राजनीति


एमाले उपाध्यक्षको तयारीमा रहेका भीम आचार्य अख्तियारको फन्दामा

एमाले उपाध्यक्षको तयारीमा रहेका भीम आचार्य अख्तियारको फन्दामा

नेपालखबर
मंसिर २१, २०८२ आइतबार १९:५८, काठमाडौँ

नेकपा (एमाले)को ११औं महाधिवेशनमा उपाध्यक्षको उम्मेदवार बन्ने तयारीमा रहेका भीमप्रसाद आचार्यविरुद्ध पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रस्टाचार प्रकरणमा मुद्दा दायर भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार ५५ जना विरुद्ध मुद्दा दायर गरेको हो। त्यसमा एमाले नेता आचार्य पनि परेका हुन्। 
एमालेको महाधिवेशन आउन पाँच दिन बाँकी छ। एमालेको ११औं महाधिवेशन मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन गर्ने तयारी छ। 

११औं महाधिवेशनमा उपाध्यक्षको उम्मेदवार बन्न लागेका उनी त्यसको तयारीका क्रममा महाधिवेशन प्रतिनिधिसँग छलफल पनि गरिरहेका थिए। 

तर, महाधिवेशनको पाँच दिनअघि उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएको वेला भ्रष्टाचार गरेको अभियोग लागेको छ। मन्त्री हुँदा नेपाल नागरिक उड्‍डयन प्राधिकरण सञ्चालक समितिको अध्यक्षका हैसियतले उनले भ्रष्टाचार गरेको अख्तियारको दाबी छ। 

उनी २०७१ सालमा सुशील कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका थिए। उनी कोशी प्रदेशका पूर्व मुख्यमन्त्री पनि हुन्। उनी २०७८ भदौमा कोशी प्रदेशको मुख्यमन्त्री बनेका थिए। 

उनी विघटित प्रतिनिधि सभाका सांसद पनि हुन्। २०७९ सालको निर्वाचनमा सुनसरी–२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। 

अब उनले एमाले पदाधिकारीमा उम्मेदवार हुन पाउँछ कि पाउँदैनन? एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले यस विषयमा पार्टी गम्भीर रहेको प्रतिक्रिया दिए। उनले भने, ‘यसमा गम्भीर ध्यानाकर्षण भएको छ। पार्टी गम्भीर छ। हाम्रा संवैधानिक, कानूनी प्रावधान के छन्, त्यसको आधारमा पार्टीले आफ्नो धारणा बनाउँछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad