राजनीति


माओवादी र एकीकृत समाजवादीसहितका ९ वाम घटकबीच आज एकता घोषणा हुँदै

माओवादी र एकीकृत समाजवादीसहितका ९ वाम घटकबीच आज एकता घोषणा हुँदै

नेपालखबर
कात्तिक १९, २०८२ बुधबार ६:५६, काठमाडौँ

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका नौ वाम घटकबीच आज पार्टी एकता घोषणा हुँदैछ। काठमाडौँको भृकुटीमण्डपमा बुधबार दिउँसाे एकबजे एकता घोषणा सभा राखिएको छ। 

एकतापछि बन्ने एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ हुने र चुनाव चिह्न पाँच कुने तारा राख्ने सहमति भएको छ। एकता प्रक्रियामा सहभागी हुने वाम घटकहरूबीच अबको ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने सहमति पनि भएको छ।

एकतापछि पार्टीको संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) र सहसंयोजक माधवकुमार नेपाल रहने छन्। पार्टीको मार्गदर्शक सिद्धान्त भने मार्क्सवाद, लेलिनवाद हुने सहमती छ। 

याे एकता प्रक्रियामा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी)सहितका समूह सहभागी हुन लागेका हुन्।

याे एकतासम्बन्धी निर्णयलाई माओवादी केन्द्रको मंगलबार बसेको महाधिवेशन आयोजक समितिको बैठकले अनुमोदन गरेको छ। 

एकता घोषण सभाअघि भृकुटीमण्डप क्षेत्रमा जनप्रदर्शन गर्ने तयारी छ। सभामा प्रचण्ड, माधव नेपालसहितका नेताले सम्बाेधन गर्ने छन्।

गएको आइतबार पार्टी एकतासम्बन्धी सहमति पत्रमा माओवादी, एकीकृत समाजवादीसहितका आठ बाम घटकले हस्ताक्षर गरेका थिए। त्यसलगत्तै गोपाल किराँती नेतृत्वको देशभक्त समाजवादी मोर्चाले पनि एकता प्रक्रियामा सहभागी हुने निर्णय गरेको हाे। 

माओवादी र एकीकृत समाजवादीसहतिका वाम दलबीचको एकतालाई लिएर दुवै पार्टीभित्र तीव्र विवाद सिर्जना भएको छ।

माओवादी केन्द्रका जनार्दन शर्मा, राम कार्की, अन्जना विशंखेसहितका नेता र एकीकृत समाजवादीका झलनाथ खनाल, धनश्याम भुसाल, रामकुमारी झाँक्रीसहितका नेताले याे एकताप्रति असहमती जनाउँदै याे एकता प्रक्रियामा सहभागी नहुने घाेषणा गरेका छन्। 

जनार्दन शर्मासहितका नेताले प्रगतिशील एकता अभियान घोषणा गरिसकेका छन् भने एकता प्रक्रियामा सहभागी नहुने जनाएका एकीकृत समाजवादीका नेताले एमालेमै फर्किनेगरि छलफल अघि बढाएका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad