापन गर्ने भन्ने विषयमा नेतृत्वले आफ्नै परिवारको हो भन्ने व्यवहार गर्नुपर्ने उनी बताउँछन्।
‘जानेर÷नजानेर तीनचार वर्ष त प्रदेश गइयो नि। अब घर फर्कंदै गर्दा आत्मसम्मान खोज्छ, कसैले छिर्केदुर्के हान्नु भएन। आ–आफ्नो क्षमता अनुसारको जिम्मेवारी दिनुपर्यो,’ श्रेष्ठले एमाले फर्कने सर्त राख्दै भने।
तर, एमाले महासचिव शंकर पोखरेलले पार्टीमा प्रवेश गर्नेलाई स्वागत गर्न तयार भए पनि नीति र नेतृत्वमा दाबी गर्न नपाइने बताएका छन्।
कुलमानसँग मिसिएलान् जनार्दन?
माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा साम्यवादी, नेकपा माओवादी समाजवादी, नेकपा र देशभक्त समाजवादी मोर्चासहित नौ दलले एकता गरेर बन्ने दलको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राखेका छन्। कात्तिक १९ गते भृकुटीमण्डपमा बृहत् प्रदर्शन गरेर नौ दलबीचको एकता घोषणा गरिँदैछ।
जेन–जी आन्दोलनपछि प्रचण्डलाई नेतृत्व छोड्न शर्माले दबाब दिएका थिए। तर, एकतापछिको दलमा प्रचण्ड संयोजक र माधव नेपाल सहसंयोजक रहेका छन्।
यसैप्रति शर्मा र कार्की असन्तुष्ट थिए।
एकतामा नआउँदा र उनीहरूले थाल्ने देशव्यापी अभियानले केही न केही क्षति त गर्छ नै। यही विश्लेषण गरेरै हुनुपर्छ प्रचण्डले एकतामा सहभागी हुन आह्वान गरेका छन्।
‘यो एकताको रेलमा चढ्न कोही नछुटून्,’ मंगलबार प्रज्ञा प्रतिष्ठानमा बसेको माओवादी नामको केन्द्रीय समिति अन्तिम बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘किनकि, यो रेल अगाडि बढ्छ बढ्छ।’
कुनै समय कोसी, कर्णाली, सुदूरपश्चिम र बागमतीमा जनार्दनको पकड थियो। तर, अहिले त्यो अवस्था नभएको हरिबोल गजुरेलले बताए।
जनार्दनले प्रचण्डसँगै जान नसकिने निष्कर्ष निकालेर एकीकृत समाजवादीका महासचिव घनश्याम भूसाल, कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, रास्वपा छोडेकी सुमना श्रेष्ठ, ऊर्जामन्त्री कुलमान घिसिङ लगायतसँग केही महिनायता निरन्तर छलफल गरिरहेका थिए।
तर, नयाँ पार्टी गठन नगर्ने कार्की बताउँछन्।
‘हामी एकथान नयाँ पार्टी गठन गर्न गइरहेका छैनौँ, एउटा अभियान थालेका हौँ,’ कार्कीले भने, ‘समाजवादका निम्ति एकीकृत अभियानमा जुट्न आग्रह गर्दछु।’
तर, शर्मा र कार्कीसँगै रहेका सुदन किराती भने आगामी चुनावमा बलियो शक्ति बन्नेगरी विभिन्न घटकसँग मिलेर जान छलफल भइरहेको बताउँछन्।
उनका अनुसार राष्ट्रव्यापी चल्ने अभियानमा धेरै मानिस जोडिनेछन्। यो अभियान कुलमानले खोल्ने नयाँ दलसँग मिसिन सक्ने किरातीले बताए।
‘अब राष्ट्रिय अभियान चल्छ, नयाँ बन्न लागेका दलहरू त मिल्नैपर्छ,’ उनले भने, ‘अब पुरानो थोत्रो, भ्रष्ट, नातावाद कृपावादमा फसेको पार्टीका नेताबाहेक सबै आउँदो चुनावमा एक हुन्छौँ, एकता हुन्छ।’
‘धेरै अघिदेखि अनौपचारिक छलफल भएका थिए, अब त्यसले मूर्तरूप लिन्छ र औपचारिक निर्णय हुन्छ,’ किरातीले थपे, ‘कार्यक्रम मिल्नेसँग कार्यक्रम मिलाएर, विचार मिल्ने शक्तिसँग एकता गरेर जाने हो।’
शर्मा र कार्कीलाई अभियान घोषणा गर्नुअघि विप्लव र भूसालले फोन गरेरे सँगै जाने प्रस्ताव राखेका थिए।
उनले अभियान घोषणापछि थप कुरा गर्ने जवाफ दिए।
विप्लवले नयाँ दल आयोगमा दर्ता गराइसकेका छन् भने भूसालले अहिलेसम्म नयाँ दल बनाएको घोषणा गरिसकेका छैनन्।
Shares

प्रतिक्रिया