केही दिनअघि सार्वजनिक भएको एउटा अडियो भाइरल बन्यो। सार्वजनिक अडियोमा दुई पक्षबीच विवाद चलिरहेको थियो। एउटा पक्ष रक्षा बमलाई मन्त्री बनाउनु पर्छ भनिरहेको थियो भने अर्को पक्ष बनाउनु हुँदैन भनिरहेको थियो।
कोही भन्दै थियो, ‘रक्षा बम विवादित मान्छे हो, यदि ऊ मन्त्रालयमा गयो भने सुदूरपश्चिममा हाम्रो टाउको फुट्छ।’
अडियोको बीचबीचमा सुदन गुरुङ पनि बोलिरहेका सुनिन्थे।
यसैका आधारमा ‘रक्षा बमलाई मन्त्री बन्न सुदन गुरुङले रोकेको’ खबर फैलियो। के सुदनले रक्षालाई मन्त्री बन्न रोकेका हुन् त?
नेपालखबरले यही प्रश्न सुदन गुरुङलाई सोधेको थियो।
सुदनले बाहिरिएको अडियो आधिकारिक भएको पुष्टि गरे। उनले रक्षालाई उनका निकटस्थमार्फत मन्त्री नबन्न आफूले आग्रह गरेको पनि बताए।
‘मन्त्री बनाउने भन्ने कुरा कत्तिको सत्य थियो, थाहा छैन। तर, रक्षालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनाउने हल्ला चलिरहेको थियो। त्यसपछि धेरै विवाद आयो,’ सुदनले नेपालखबरसँग भने, ‘सुदूरपश्चिमबाटै विरोध भयो। त्यहाँको समूहले ‘काठमाडौँमा बसेर सुदूरपश्चिमको भाषण दिएर हुँदैन’ भन्यो।’
त्यसपछि जेनजी सुदूरपश्चिमको अनुरोधमा आफूले रक्षानिकटस्थलाई मन्त्री नबन्न आग्रह गरेको उनले बताए।
‘रक्षा विवादित भएपछि सुदूरपश्चिमको जेनजी समूहको अनुरोधमा नै मैले ल है, रक्षा बहिनीलाई यस्तो यस्तो कुरा आएको छ, ऊ चाहिँ अहिले जानु हुँदैन है भनेर रक्षाको समूहलाई भनेको हुँ,’ सुदनले थपे, ‘यतिबेला मन्त्रिपरिषदमा भएकालाई पनि एनजीओको ट्याग लागिरहेको छ। रक्षा बहिनी पनि मन्त्रालयमा गइन् भने नराम्रो हुन्छ, सरकारप्रति पब्लिक सेन्टिमेन्ट नराम्रो हुन्छ भनेर भनेको हुँ।’
यस विषयमा सबैजना आवेगका साथ बहस गरिरहेको रेकर्ड कसैले बाहिर ल्याइदिएको सुदनले बताए। कतिपयले ‘घाइते र सहिद परिवारलाई भेट्न समेत नगएकी रक्षालाई के आधारमा मन्त्री बनाउने’ भनेर प्रश्न गरेको पनि सुदनको भनाइ छ।
यससम्बन्धमा प्रश्न गर्दा रक्षाले आफूलाई केही थाहा नभएको बताइन्। सबैकुरा अडियोबाटै सुनेको उनको भनाइ छ।
उनले मन्त्री बनाउने कसले हो भन्दै प्रश्न गरिन्।
‘मन्त्री बनाउने उहाँहरू हो कि प्रधानमन्त्री हो?’ रक्षाको प्रश्न छ।
मन्त्री बन्ने प्रस्ताव आए आफू तयार रहेको पनि उनले बताइन्।
‘जिम्मेवारीबाट पछाडि हट्ने त कुरै छैन नि! आन्दोलन गरेर, त्यो आन्दोलनलाई संस्थागत गर्नु पर्छ भनेर लागेको हरकोही मान्छे त्यो जिम्मेवारीको लागि तयार हुनुपर्छ,’ रक्षाले नेपालखबरसँग भनिन्, ‘तर, म भनसुनबाट मन्त्री बन्न चाहन्नँ। कसलाई के मन्त्री बनाउने हो, त्यो नितान्त प्रधानमन्त्रीको निर्णय हो। यस्तो झैझगडा, विवाद गरेर म मन्त्री बन्न चाहन्नँ।’
सार्वजनिक अडियोबारे अरु कुनै टिप्पणी नगर्ने उनको भनाइ छ।
Shares

प्रतिक्रिया